Comments Add Comment

सुदूरपश्चिम सरकारलाई कांग्रेसको १५ नम्बर, नेकपाको ५०

५ फागुन, कैलाली । प्रदेशसभा बैठकमा आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद कर्ण मल्ललाई केही पत्रकारले सरकारको दुई वर्षको समीक्षा गर्न आग्रह गरे । खरो स्वाभावका सांसद मल्लले सरकार निर्लज्ज भएको टिप्पणी गरे ।

‘सरकार निर्लज्ज अवस्थामा छ । यसलाई सरकार भन्न मिल्दैन’ उनले भने ‘यसको ढंग पनि छैन । जवाफदेहीता पनि छैन । पारदर्शी पनि छैन ।’

‘सरकारले एक सय पूर्णाङ्कमा कति नम्बर ल्याउला त’ पत्रकारको प्रश्न ।

‘उल्टोबाट सय नम्बर छ’ सरकारप्रति गुनासो पोख्दै उनले भने, ‘अनुशासनहीन र अकर्मण्यताको सरकार हो यो । कानुन ३२ वटा बनेको छ । तर, ३२ अक्षर पनि पालना भएको छैन । बजेट अपारदर्शी छ । भ्रष्टाचार चरमचुलीमा छ ।

प्रतिपक्षी दलका सांसदहरूले सरकारले दुई वर्षमा केही गर्न नसकेको आरोप लगाइरहँदा प्रदेश सरकारले पनि दुई वर्षका उपलब्धी सार्वजनिक गर्न सकेको छैन ।

प्रदेश सरकारले घोषणा गरेको सुपथ मूल्य पसल, प्रदेश क्रिकेट मैदान, सबै स्थानीय तहमा हाट बजार, प्रदेश खाद्य डिपो, औद्योगिक ग्राम, जडीबुटी प्रशोधन केन्द्र स्थापनालगायतका योजना पनि सुरु हुन सकेको छैन ।

सोमबार प्रदेश सरकारको दुई वर्ष पुरा हुँदा प्रतिपक्षी दलका सांसद मात्रै होइन सत्तारुढ दलका सांसद पनि सन्तुष्ट देखिएनन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद अमर साउदले अपेक्षा अनुसारको उपलब्धि आउन नसकेको बताए । उनले सरकारको कामको मूल्याङ्कन गर्दै ५० नम्बर दिन सकिने बताए । ‘जति सन्तोष हुनुपर्ने थियो त्यति सन्तुष्ट छैन’ उनले भने ‘मेरो तर्फबाट सरकारलाई ५० नम्बर हो । त्यो भन्दा बढी नम्बर दिन सक्ने अवस्था छैन ।’

सुदूरपश्चिम सरकारले प्रदेशका ९ वटै जिल्लामा प्रदेश गौरवका सडक बनाउने लक्ष्य राखेको थियो । त्योसँगै प्रदेश बस सेवा सञ्चालन गर्ने योजना पनि छ । तर अहिलेसम्म दुवै अलपत्र छ । नेकपाकी सांसद पूर्णा जोशीले सरकारको काम निकै सुस्त भएको प्रतिक्रिया दिइन् ।

‘सरकारको आफ्नो योजना छैन । त्यसैले नम्बर दिने अवस्था पनि छैन’ उनले भने ।

सामाजिक विकासमन्त्रीबाट बर्खास्तीमा परेका नेकपा सांसद दीर्घ सोडारीले सरकारले पासमार्क ल्याएको बताए ।

‘सरकार सुस्त गतिमा छ । अब द्रुत गतिमा जनतको अपेक्षा पुरा गर्नुपर्छ’ उनी भन्छन्, ‘सरकारले पास मार्क ल्याएको छ । ५० प्लस छ । माइनस छैन ।’

प्रदेश सरकारले घोषणा गरेको सुपथ मूल्य पसल, प्रदेश क्रिकेट मैदान, सबै स्थानीय तहमा हाट बजार, प्रदेश खाद्य डिपो, औद्योगिक ग्राम, जडीबुटी प्रशोधन केन्द्र स्थापनालगायतका योजना पनि सुरु हुन सकेको छैन ।

नेकपाका सांसद कुलवीर चौधरीले कर्मचारी समायोजनको कारणले सरकारले काम गर्न नसकेको जनाए । उनले दुई वर्षको कामको आधारमा सरकारलाई ५० नम्बर दिन सक्ने बताए । ‘नगरेको होइन । गर्दागर्दै पनि नभएको हो । कर्मचारी समायोजनले समस्या गर्‍यो’ उनले भने ।

नेकपाका सांसद लालबहादुर खड्काको नजरमा सरकारको काम प्रथम श्रेणी सरहको छ । उनले भने, ‘सरकारले व्यवस्थापनको काम गरिरहेको छ । देखिने काम मात्रै नभएको हो । प्रदेश सरकार प्रथम श्रेणीमा छ ।’

सरकारले बिजनेस दिन नसक्दा पाँच महिना स्थगित भएको प्रदेशसभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएको छ । प्रदेशसभाले बनाएको कानुन पनि कार्यान्वयन नभएको सत्तारुढ दलकै सांसदहरूको भनाइ छ ।

नेकपाका सांसद लिलाधर भट्ट सरकार आफ्नै गतिमा चलिरहेको बताउँछन् । ‘तुलनात्मक रूपमा ठीकै छ । जति सोचेका थियौं त्यो भएन । तर, पनि सन्तुष्ट हुनुपर्छ’ उनले भने, ‘यो उत्साहजनक पनि होइन । निराशाजनक पनि छैन । सरकारलाई ५० देखि ६० सम्म नम्बर दिन सकिन्छ ।’

सत्तारुढ दलका अधिकांश सांसदहरूले सरकारलाई पास नम्बर दिए पनि प्रतिपक्षी दलका सांसदहरू सरकार फेल भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले बजेट खर्च गर्न नसकेको भन्दै सरकारलाई १५ नम्बर पनि दिन नसकिने बताउँछन् ।

‘सयमा पन्ध्र पनि दिन सकिँदैन’ उनी भन्छन् , ‘फेल भयो सरकार । कुनै पनि योजना कार्यान्वयन गर्न सकेन । ७ महिना बितिसक्दा पनि अख्तियारी दिएको छैन । भ्रष्टाचार बढेको छ । शान्ति सुरक्षाको अवस्था चिन्ताजनक छ । महँगी पनि घटेन ।’

राष्ट्रिय जनता पार्टी राजपाको मूल्याङ्कनमा पनि सरकार पास भएको छैन । राजपाकी सांसद मालामति देवी रानाले भनिन्, ‘सरकारको काम प्रति हामी सन्तुष्ट छैनौँ । शतप्रतिशत नम्बर दिने पक्षमा थियौं । तर, काम हेर्दा १५ देखि २० नम्बर मात्रै दिन सक्छौं ।’

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले कर्मचारी, संयन्त्र, संरचना र अधिकार प्राप्ति ढिलाइ हुँदा केही समस्या भइरहेको बताए ।
‘हातखुट्टा बाँधेर पोखरीमा छोड्दिएपछि तपाई परिणाम निकाल्न सक्नुहुन्छ ?’ उनले भने, ‘हाम्रो अवस्था पनि त्यस्तै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment