Comments Add Comment

खरिपाटीबासी भन्न थाले – चीनबाट नेपालीलाई उद्धार गरेकोमा खुसी छौं

६ फागुन, काठमाडौं । चीनबाट उद्धार गरिएका नेपालीहरुलाई निगरानीमा राखिएको खरिपाटी क्वारेन्टाइन वरपरका बासिन्दाले आफूहरुले घर छाडेर हिँडेको भनेर अफवाह फैलाइएको बताएका छन् । उनीहरुले चीनबाट नेपालीहरुलाई उद्धार गरेकोमा खुसी रहेको पनि बताए ।

चीनबाट उद्धार गरिएकाहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने खबर सार्वजनिक हुनासाथ स्थानीयबासीले घर छाडेका समाचारहरु यसअघि सार्वजनिक भएका थिए । त्यसपछि स्थानीयबासीलाई सम्झाइ बुझाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अगुवाइमा घरदैलो कार्यक्रम गरियो ।

क्वारेन्टाइन नजिकै घर भएकी स्थानीय शर्मिला खड्काले घरमा ताला लगाएर बारीमा काम गर्न गएकाहरुलाई पनि कोरोनाको डरले स्थानीयबासी घर छाडेर हिँडेको भनेर प्रचार गरिएको प्रजिअ नेतृत्वको टोलीलाई बताइन् ।

उनले भनिन्, ‘मेरो बारी घरभन्दा अलि पर छ । घरमा हामी दुई जना छौं । घरमा ताल्चा लगाएर बारीमा गएको छ भने घरै छाडेर गएको भन्ने त हुँदैन । ताल्चा लगाएको घर देख्योकी घरै छोडेर गएको भन्दिने ।’

‘स्थानीयले आफ्नो घर छाडेर बसाइँ सरेर जान्छ त ? त्यो त जाँदैन नि । कोठामा बस्ने मान्छे दुई–चार जना त गए होलान्, काम विशेषले गए होलान् ।’

‘सरकारलाई धन्यवाद’

खड्काले सरकारले चीनमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गरेर ल्याएकोमा खुसी लागेको बताइन् । ‘व्यक्तिगत रुपमा मलाई एकदमै खुसी लागेको छ,’ उनले भनिन्, ‘उहाँहरुलाई रोगतोक लागेको छैन । उहाँहरु आउनुभयो । नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद ।’

स्थानीय वासुदेव लामिछाने पनि खरिपाटीका स्थायी बासिन्दा कोही पनि घर छाडेर नहिँडेको बताए । भाडामा बस्ने परिवारका केही सदस्यहरु गाउँ फर्किएको बताउँदै उनले त्यसैको आधारमा बस्ती खाली भयो भन्न नहुने बताए ।

मिडियाले दुःख दिएको गुनासो

खड्काले युट्युब च्यानल सञ्चालक र पत्रकारहरु दिनहुँ आएर आफूहरुलाई दुःख दिएको गुनासो गरिन् । ‘युट्युब च्यानल, अनलाइन मिडियाले गर्दा बस्न गाह्रो भइसक्यो । किनकी रोग लागेको मान्छे ल्याएर राख्या छ, तपाईंहरु पनि संक्रमित हुनुहुन्छ कि क्या हो ? भनेर प्रश्न गर्दिने । एकदमै तनाब बनाइसक्यो,’ उनले भनिन् ।

अन्तर्वार्ता लिन भनेर आएका केहीलाई हप्काएर पठाइदिएको उनले सुनाइन् ।

प्रमुख जिल्ला अधिकारी पाण्डे नेतृत्वको टोलीले सोमबार खरिपाटी क्वारेन्टाइन वरपरको बस्तीमा घरदैलो कार्यक्रम गरेको थियो । टोलीमा सहायक प्रजिअ दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत थिए ।

टोलीका सदस्यहरुले चीनबाट उद्धार गरेर ल्याइएका नेपालीहरुमा कोरोनाको लक्षण नदेखिएकाले उनीहरुबाट संक्रमण फैलिन्छ कि भनेर नडराउन आग्रह गरेको थियो । उनीहरुले खरिपाटी क्वारेन्टाइन बाहिर स्थानीयबासीका लागि राखिएको हेल्थ डेस्कमा गएर आफ्नो स्वास्थ्य परीक्षण गराउन, नियमित हात धुन, फोहर हातले आँखा–मुख, नछुन र मास्क लगाएर काम गर्न सुझाव दिएका थिए ।

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्कको व्यवस्था गरिएको छ । त्यहाँ स्थानीयबासीका लागि दैनिक निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण भइरहेको प्रजिअ पाण्डेले जानकारी दिइन् ।

‘सरकारले नै आतंकित बनायो’

केही स्थानीयबासीले भने सरकारले सुरुमै जनचेतनामूलक कार्यक्रम नगरेकाले स्थानीयबासीमा त्रास बढेको बताए । स्थानीय राजाराम भण्डारीले भने, ‘सरकार आफैंले यहाँका बासिन्दालाई आतंकित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो ।’

स्थानीयबासीलाई सुरुमै चेतना अभिवृद्धि नर्दा र स्थानीयवासीसँग बेलाबेलामा अन्तर्क्रिया नगर्दा त्रास बढ्नु स्वाभाविक रहेको उनको भनाइ छ । ‘यसबारेमा जानकारी लिन जाने स्थानीयबासीलाई प्रहरीले लाठी तेर्स्याएपछि विरोधको आवाज आएको हो,’ उनले भने, ‘जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जान्छ ।’

सरकारले चीनबाट उद्धार गरेर ल्याएकाहरुलाई खरिपाटीमा राख्ने निर्णय गरेलगत्तै स्थानीयबासीले विरोध गरेका थिए । चाँगुनारायण नगरपालिकालेसमेत खरिपाटीको विकल्प खोज्न सरकारलाई आग्रह गरेको थियो ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment