Comments Add Comment
इतिहास :

मगर जातिको राजनीतिक विरासत

परिस्थिति कस्तो आयो भने काजी अभिमानसिंह रानाले करवीर पाँडेलाई काट्नुपर्ने भयो । कोतमा जम्मा भएका भारदारहरुमध्ये त्योबेला शक्तिमा रहेकी राजा राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मीले यी काजीलाई काट्ने आदेश दिइन् । रानीको आदेश अनुसार उनका पि्रय काजी गगनसिंहका कथित हत्यारा वीरकेशर पाँडेलाई तत्कालै काट्नुपर्ने भयो, अभिमानसिंह रानाले ।

वि.सं. १९०३ साल भदौ ३ गते तत्कालीन शक्तिशाली काजी (मन्त्री) गगनसिंहको रहस्यमय हत्या भयो । हत्यारा पत्ता लगाउन भारदारहरुलाई कोतमा जम्मा हुन बिगुल फुकाएर आदेश दिइयो । तर, अभिमानसिंह राजाको कायलनामाको लालमोहर आएपछि मात्र यस्तो काम गर्न सकिने भन्दै बीरकेशरलाई काट्नबाट हच्किए ।

अवस्था बडो उत्तेजक बन्दै थियो । तत्कालीन मूलकाजी अर्थात् प्रधानमन्त्री फत्यजंग शाह पनि कोतमा झिकाइए । उनले रानीलाई सक्दो सम्झाए । रानी आफैं तरबार निकालेर वीरकेशर पाँडेको टाउको काट्न तम्सिइन् । त्योबेला फत्यजंग, दलभञ्जन र अभिमानसिंहहरुले मुस्किलले रानीलाई सम्झाएर माथि उनको आसनमा पुर्‍याए ।

कोतको यस्तो भय त्रास देखेर काजी अभिमानसिंह राना आफू बच्न मातहतका फौजी जवानसँग के मिसिन आएका थिए, उनलाई पाले जवानले रोकिहाल्यो । जंगबहादुरको इशारा पाएका अर्का फौजी जवान युद्धवीर अधिकारीले अभिमानसिंहको छातीमा सङ्गीन प्रहार गरे । अभिमानसिंह ढल्दै गर्दा उनले रहस्योद्घान गर्दै ‘गगनसिंहलाई मार्ने जंगे हो’ भनी चिच्याएको इतिहासकार ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः२३४-२३५) मा पढ्न पाइन्छ ।

एउटा ठूलो ब्यूहरचनामा आयोजित कोतपर्वमा अभिमानसिंह रानाले गगनसिंहको हत्यारा भनी जसको नाम लिए, त्यो सुनिदिने कसले ?

यसरी कोतपर्वमा अभिमानसिंह राना मगरले अन्तिम सास फेरेसँगै मगरहरुको तत्कालीन राज्यसत्तासित रहेको पुरानो उच्चस्तरीय राजनीतिक विरासतको पनि अन्त्य भयो ।

फत्यजंगको नेतृत्वमा रहेको मन्त्रिमण्डलमा तीन पल्टनसहित अभिमानसिंह एक मन्त्री थिए । त्योबेला फत्यजंगसँग तीन पल्टन र गगनसिंहसँग सात पल्टन रहेको थियो (उहीः १८९) ।

मगरको पुरानो विरासत

इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः६) पढ्दा के थाहा हुन्छ भने नेपालको पूर्वराजवंशका पुर्खा जैन खानका सन्तान पाँच ठकुराईमा बाँडिदा उनीहरु मगरहरुको बस्तीमा बसे । त्यसमा पनि द्रब्य शाहले वि.सं. १६१६ तिर गोर्खामा राज्य बसाले ।

आचार्य (२०६१ः१२) अनुसार राम शाहको पालादेखि गोर्खाका मगरहरु प्रगतिमा चढ्न थाले । यिनैका समयमा सिद्ध लखन थापा मगरले मनकामनालाई पुण्यस्थल बनाइदिए । हुन त द्रब्य शाहको पालामा गंगाराम रानालाई न्याय विभागको अधिकारी बनाइएको थियो । आचार्य (२०६१ः१२६) लाई पढ्दा पृथ्वीनारायण शाहको बनारस यात्रामा जसिवन्त राना, देवु रानाजस्ता भारदारहरु पनि सहभागी थिए भन्ने थाहा हुन्छ ।

तर, द्रब्य शाहको समयभन्दा साढे चार सय वर्षअघि नै मगरहरुको आफ्नो ठाउँमा महत्वपूर्ण राजनीतिक विरासत रहेको लिखित प्रमाण पाइन्छ ।

धनबज्र बज्राचार्य र महेशराज पन्तहरुलाई पाद टिप्पणीमा राख्दै इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुपण’ (२०५५ः१२५-१२६)मा उल्लेख गरेअनुसार वि.सं. ११५७ मा पश्चिम नेपालमा पाइएको झान्टेश्वर महादेव स्थानमा ‘सोहव राने’ भन्ने नाम र थर पाइएको छ । उक्त ताम्रपत्रमा ‘मग्वरविषय’ शब्द परेको र त्यहाँ उल्लेख भएमध्ये एक सोहव राने पनि भएकाले ती सोहव राने एक जना महत्वपूर्व मगर ब्यक्तित्व थिए भन्ने प्रमाण मिल्छ ।

ताम्रपत्रमा ‘इदा भावो धक्नप र सोहव राने’ उल्लेख भएकाले पाञ्चाली गुठियारमध्ये पहिलो भावो वा भाओ उपनाम भएका धनीमानी ब्यक्ति थिए । दोस्रा स्थानीय व्यक्ति र तेस्रा राना मगर देखिन्छन् । नेपालले यो ताम्रपत्रमा ‘मग्वरविषय’ भन्ने उल्लेख भएबाट पश्चिम नेपालको गण्डकीप्रदेशको मगरातमा झण्टेश्वर स्थान थियो भन्न सकिने आधार प्रकट गरेका हुन् । यसले मगर जातिसम्बन्ध यो पुरानो लिखत ऐतिहासिक महत्वको थियो भन्ने प्रमाण निक्कै बलियो भएर आउँछ ।

पृथ्वीनारायण शाहले स्वीकारेको ‘मगरात’

बाबुराम आचार्य र योगी नरहरिनाथबाट सम्पादन भएको ‘बडा महाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश’ (२०६१ः२८-५९) पढ्दा थाहा हुन्छ, पृथ्वीनारायण शाहले ‘मगरात’ स्वीकार गरेको तथ्य । यहाँ पृथ्वीनारायणले मगरातको राजा आफू नै भएको बताएका छन् ।

यो उपदेश उनले नुवाकोट दरबारमा आफ्ना ददा (बाल्यकालदेखि स्याहार गर्ने मानिस) सुरथसिंह रानालाई पनि साक्षी राखेर दिएका थिए । यसअनुसार पशुपतिनाथ लगायत विभिन्न तीर्थस्थलको दर्शन गरी गोरखनाथको पनि दर्शन गर्ने उद्देश्यले गोर्खा पुगेका आफ्ना मामा पाल्पाली युवराज उद्योत सेनसँग पृथ्वीनारायण शाहले आफू ‘नेपालको राजा’ हुने मनसुवा ब्यक्त गरे ।

पृथ्वीनारायण शाहले गोर्खाका पाँडे, बस्नेत, पन्त र मगरका सन्तानलाई उनीहरु मरेपछि उनीहरुको सन्तानलाई महत्वपूर्ण जिम्मेवारी दिनु र उनीहरुले ज्यान जाने नै गरी विराम गरेका भए पनि नमार्नु र कठिनतम लडाइँमा पठाउनु भन्ने उपदेश दिएका थिए

डोला लिन मकवानपुर पुगेर रित्तो हात चन्द्रागिरि पहाड हुँदै गोर्खा र्फकदै गर्दा पृथ्वीनारायण शाहले नेपाल राज्य -काठमाडौ उपत्यका) देखेर यस राज्यतर्फ आँखा लगाइसकेका थिए । यहीँ सन्दर्भ उनले मामा उद्योग सेनसँग निकाले ।

मामाचाहिँले उनीसँग के कस्तो सेना छन् भन्ने जिज्ञासा राख्दा उनले आफूसँग बाहुन, खस, मगर र ठकुरी सेना रहेको जाहेर गरे । त्यसपछि मामाले ‘बाहुनको सवार भन्याको वयेल (गोरु) हो. पातक् लाग्छ, ठकुरिको सवार सिंघ हो पछाडि दगा हुन्छ. मग्रको सवार भन्याको टागन् घोडा हो. ढिलो हुन्छ. षसको सवार ताजि तुर्की घोडा हो. षसको सवार गरे चा होला..’ भन्ने सल्लाह दिए ।

यसमा मगरलाई ढिलो जाति भनिएको छ । यो सन्दर्भ नरभुपाल शाहको समयमा पनि आउँछ । यसबारे फेरि उल्लेख गरिनेछ ।

गोर्खामा पृथ्वीनारायण शाहले ६ थर घर निर्धारण गर्दा अर्ज्याल, खनाल, पाँडे, पन्त, बोहरा र राना मगरलाई तोकेका थिए । उनको यहीँ परम्पराको निरन्तरता अनुसार काजी अभिमानसिंह राना कोतपर्वताका उच्च पदीय हैसियतमा रहेका थिए ।

पृथ्वीनारायण शाहले गोर्खाका पाँडे, बस्नेत, पन्त र मगरका सन्तानलाई उनीहरु मरेपछि उनीहरुको सन्तानलाई महत्वपूर्ण जिम्मेवारी दिनु र उनीहरुले ज्यान जाने नै गरी विराम गरेका भए पनि नमार्नु र कठिनतम लडाइँमा पठाउनु भन्ने उपदेश दिएका थिए ।

नुनका सोझाहरु

पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा आफू राजा भएको एक वर्षपछि अर्थात् वि.सं. १८०० मा कान्तिपुर अधिनस्थ नुवाकोट आक्रमणका लागि विराज थापा मगर र गौरेश्वर पन्थलाई खटाए । तर, उनीहरु विना उपलब्धी गोर्खा र्फके । तर, दोस्रो पटक नुवाकोट आक्रमणमा पृथ्वीनारायण शाहलाई सफलता मिल्यो ।

पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या २१ (कात्तिक, २०२९ः२७) पढ्दा देवु राना, जसवन्त राना, नरकेशर थापा ग्रान्जी, नरबीर आले, सक्रजीत थापा, सुगेत राना, मानसिंह आले, रुद्रदेव थापा पुलामी लगायत धेरै मगर सैन्य नुवाकोट आक्रमणमा खटिएको पाइन्छ ।

यता गोर्खातिरबाट पृथ्वीनारायण शाहले प्रशस्त मगरसमेत सम्मिलित सेनाबाट नुवाकोट आक्रमण गरे । उता नरभुपाल शाहको समयका गोर्खाली काजी जयन्त राना भने गोर्खाबाट पलायन भइ कान्तिपुर अधीनस्थ नुवाकोटका उमराव भइ बसेका थिए ।

इतिहास शिरोमणि बाबुराम आचार्यको पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ -२०६१ः७४) अनुसार आफ्नो राज्यकालमा केवल एकपटक नरभूपाल शाहले नुवाकोट आक्रमण गर्ने योजना बनाए । यो योजनालाई तत्कालीन मन्त्री महेश्वर पन्थले समर्थन जनाए ।

त्योबेला सिन्धुपाल्चोक र नुवाकोटमा मगरहरुको आवाद बढिरहेको थियो । उनीहरु कान्तिपुरका राजालाई समेत नटर्ने हुँदा उनीहरुलाई काबुमा राख्न पलाञ्चोकका बगाले थापा क्षेत्रीमध्येका काशीराम थापालाई नुवाकोटको उमराव बनाइराखिएको थियो ।

नरभुपाल शाहको आदेशअनुसार काजी महेश्वर पन्थ र सरदार जयन्त रानाको सेनानायकत्वमा नुवाकोट आक्रमण गरियो । तर गोरखाली पक्षको हार भयो । यो हारपछि हतारिँदै गोर्खा र्फकेर हारको कारण मगरहरुमा रहेको सुस्ती हो भन्ने पोल महेश्वर पन्थले नरभुपालसमक्ष लगाउन भ्याइहाले । जयन्त गोर्खा पुग्न नभ्याउँदै उनले पदच्यूति पाएपछि उनी गोर्खाबाट पलायन भई नुवाकोटको दक्षिण पूर्वमा रहेको कोटगाउँमा घरबास गरी बस्न लागे । पछि उनी नुवाकोटको उमराव बने ।

आचार्य (२०६१ः१६५-१६७)अनुसार पृथ्वीनारायणले पूर्वगोरखाली सरदार जयन्तलाई बोलाउन आफ्ना मानिस पठाए । तर जयन्तले पृथ्वीनारायण शाहलाई ‘हुन त म हजुरकै चाकर हुँ । तर, जयप्रकाश मल्लको नुन खाइहालेँ, नुनको गुन छाडेर आउन सक्दिनँ’ भन्ने सन्देश पठाए । यस्तो सन्देश पठाएर गोरखालीसँग भिड्न उनी थप सैनिक बलका लागि कान्तिपुरका राजा जयप्रकाश मल्ललाई गुहार्न पुगे ।

महामण्डलमा उनका छोरा शङ्खमणि सेनानायकत्व गरी बसेका थिए । गोरखालीको आक्रमण भयो । शङ्खमणि पृथ्वीनारायण शाहका भाई दलमर्दन शाहको तरबार प्रहारबाट मारिए । यसरी वि.सं. १८०१ असोज १५ गते नुवाकोट गोर्खाको अधीनस्थ बन्यो ।

त्यसपछि पुत्रवियोगबाटसमेत शोकविह्वल अवस्थाका जयन्त बेलकोटमा बस्न थाले । उनको सैन्य शिविरमा पृथ्वीनारायण शाहले धावा बोले । उनी आफै डोलीमा चढी आक्रमणका निमित्त अघि सरे । तर, गोरखाली पक्षको ठूलो क्षति हुँदा युद्धमैदानबाट पृथ्वीनारायण शाह र्फकने तयारीमा थिए । त्यसैबेला कालु पाँडे प्रशस्त सैन्यशक्ति लिएर युद्ध मैदानमा पुगे । उनीहरुले जयन्तलाई पक्रिएर ल्याए, अनि जिउँदै छाला काढेर उनको प्राण लिए ।

यदि पृथ्वीनाराण शाहले बोलाउँदा उनी गोरखाली पक्षमा मिसिएका भए उनले यस्तो कठोर मृत्युवरण गर्न पर्दैनथ्यो नै, सम्भवतः उनले चाहेअनुसारको लाभ पनि पाउँथे । तर, उनले इमान्दारीपूर्वक नुनको सोझो गरे, अनि छोरो गुमाउँदै शत्रुपक्षबाट जिउँदै छाला काढिएर बलिदान भए ।

नरभुपाल शाहकै समयमा मगर भारदारहरुमध्ये लोहारी राना र जसबु राना सक्रिय रहेको देखिन्छ । गोरखाको मान्बु गाउँका रामु घलेलाई नरभुपाल शाहले जग्गा जमीनसम्बन्धी अधिकार दिदा बसेका नौ गोरखाली साक्षीमध्ये यी दुई मगर भारदार पनि सहभागी भएका थिए ।

वि.सं. १७९६ जेष्ठ बदी रोज १ मा जारी गरिएको यो ताम्रपत्रको छायाँप्रति घले परिवारका सन्तान सिर्जना घलेमार्फत यो लेखकलाई प्राप्त भएको हो । ताम्रपत्रमा लोहारी र जसबु राना मगरको नामसँगै शिवराम बस्नेत (शिवरामसिंह बस्न्यात) को पनि नाम उल्लेख छ । नेपाली इतिहासमा बीरका रुपमा चर्चित अभिमानसिंह बस्नेत शिवरामका सन्तान हुन् ।

मगर काजी, जो काटिए

गोर्खा दरबारदेखिनै पुरानो राजनीतिक विरासत बोकेका मगर काजीहरुमध्ये नाम चलेका काजीहरु भने कालगतिले मर्न पाएको देखिँदैन । नेपाली इतिहासको असाध्यै सन्काहा राजा रणबहादुर शाहको समयमा कोपभाजनमा परी नाम चलेका भारदारहरु मारिँदा केही मगर पनि परे ।

ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः४८-४९)अनुसार दरबारमा रणबहादुर शाहकी माहिली महारानी सुवर्णप्रभा शक्तिशाली हुँदा कीर्तिमानसिंह बस्नेत मूलकाजी थिए । यिनलाई महारानीसँग करणी विराउने बात लाग्यो । बस्नेत राति दरबारबाट निस्केर हात्तीसारको बाटो हुँदै घर गइरहेको बेला वि.सं. १८५८ असोज ६ वदीमा निरकञ्जन खवास र सामदत्त शाहीले काटिदिए । हत्याराहरु भागे ।

सुवर्णप्रभाले भारदारी सभा बोलाइन् । चौतारियाहरु शेरबहादुर शाही र बम शाहले कीर्तिमानसिंहको हत्याबारे प्रश्न उठाए, तर कोही चुइक्क बोल्न सकेका थिएनन् । हत्याको षडयन्त्रमा शंकाको घेरामा रहेका चौतारियाहरु श्रीकृष्ण शाह, विदुर शाही, काजी दामोदर पाँडेलाई बचाइयो । रणजीत पाँडे, रणकेशर पाँडे, गर्भु खवास इन्द्रसिंह खवास काटिए ।

यस प्रकरणमा तीनजना मगर भारदारहरु पनि मुछिए । तीमध्ये सरदार प्रतिमन रानालाई काटेर मारियो । देवदत्त थापा मगरको आँखा झिकियो भने प्रवल राना फलामको पिँजडामा कैद गरिए ।

यीमध्ये काजी देवदत्त थापा मगर र प्रतिमन राना वि.सं. १८४६ पछि भएको नेपालविरुद्ध भोट र चीन मिलेर लडेको युद्धपछि भएको सन्धिअनुसार सौगात लिएर चीनको राजधानी पुग्ने नेपाली दूत मण्डलको नेतृत्व गरेका थिए भन्ने पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २४ (श्रावण, २०३०ः३) पढ्दा थाहा हुन्छ ।

यसअनुसार यी दुई मगरले नेपालको अन्तराष्ट्रिय सम्बन्ध विस्तारको प्रारम्भिक चरणमा नेपाली राजदूतको पनि भूमिका निभाएका थिए भन्ने बुझ्न सकिन्छ । यस मुखपत्रको यसै सङ्ख्याको पृष्ठ २ नियाल्दा तिब्बत र चीनविरुद्ध नेपालको युद्ध हुँदा सरदार प्रबल राना र भास्कर रानाले केरुङमा लडेका थिए ।

ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः५६-५७) अनुसार पछि देश जोगाउने प्रबल राना भने आफ्नो ज्यान बचाउनका लागि देश छाडी भाग्न विवस भए । नेपाली इतिहासका महासन्काहा राजा रणबहादुर शाह काशीबासपछि नेपाल र्फकदा उनलाई स्वागत गर्न दामोदर पाँडेका साथ लागेर उनी थानकोट पुगेका थिए । उनी दामोदरसँगै समातिएर भद्रकालीमा थुनामा राखिए । उनले दामोदरसँग राति भाग्ने सल्लाह गरे, तर दामोदर भाग्न मानेनन् । उनी भने झाडापिसाव गर्ने निहुँले भागी सिमापार भइ गोरखपुर पुगेर ज्यान बचाए ।

दरबारमा महारानी राजेन्द्रलक्ष्मी र उनका देवर राजकुमार बहादुर शाहबीच शक्ति सङ्घर्ष हुँदा राजेन्द्रलक्ष्मीबाट मूलकाजीमा नियुक्त सर्वजीत रानाले पनि काटिएर अकालगतिमा मृत्यूवरण गर्नु परेको थियो । ज्ञानमणि नेपालको ‘नेपालको महाभारत’ (२०५२ः१९-२०)अनुसार गुरु गजराज मिश्रको अनुरोधमा त्यसबेला थुनामा रहेका बहादुर शाह बन्धनमुक्त भए पनि उनी अधिकारविहीन थिए । त्यतिबेलै काजी सर्वजीतसँग रानी सल्केकी छन् भन्ने गाईगुई चल्यो । वि.सं. १८३५ भदौमा बहादुर शाहले आफ्ना काका दलजीत शाह र भारदार श्रीहर्ष पन्थसमेतको सहयोगमा आठपहरियाहरुलाई दरबार घेर्न लगाई यसै आरोपमा राजेन्द्रलक्ष्मीलाई चाँदीका नेल ठोकेर थुनामा राखे भने काजी सर्वजीत र उनका अनुयायीलाई कुमारीघरको छिँडीमा लगी कटाई दिए । यसपछि बहादुर शाह सर्वेसर्वा भए ।

पृथ्वीनारायण शाहको भारदारहरुलाई नमार्नु, मार्नैपर्ने गल्ती गरेका रहेछन् भने पनि उनीहरुलाई कठीन खालको लडाईमा पठाइदिनुभन्ने नीति थियो । तर, बहादुर शाहले आफ्ना पिताको कैयौं नीति अपनाएको देखिए पनि भारदारहत्यामा उनी चुकेको देखिन्छन् । उनले काजी सर्वजीत रानालाई जस्तै काजी स्वरुपसिंह कार्कीलाई पनि कटाएको इतिहास पाइन्छ ।

सशस्त्र विद्रोहमा मगर

माओवादी जनयुद्धमा मगरको उल्लेख्य सङ्ख्यामा सहभागिता हुनु र यसको मुख्य आधार इलाका रोल्पा, रुकुमजस्ता मगरात इलाका हुनुले सायद मगरहरुले पनि आफ्ना आदिविद्रोही लखन थापाको विरासतको सम्झना गर्दै उनले जस्तै निरङ्कुशताविरुद्ध हतियार उठाउने आँट गरे होलान्

कोतपर्वको पहिलो शिकार हुनपुगेका काजी अभिमानसिंह रानाले सङ्गीनले आफ्नो छाती छेडिएपछि मर्नेबेलामा जसरी ‘गगनसिंहको हत्यारा जंगे हो’ भनी चिच्याए, त्यसको ३० वर्षपछि तत्कालीन निरङ्कुश शासक जंगबहादुर र उनको सत्तालाई हाँक दिन अर्का एक जना मगर लखन थापा -दोस्रा)ले आँट गरे । उनले खुला रुपमा जंगबहादुरको नाम लिएरै उनीविरुद्धको युद्धको आन्तरिक तयारी पनि थालेका थिए ।

रेग्मी रिसर्च सेरिजको वर्ष १२ अङ्क ५ -डिसेम्बर १९८०ः७२-७५) पढ्दा लखनले जंगबहादुरको हत्या गर्न जयसिंह चुमी मगरलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेल पद दिएको थाहा हुन्छ ।

त्यसबेला लखनले आठ क्युविक चौडा र १६ क्युविक उचाइको पर्खालले घरिएको किल्लाजस्तो घर पनि बनाएका थिए । उनलाई वि.सं. १९३२ फागुन २६ गते ढाल र तरबारले सुसज्जित भोटे सेनाले पनि साथ दिएका थिए । उनले उपेन्द्र विक्रम शाहलाई राजा बनाउने र आफू दोस्रो ब्यक्ति अर्थात् प्रधानमन्त्री हुने अनि तार्कु र मनाङबेसीमा जंगबहादुरको हत्या गर्ने तयारी गरेका थिए । त्यो काम फत्ते गर्न नसकिए तिब्बतमा सहयोग माग्न जाने पनि तयारी गरेका थिए ।

राणाकालीन माहिला गुरुज्यू हेमराज पाण्डेले लेखेको अनुमान गरिएको ‘नेपाल देशको इतिहास’ मा लखनलाई लक्षित गर्दै ‘गोरखाका इलाकामा लखन थापाको अवतार हुँ भनी एउटा लुच्चो मगरले..’ भनी उल्लेख गरिएको पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (वैशाख २०३१ः१५-१६) मा पाइन्छ ।

तर, त्यहीँनेर उल्लेख भएअनुसार पहिलो लखन थापाले जस्तै यहीँ पूजा गरिदिन्छु भनी पाँचतले घर बनाई गाउँगाउँबाट मनकामनाको पूजा गर्न दोस्रा लखन थापाको घरमा आउँदा यता मनकामनामा पूजा गर्न समेत मानिसहरुले छाडे भन्ने छ । यसबाट के स्पष्ट हुन्छ भने लखन लुच्चो होइन त्यसबेला लोकपि्रय थिए ।

जंगबहादुरका छोरा पद्मजंग राणाले गोर्खाको गल्ली र सडकमा एउटा जोगीको भेष धरेर जनता लुट्ने, अर्ध पागल, देशद्रोही र विप्लपकारी भनी लखन थापाको निन्दा गरेको ‘जंगबहादुरको जीवनयात्रा’ (२०७४ः२८४-२८५)मा पढ्न पाइन्छ । तर, उनैले लखन थापाले १५ सयको सङ्ख्यामा अर्थात् १५ कम्पनी सैन्य बनाउन सफल भएको पनि उल्लेख गरेका छन् । पद्मजंगको भाषालाई विश्वास गर्ने हो भने कथित ‘एउटा अर्धपागल र लुटेरा’ ले यतिको सङ्ख्यामा सैन्य शक्ति बनाउन सम्भव छ ?

यसरी लखन थापालेे जहानियाँ शासनका सुरुवात, जातिभेदी मूलुकी ऐन निर्माण एवम् साम्राज्यवादी शक्तिको चाकरी गरी तत्कालीन नेपाली जनताको खुन पसिना चुस्ने तत्कालीन शासक जंगबहादुरविरुद्ध हुङ्कार गर्दा आफ्ना केही सहकर्मीसँगै वि.सं. १९३३ फागुन २ गते बलिदान हुनुपर्‍यो । जंगबहादुरले देवीदत्त पल्टन परिचालन गरेर लखन र उनका सहयोगीहरुलाई पक्राउ गरी थापाथली दरबारमा झिकाई मृत्यूदण्डको फैसला गरेका थिए ।

लखनले यसरी ब्यवस्थित रुपमा विद्रोह गर्दा सम्भवतः अघि उनका मगर पुर्खाहरुले स्थापित गरेको राजनीतिक विरासतको पनि सम्झना गरे होलान्, जुन विरासत जंगबहादुरको एकलौटीकरणपछि समाप्त भयो ।

माओवादी जनयुद्धमा मगरको उल्लेख्य सङ्ख्यामा सहभागिता हुनु र यसको मुख्य आधार इलाका रोल्पा, रुकुमजस्ता मगरात इलाका हुनुले सायद मगरहरुले पनि आफ्ना आदिविद्रोही लखन थापाको विरासतको सम्झना गर्दै उनले जस्तै निरङ्कुशताविरुद्ध हतियार उठाउने आँट गरे होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment