Comments Add Comment

शिक्षक माग्दै विद्यार्थी आन्दोलित, गाउँपालिका कार्यालय तोडफोड

५ फागुन, वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–२ भडिहारीस्थित सुकइ साह माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् ।

विद्यालयमा आवश्यकता अनुसार शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत विद्यार्थीले गाउँपालिका कार्यालयमा प्रदर्शन गर्नुको साथै तोडफोडमा उत्रिएको प्रहरीले जनाएको छ ।

आन्दोलनरत विद्यार्थीका अनुसार विद्यालयमा १० कक्षासम्म अध्ययापन हुने विद्यालयमा ६ जना मात्रै शिक्षक छन् । अंग्रेजी, नेपाली, सामाजिक, अर्थशास्त्र, पेशा व्यवसाय, र कम्युटर पढाउने शिक्षक छैनन् । विद्यालयमा पर्याप्त भौतिक संरचना नहुँदा धेरै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरिएको छ ।

विद्यार्थीले सोमबार विहान ११ बजेतिर विद्यालय र वडा नं. २ को कार्यालयमा तालाबन्दी गरेका थिए । वडा कार्यालयको ताला फोडेर खोलिएपछि आक्रोशमा आएका विद्यार्थी गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेका थिए ।

गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा विद्यार्थी र गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयबीच झडप भएको थियो । विद्यार्थीको समूहले गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न खोज्दा रोक्न खोजिएपछि सामान्य झडप र तनाव भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सोही क्रममा एक जनाले हानेको ढुंगाले गाउँपालिका कार्यालयको कम्युटरको मोनिटर फुटेपछि स्थिति बिग्रिएको थियो । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको हातपातबाट केही विद्यार्थीलाई सामान्य चोट समेत लागेको कक्षा ९ का विद्यार्थी श्रवण कुमार पटेलले जानकारी दिए ।

‘समस्या समाधानका लागि दबाव दिन गाउँपालिका कार्यालयमा तालाबन्दी गर्न गएका थियौं, गाउँपालिकाका कर्मचारी र स्थानीय मिलेर हामीलाई रोके,’ उनले भने, ‘ त्यसपछि गाउँपालिका कार्यालयमा तोडफोड पनि भयो, झडप हुँदा साथीहरुको हात, गोडा, टाउकोमा चोट लागेको छ ।’

घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले आन्दोलनरत १६ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पोखरियामा लगेको थियो । प्रहरीको पछिपछि अन्य विद्यार्थी पनि प्रहरी कार्यालय पुगेका थिए । उनीहरुले पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडी प्रदर्शन र धर्ना दिएका थिए ।

प्रहरीले कक्षा ७ का असिन खान, रवी कुशवाहा, राज खान, कक्षा ८ का रितेश शर्मा, विकास चौरसिया, विकेश चौरसिया, इरसाद खान, निरन्जन कुमार, मुनिलाल कुमार, नागिन्द्र कुमार, विकास चौरसिया, राधेश्याम कुमार र कक्षा ९ का श्रवण कुमार पटेल, विकेश कुशवाहा, सरुलम आलम, प्रिन्स चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई अबेर साँझ अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । ‘सुकई साह माविमा पठन पाठन भएन भनेर विद्यार्थी आन्दोलनमा उत्रिएका रहेछन् । उनीहरुले गाउँपालिका कार्यालयमा तोडफोड गरेको जानकारी आयो,’ प्रहरी निरीक्षक सिंहले भने, ‘ विद्यार्थी बढी नै उत्तेजित थिए, गाउँपालिकामा र विद्यार्थीलाई समेत थप क्षति नपुगोस भनेर नियन्त्रणमा लिएका हौं । उनीहरुलाई साँझ अभिभावकको जिम्मा लगाएर पठाईसकेका छौं ।’

समस्या समाधानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलबार छलफल राखिएको उनले बताए । आन्दोलनरत विद्यार्थीले भने आवश्यक शिक्षक नियुक्ती गर्नुपर्ने, कम्युटर कक्षा र पुस्तकालय अलग अलग हुनुपर्ने, भौतिक संरचना निर्माण गरिनुपर्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment