Comments Add Comment

छाया मन्त्रिपरिषदको पहिलो बैठक : मन्त्रालयका भ्रष्टाचार खोज्न निर्देशन

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ ।

सरकारमाथि निगरानी गर्न भन्दै जेठमा छाया सरकार बनाएको कांग्रेसले अहिलेसम्म बैठक नै राखेको थिएन । तर आइतबार संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रियसभा संसदीय दलका नेतासहित मन्त्रालयगत समितिका संयोजकहरुको बैठक बोलाएका थिए ।

बैठकमा उपस्थित छाया मन्त्रीहरुले अहिलेसम्म गरेका कामकारबाहीबारे रिपोर्टिङ गरेका छन् । त्यसक्रममा कतिपयले समितिका सदस्यहरु सक्रिय नभएको गुनासो गरेका छन् भने कतिले अझै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए ।

यो पनि पढ्नुस्– छाया मन्त्रिपरिषद आफैं छायामा 

पार्टी सभापति एवं संसदीय दलका नेता देउवाले मन्त्रालयहरुको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् । ‘निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो भ्रष्टाचार कति भइरहेको छ भन्ने प्रमाण हो’ देउवाले भनेका छन्, ‘यस्तो भ्रष्टाचार अरु मन्त्रालयमा पनि भइरहेको छ । त्यसको खोजी गर्नुस् ।’

त्यसका लागि नै छाया मन्त्रीहरु बनाएको भन्दै उनले सक्रिय हुन निर्देशन दिएका छन् ।

प्रमुख सचेतक बालकृष्ण खाँडले छाया सरकार कहाँ छ भनेर खोजी हुन थालेको भन्दै अब सबै सक्रिय हुनुपर्ने बताए । यदि समितिमा भएका केही सक्रिय भएका छैनन् भने उनीहरुलाई हटाएर सक्रियहरुलाई राख्नुपर्नेमा उनको जोड थियो ।

बैठकपछि राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्ऽराज पाण्डेले भने, ‘सञ्चारमा जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएका छन् । यसबारे सम्बन्धित छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment