Comments Add Comment

एजेन्टकै सेटिङअनुसार नीति तथा कार्यक्रममा परेको थियो सेक्युरिटी प्रेस खरिद

‘बास्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

९ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले गरेको कमिसन बार्गेनिङ र त्यसबारेको अडियो सार्वजनिकलगत्तै उनले मन्त्री पदबाट दिएको राजीनामा आजका सबै दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘ओलीका विश्वासपात्रको बहिर्गमन’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचार अनुसार बास्कोटा ओलीको शयनकक्षसम्म पहुँच राख्थे ।उनको अधिकांश उठबस बालुवाटारमै हुन्थ्यो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसँग हाकाहाकी कुरा गर्थे । प्रधानमन्त्री पनि उनकै कुरा सुन्थे ।

बास्कोटाको विवादित यात्राबारे पनि कान्तिपुरले चर्चा गरेको छ । समाचार अनुसार, बास्कोटाले आफ्नो कार्यकालमा गरेका दर्जनभन्दा बढी निर्णय विवादित बनेका छन् । निरन्तर हस्तक्षेप गरेर टेलिकम व्यवस्थापनलाई कमजोर बनाएका उनले आफ्नो अधिकार र कानून मिचेर विभिन्न निर्णय गरेका थिए ।

कान्तिपुरका अनुसार, विज्ञहरूले बास्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार रहेको मत राखेका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा बस्नेले पाउने गैरकानूनी लाभलाई भ्रष्टाचारका रूपमा परिभाषित गरिएको छ । त्यही ऐनको दफा ६ मा कमिसन लिनेलाई सजाय हुने व्यवस्था छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार मन्त्री बास्कोटालाई भ्रष्टाचारको आरोपमा कारबाही गर्नुपर्ने बताएका छन् ।

‘अख्तियारले तत्काल अनुसन्धान गर्नुपर्छ । प्रमाण नष्ट हुने जोखिम भए पक्राउसमेत गर्नुपर्छ,’ कार्कीको भनाइ कोट गर्दै कान्तिपुरले लेखेको छ– छानबिन गरेर घूसकै लेनदेन भइसकेको पुष्टि भए भ्रष्टाचार मुद्दा लाग्छ । होइन भने पनि भ्रष्टाचारको उद्योग गरेको आरोपमा मुद्दा चल्नुपर्छ ।’ राजनारायण पाठकको उदाहरण दिँदै उनले बास्कोटामाथि मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण भएको बताएका छन् ।

सेक्युरिटी प्रेस खरिद एजेन्टकै सेटिङमा ओलीको पहिलो कार्यकालमै नीति तथा कार्यक्रममा परेको लेखेको छ ।

पुष्प ढुंगानाको बाइलाइनमा लेखिएको समाचार अनुसार, त्यतिबेला सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा १३८ बुँदा थिए । जसको १०९ औं बुँदामा सुरक्षण मुद्रणसम्बन्धी कानूनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गर्ने उल्लेख थियो ।

उतिबेलैको नीति तथा कार्यक्रममा परेको प्रेस खरिदका लागि मन्त्री बास्कोटा र यती होल्डिङ्सका सञ्चालक आङछिरिङ शेर्पा फ्रेन्च कम्पनी आइएन ग्रुपसँग डिल गर्न सँगै पेरिस जाने तयारीमा थिए । तर अघिल्लो फागुनमा पाथीभरामा हेलिकोप्टर दुर्घटनामा शेर्पाको निधन भएपछि बास्कोटा सरकारी कर्मचारीसँग फ्रान्स पुगेका थिए ।

अन्नपूर्णले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको कार्यकक्षमा बिहीबार साँझ छापा मारिएको लेखेको छ । मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बास्कोटाको निजी सचिवालयका कागजपात्र नियन्त्रणमा लिएका हुन् ।

यस्तै उनले प्रयोग गरेको दराजमा रहेका कागजपत्र पनि सिलबन्दी गरिएको अख्तियार स्रोतलाई उद्धृत गर्दै अन्नपूर्णले समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment