Comments Add Comment

पुरुषले कसरी पिसाब फेर्ने ? उठेर कि बसेर ?

कतिपय देशमा बच्चाहरूलाई पिसाब कसरी गर्ने भन्ने संस्कारसमेत सिकाइन्छ । छोराहरूलाई उठेर तथा छोरीहरूलाई बसेर पिसाब फेर्न सिकाइन्छ ।

तर अहिले विश्वका धेरै देशमा महिला र पुरुषले पिसाब फेर्ने यो स्थापित तथा स्वभाविक तरिकामाथि प्रश्न उठाउन थालिएको छ ।

पुरुषले कसरी पिसाब फेर्नुपर्छ ? स्वास्थ्य तथा सरसफाइको मामिलामा मात्र यो प्रश्न सोध्ने गरिएकोमा यो अब समान अधिकारको विषय पनि बनिसकेको छ ।

त्यसो भए सही तरिका कस्तो हो त ?

अधिकांश पुरुषहरूका लागि उठेरै पिसाब गर्नुभन्दा सजिलो तरिका केही हुँदैन । यो व्यवहारिक मात्र होइन, पिसाब गर्ने काम छिटो सकाउने काइदा पनि हो ।

के तपाईंले कहिल्यै पुरुषको सार्वजनिक शौचालय बाहिर पिसाब फेर्नका लागि लामो लाइन देख्नुभएको छ ? पुरुषको पिसाब फेर्ने समय कम हुने भएको हुँदा यस्तो लाइन कमै हुन्छ । पुरुषहरू शौचालयभित्र छिर्दछन् र पिसाब गरीवरी छिटै बाहिर निस्किन्छन् ।

तुरुन्तै सकिने यो प्रक्रियाका पछाडि दुई कारण छन्

१. पुरुषहरू छिटोभन्दा छिटो पिसाब गरिसक्दछन् किनकि पिसाब फेर्ने क्रममा उनीहरूलाई धेरै कपडाहरू खोलिरहनु पर्दैन ।

२. उठेरै पिसाब फेर्ने पुरुषको कक्ष सानो हुन्छ । त्यसैले सानो ठाउँमा पनि धेरै युरिनलहरू जडान गरिने र एकै पटकमा धेरैजना पुरुषले पिसाब फेर्न सम्भव हुन्छ ।

तर कतिपय विशेषज्ञहरूका अनुसार मूत्र विसर्जन गर्ने समयमा शरीरको अवस्था कस्तो छ भन्ने कुराले उत्सर्जन हुने पिसाबको मात्रामा असर पार्दछ ।

पिसाबको विज्ञान

मिर्गौलाले शरीरको रगत छानेर बढी पानी तथा रगतमा विकार तत्वलाई बाहिर निकाली पिसाबको उत्पादन गर्दछ । त्यसपछि उक्त पिसाब मूत्रथैलीमा जम्मा हुन्छ । मूत्रथैली भरिन लागेपछि मात्र हामीलाई पिसाब लागेको महसुस हुन्छ । आम रूपमा मूत्रथैलीमा ३ सयदेखि ६ सय मिलिलिटरसम्म पिसाब अट्दछ । जब मूत्रथैलीको दुई तिहाइ भाग पिसाबले भरिन्छ तब हामीलाई पिसाब लागेको अनुभूति हुन्छ ।

मूत्रथैलीलाई पूर्ण रूपमा खाली गर्नका लागि हाम्रो स्नायुप्रणाली पूर्ण रूपमा स्वस्थ हुनु आवश्यक छ । किनकि यो प्रणालीले नै कहिले शौचालय जाने भन्ने कुरा बताइदिन्छ र तत्काल मूत्र विसर्जन गर्न नपाउँदा पिसाब रोकेर राख्नसमेत सम्भव बनाउँदछ ।

जब हामी पिसाब फेर्नका लागि सुविधाजनक स्थितिमा पुग्दछौं तब हाम्रो पेल्भिक फ्लोरका मांशपेशी तथा युरेथ्रालाई घेर्ने मांशपेशी फैलिन्छ । त्यसपछि मूत्रथैली खुम्चिन थाल्दछ । यसो गर्दा मूत्रथैलीमा रहेको पिसाब युरेथ्रा र मूत्रनली हुँदै यौनांगबाट बाहिर आउँदछ ।

बस्नु ठीक कि उठ्नु ?

एक स्वस्थ मानिसका लागि पिसाब फेर्न बल लगाउनु आवश्यक पर्दैन । तर कहिलेकाहीँ भने पिसाब फेर्दा समस्या उत्पन्न हुने अवस्थासमेत पैदा हुन सक्दछ ।

विज्ञहरूका अनुसार, प्रोस्टेटको समस्या भएका पुरुषहरूले बसेरै पिसाब फेर्नु लाभदायक हुन्छ ।

प्रोस्टेटको समस्या भएका पुरुषहरूले बसेर पिसाब फेर्दा युरेथ्रल क्षेत्रमा दबाब कम हुने र मूत्र बिसर्जन गर्ने प्रक्रिया सहज तथा छिटो हुने गर्दछ ।

तर स्वस्थ पुरुषको हकमा भने पिसाब फेर्दा बस्नु वा उठ्नुमा कुनै अन्तर हुँदैन ।

कतिपयले बसेर पिसाब फेर्नाले प्रोस्टेट क्यान्सर नहुने र यौन क्षमतामा पनि वृद्धि गर्ने बताउँछन् । तर यसमा कुनै सत्यता नभएको विज्ञहरू बताउँछन् ।

पुरुषले उठेर पिसाब फेर्नुका केही नकारात्मक पक्षचाहिँ छन् । उठेर पिसाब फेर्दा पिसाबका छिटाहरू यताउति छरिने सम्भावना हुन्छ, जसले आसपासका ठाउँलाई फोहोर बनाउँदछ ।

त्यस्तै कमोडको प्यानमा समेत पिसाबका छिटाहरू पर्ने र यसले दिसा पिसाब गर्ने अन्य मानिसहरूलाई असजिलो हुने हुन्छ । यस्तोमा कतिपय पश्चिमा देशहरूमा सार्वजनिक शौचालयहरूमा पुरुषले समेत बसेरै पिसाब फेर्नुपर्ने नियमसमेत बनाइएको हुन्छ ।

यस सम्बन्धमा सन् २०१५ मा जर्मनीमा एक अदालतमा परेको मुद्दा निकै रोचक छ । आफ्नो घरमा भाडामा बस्ने मानिसले शौचालयमा उठेर पिसाब फेर्दा बाहिर छरिएको पिसाबका कारण शौचालयको मार्वल बिग्रिएको भन्दै ती घरधनीले क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा हाले । तर अदालतले चाहिँ पुरुषका लागि उठेर पिसाब फेर्नु मान्य तरिका रहेको भन्दै भाडामा बस्ने पुरुषले कुनै गल्ती नगरेको र क्षतिपूर्ति तिर्नु नपर्ने फैसला गरेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment