+
+
Shares

प्रदेश ५ को नाम र राजधानी टुंगो लगाउन कांग्रेसको दबाब

संसद अवरुद्ध गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ६ गते १६:१५

६ फागुन, बुटवल । प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थायी राजधानी र नाम छिटो टुंगो लगाउन माग गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठकले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिए ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद पाठकले प्रदेशसभाको पाँचौ अधिवेशनसम्म आइपुग्दासमेत यो विषयलाई संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको भन्दै अब पनि ढिलासुस्ती गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।

‘दुई वर्ष बित्दासम्म राजधानी र नामको टुंगो नलगाइ अनावश्यक ढिलाइ गर्ने काम भइरहेको छ,’ सांसद पाठकले भने, ‘जति घुमाउन खोजे पनि संसदबाटै छिनोफानो गर्ने हो, छिटो प्रस्ताव ल्याइयोस् अन्यथा कांग्रेसले संसद अवरुद्ध गर्छ ।’

स्थायी राजधानी र नामाकरणबारे सिफारिस पेश गर्न भन्दै प्रदेश सभाले १५ सदस्यीय विशेष समिति बनाएको थियो ।

समितिले ५० लाख रुपैयाँ बढी बजेट सकेर करिब दुई वर्ष समय लगाएर प्रतिवेदन प्रदेशसभा सचिवालयमा बुझाइसकेको छ । प्रतिवेदन बुझाएको तीन महिना लाग्दा समेत उक्त विषय संसदमा प्रवेश भएको छैन ।

यस्तै, कांग्रेसकै अर्का सांसद डिल्लीबहादुर चौधरीले प्रदेश सरकार संघीयताको मर्म विपरीत चलेको आरोप लगाए ।

सांसदहरुलाई औपचारिक पोशाकमा आउन गरिएको निर्देशनको विरोध गर्दै उनले थरिथरिका जाति, समुदायको प्रतिनिधित्व रहेको भन्दै उनले औपचारिक पोशाक के हो भन्ने प्रश्न गरे ।

सरकारले आदिवासी जनजातिका संस्कृति र परम्परामाथि पनि प्रहार गरिरहेको भन्दै चौधरीले आपत्ति जनाए ।

प्रदेश सरकारले एकातिर लुम्बिनी भ्रमण वर्ष मनाइरहेको र अर्कोतिर थारु, मगरलगायत जनजातिका परम्परा र संस्कारसँग जोडिएको घरेलु मदिरा पुलिस लगाएर पोखिदिएको भन्दै सांसद चौधरीले आक्रोश पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?