Comments Add Comment

इन्जिनियरविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा

५ फागुन, काठमाडौं । मोरङको विराटनगरस्थित सडक डिभिजन कार्यालयका प्रमुख(सिडिइ) जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

चौधरीले पदीय मर्यादा विपरित ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

चौधरीले सडक विभागमा कार्यरत रहँदा सडकका बिभिन्न आयोजनाहरुमा ठेकदारहरुसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो । अख्तियारले दायर गरेको आरोप पत्रमा चौधरीले सडकका विभिन्न आयोजनाका ठेकदारहरुसँग मिलेर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उल्लेख छ ।

चौधरीका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा खर्च गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

चौधरीले बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समेतमा खर्च लगानी गरेको देखिँदा उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अनुसन्धानको क्रममा चौधरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकोले बिगो जफत गर्ने प्रोजनार्थ मात्र श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफतको लागि माग दाबीसहित मुद्धा दायर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment