Comments Add Comment

सर्वोच्चकै आदेश किर्ते गरी जग्गा किनबेच, ७ जना पक्राउ

७ फागुन, वीरगञ्ज । सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा बाराबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । दुईवटा फरक-फरक जग्गा किर्ते गरी बेचेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

वीरगञ्ज महानगरपालिका-१८ बस्ने ४९ वर्षीय बलराम रौनियार, बहुदरमाई नगरपालिका-३ नगरदाह बस्ने ३५ वर्षीय सलिम मियाँ र बहुदरमाई- २ बैरियाविर्ता बस्ने २४ वर्षीय सुनिल कुमार यादव पक्राउ परेका हुन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका- २ स्थित ज्ञानेश्वर थपलिया (त्रिपाठी) को नाममा रहेको कित्ता नं ११३० को १० धुर जग्गाको आफ्नो नाममा किर्ते पुर्जा बनाई सुनिलले माघ २० गते बिक्री गर्न लागेका थिए ।

त्यसको जानकारी पाएपछि थपलियाले प्रहरीमा उजुरी गरेकी थिइन् । किर्ते जग्गा धनी पुर्जा बनाउन सहयोग गर्ने बलराम र सलिमलाई समेत सोही दिन पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते शिर्षक मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २३ रामपुर टोकनीस्थित साविक कित्ता नं. ६१ (क) को हाल कित्ता नं. ३६२ को १ विगाहा १० कठ्ठा सार्वजनिक जग्गा बेचेको आरोपमा थप चार जना पक्राउ परेका हुन ।

महागढीमाई-८ बस्ने ३९ वर्षीय वोहाब अन्सारी, कलैया उपहानगरपालिका- ६ बस्ने ५९ वर्षीय प्रल्हाद प्रसाद रेग्मी, कैलालीको गोदावरी नगरपालिका- ११ बस्ने चन्द्र बहादुर सिंह र दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ ५९ वर्षीय हस्त बहादुर नेपाली पक्राउ परेका हुन् । सिंहलाई माघ २४ गते र नेपालीलाई फागुन ३ गते पक्राउ गरिएको थियो । अन्य दुई जना माघ २३ गते नै पक्राउ परेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेपाल सरकारको नाममा रहेको विवादित जग्गाको सम्बन्धमा पुनः निर्णय गर्न भनी मालपोत कार्यालय बाराको नाममा सर्वोच्च अदालतले ०७४ मंसिर २८ गते आदेश जारी गरेको थियो । तर उक्त आदेशलाई तोडमोड गरी गलत मनशाय राखेर उनीहरुले प्रधुम्नराज पाण्डेको नाममा मोठ श्रेस्ता कायम गरिदिने भन्ने व्यहोराको सर्वोच्च अदालतको नक्कली लेटर प्याड बनाई किर्ते गरेका थिए ।

०७६ मंसिर ३ गते मालपोत कार्यालय सिमरा बारालाई अधिकृत वारेसनामा वोहाब अन्सारीको नाममा निवेदन दर्ता गरिएको थियो । मलपोत कार्यालय बाराले उक्त पत्र शंकास्पद लागेपछि अनुसन्धानका माघ २० गते आग्रह गरेको थियो । अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment