Comments Add Comment

‘दाना र ह्याचरीवालाले हप्तामा साढे १० करोड लुट्दा पनि सरकार चुपचाप’

६ फागुन, काठमाडौं । गत माघ महिनामा मासुको मूल्य किलोमा १९० रुपैयाँसम्म बढ्यो । पुसमा ह्याचरी उद्योगहरुले चल्ला र चल्ला कोरल्ने अण्डा नष्ट गर्ने अभियान चलाएका थिए । त्यतिबेलासम्म सरकार, कृषक, उद्योगी र मासु व्यवसायी कोही पनि यो अभियानको विपक्षमा बोलेनन्, किनकी यस्तो अभियान चलाउँदा कुखुरा, कुखुराको मासु र अण्डाको मूल्य बढ्ने अवस्था थियो ।

अभियान सकिएपछि पूर्वयोजना अनुरुप नै प्रतिकिलो २४० रुपैयाँको मासु एकैपटक ४३० रुपैयाँसम्म पुग्यो । योजनाबद्ध कालोबजारी भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले बनावटी हल्ला पिटायो, अब दोषीलाई कारवाही गर्छौं ।  तर, न दोषीमाथि कारवाही भयो, न बढेअनुरुप मासुको मूल्य घट्यो ।

सुरुमा चल्ला नष्ट गर्ने अभियान सञ्चालन गर्दा कृषकहरुलाई पनि लागेको थियो, अब मासुको मूल्य बढ्दा कुखुरा र अण्डाको मूल्य पनि गज्जबकै पाइएला !

तर, चल्ला र कोरल्नुपर्ने अण्डा नष्ट गरेपछि उद्योगीहरुले चल्लाकै मूल्य बढाइदिए । त्यतिमात्रै हैन, त्यसपछि विनाकारण दानाको मूल्य पनि बढाइयो । त्यसपछि कृषकको आँखा खुल्यो कि चल्ला मार्ने अभियान त कृषकको पेटमा नै लात हान्ने अभियान पो रहेछ !

त्यसपछि उनीहरू व्यवसायीको कदम विरूद्ध त बोल्न थाले, तर सरकारले कृषकको साथ भने दिएको छैन ।

चल्ला र दानाको मूल्य बढेपछि राष्ट्रिय कुखुरापालक किसान संघर्ष समिति गत माघ २० गते सरकारलाई लिखित रुपमै कालोजारीलाई कारवाही गर्न माग गर्दै लिखित निवेदन दियो । तर, सरकार अहिलेसम्म कारवाही गर्ने कर्ममाण्डी जवाफ दिएर बसेको छ । त्यसैले कृषकहरूले  ठूला उद्योगी र  व्यवसायीले सरकारसँगैको मिलेमतोमा कालो बजारी भइरहेको  निश्कर्ष निकालेका छन् ।

मंगलबार पनि चल्ला र दानाको मूल्यवृद्धि गर्ने उद्योगीलाई कारवाहीको माग गर्दै कुखुरा पालक किसानहरुले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा कालोजारीयासँग सरकारको पनि मिलेमतो रहेको लिखित आरोप नै लगाइएको छ ।

कृषकको गुनासो

चल्ला र दानाको मूल्य बढाउने उद्योगीको कदमले साना किसानहरु मारमा परेको राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिका अध्यक्ष बिष्णु खड्काले बताए । चल्ला र दाना उत्पादक उद्योगले मनोमानी गर्दा पनि सरकारी निकायले कारवाही नगरेको भन्दै किसानहरुले विभागका महानिर्देशक सामु आक्रोश व्यक्त गरे ।


आठ दिनको अवधिमा एउटा चल्लामै प्रतिगोटा मूल्य ३० रुपैयाँले र दानाको मूल्य पनि अत्यधिक वृद्धि गरिएको अध्यक्ष खड्काले बताए ।

‘माघ १० गते ४० रुपैयाँ रहेको चल्लाको मूल्य १८ गतेसम्ममा ७० रुपैयाँ पुर्‍याइयो, दानाको मूल्य पनि उस्तै बढेको छ, हामी सोझा कृषक पेशा छोड्ने अवस्थामा पुग्यौं,’ खड्काले भने ।

प्रतिहप्ता ३० लाख चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले एक साताको अवधिमै सोझा किसानबाट १० करोड ५० लाख रुपैयाँ ठगी गरेको खड्काले आरोप लगाए । र, पनि सरकार चुप बस्दा अन्यायमा परेको उनको भनाइ छ ।

‘मूल्य नपाएर हामी आफैंले पालेको कुखुरामा घाटा खाईरहेका छौं, तर उपभोक्ता महँगोमा मासु किनिरहेका छन्,’कुखुरापालक कृषक उर्गेन तामाङले भने ।

दाना र चल्ला र मासुको तजबिजीमा ठूला ब्यापारीले कालोबजारी गर्दा कृषक र उपभोक्ता मारमा परेको उनले बताए । ‘उपभोक्ता ४ सय २० तिरेर कुखुराको मासु किन्छन्, तर मलाई यही महिना दुई लाख रुपैयाँ घाटा लागेको छ,’उनको दावी छ ।

उद्योगीसँग मिलेको छैन- महानिर्देशक

कृषकका गुनासो सुन्दै महानिर्देशक सुवेदी

कृषकको ज्ञापनपत्र बुझ्दै विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूलाई व्यापारी तथा उद्योगीसँग मिलेको भनी ज्ञापनपत्रमा उल्लेख भएकोप्रति आपत्ति जनाए । आफ्नो पहलबाट मासुको मूल्य घट्न सुरु भएको भन्दै माहानिर्देशक सुवेदीले चल्ला र दानाको मूल्य बढेको विषयमा विभागले अध्ययन गरिरहेको बताए ।

‘अध्ययन नगरी हचुवामा कारबाही भन्ने हुन्न, विधि र प्रक्रिया पुरा गर्दैछौं, कारबाही हुन्छ,’ महानिर्देशक सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment