Comments Add Comment
शिवरात्रि र पशुपतिनाथको सजावट :

भगवानका लागि कुनै सजावट जरुरी छैन

कसैले दियो भन्दैमा सदुपयोग गर्न नसक्ने गरी लिन नहुने रहेछ

पहिला पशुपतिनाथको मन्दिरमा सजावटको चलन थिएन । म सदस्य सचिव भएका बेला २०७० सालमा तीजका लागि पश्चिमपट्टिको मूल गेटमा पहिलोपटक सजावटको काम शुरु गराएँ । दिदीबहिनीहरूले त्यहाँ आएर तस्वीर खिचाउनुभयो ।

समस्या बाँदरको थियो । २४ सै घण्टा सुरक्षाकर्मी खटाएर एक दिनलाई जोगाउन सक्यौं । त्यतिबेला एक दिनका लागि जोगाउन सक्नु पनि उपलब्धिजस्तो भयो ।

त्यसपछि महाशिवरात्रीमा पनि सजायौं । भारतीय प्रधानमन्त्री आएका बेलामा गेटभन्दा अलि बाहिरसम्म पनि फूलले सजायौं । त्योबेलामा ७०–७५ हजार रुपैयाँ जति खर्च भएको थियो । त्यतिबेला कतिपय किन अनावश्यक खर्च गर्नुपर्‍याे भन्नेहरू पनि थिए ।

पहिला–पहिला पशुपतिनाथ मन्दिरमा आउनेहरूलाई खाने–बस्ने व्यवस्था भयो कि भएन भन्ने कुरा हुन्थ्यो । अहिले खान बस्नका लागि बन्दोबस्त गर्नुपर्नेहरू एकदमै कम आउँछन् । त्यसरी आउनेहरू १२/१५ वर्षभन्दा बढी हुँदैनन् ।

यसपटक पशुपति क्षेत्र विकास कोषले होइन, बाहिरका दाताले सजाउने काम गरे । दुईजना भारतीयले दुई करोड रुपैयाँ खर्चेर फूलको व्यवस्था गरे भन्ने कुरा आएको छ ।

कसैले दान दियो भन्दैमा सही सदुपयोग गर्न नसक्ने चिज लिँदा पनि काम लाग्ने हुँदो रहेनछ

कोषले खर्च पनि व्यवहोर्नु परेन र अर्काले गरेको कामको जस पनि लिनु भएन । त्यो ठाउँमा कोषले गर्नु परेको भए दुई–दुई करोडको फूलको सजावट सम्भव नै थिएन । व्यक्तिले गरेको भएर सम्भव भयो ।

काठमाडौंमा शिवरात्री पर्व चल्ने भनेको एक दिन नै हो । एक दिनका लागि यत्रो खर्च गर्नु उपर्युक्त हुन्छ की हुँदैन पनि भन्न सक्नुपथ्र्यो ।

एक दिनका लागि आहा भयो । अहिले त्यही फूलका कारणले पशुपति क्षेत्र सफा हुन सकेको छैन । बाँदरबाट जोगियो, मान्छेले चोरे भन्ने भएको छ । त्यसको अर्थ बाँदरभन्दा पनि मान्छे काम नलाग्ने भए भन्ने जस्तो कुरा आइरहेको छ ।

बरु, त्यो भन्दा दातालाई धेरै खर्च नगरिकन गेटदेखि जहाँसम्म तीर्थयात्रीले झट्ट देख्छन्, त्यहाँसम्म मात्रै सिँगारदिनुस् भन्न सकेको भए हुन्थ्यो । कम खर्च गरेको भए हुन्थ्यो ।

भोलिको दिनमा दाता आएन भने पशुपति क्षेत्र विकास कोष आफैंले खर्च गर्नुपर्ने भयो । किनभने, विगतको भन्दा नराम्रो त हुनु भएन ।

यसबाट हामीले लिने शिक्षा के हो भने फूलले सजावट राम्रो हुँदोरहेछ, मान्छेलाई आकर्षित गर्दोरहेछ, तर चाहिनेभन्दा बढी गर्नुहुँदो रहेन छ ।

गाई, चिह्न, शिवलिंगमा सजावट गर्दा राम्रो खर्च भएको छ । त्यसले पार्ने प्रभावमा विचार गरिएन होला । सजावटका क्रममा विभिन्न वस्तुको प्रयोग गरिएको छ । त्यसको राम्रो व्यवस्थापन गरिएको छ ।

ती फूलहरू भोलिपल्ट कसलाई प्रयोग गर्न दिने भन्ने योजना बनाएको भए त्यसको दुरुपयोग हुने थिएन । र, नेपालीको मानसिकतालाई नराम्रो रुपमा चित्रण गर्ने काम पनि हुँदैनथ्यो होला ।

कसैले दान दियो भन्दैमा सही सदपयोग गर्न नसक्ने चिज लिँदा पनि काम लाग्ने हुँदो रहेनछ ।

म कोषमा जानुभन्दा पहिला २०७० सालमा रातिको समयमा लाइटिङ गरिन्थ्यो । म गएपछि त्यसलाई निरन्तरता दिएँ । २०७४ सालसम्म त्यसले निरन्तरता पायो । शिवरात्रीको मुख्य माहोल भनेको रातिमा हुन्छ । लाइटिङ हेर्नकै लागि मान्छेहरू त्यहाँ जाने गर्छन् ।
यो पनि पढ्नुहोस पशुपतिनाथको सौन्दर्य : बाँदरबाट जोगियो, मान्छेले चुँडे !

दिउँसो त फूलले झिलिमिली भयो । राति केही भएन । साधु–सन्तहरू कसरी बसेका छन्, त्यहाँको माहोल के छ भन्ने हेर्नेहरूका लागि सामान्य बत्तीले काम गर्दैन । कमसेकम महाशिवरात्रीमा लाइटिङको व्यवस्था गरिनुपर्दछ । गर्न चाहने हो भने यसमा ठूलो खर्च पनि लाग्दैन ।

पहिलेदेखि नै शिवरात्रीलाई असाध्यै धुमधाम साथ मनाइन्थ्यो । पाल टाँग्ने, सुरक्षाकर्मी खटाउने, प्राथमिक उपचारका लागि कविराज, वैद्य खटाउने गरिन्थ्यो । २००७ साल भन्दा अगाडि शिवरात्रीका लागि भारतीयहरू जम्मा आठ दिनका लागि मात्रै नेपालमा आउन पाउँथे । यसलाई भारतका राजा रजौटाहरूले नेपाल आउने अवसरका रुपमा लिन्थे । प्रजातन्त्रपछि त सधंैका लागि आउन पाउने भए ।

धार्मिक, आध्यामिक रुपमा हेर्ने हो भने शिवरात्री हरेक महिनामा पर्छ । हरेक कृष्णपक्षको चतुर्दशी शिवरात्री पर्छ । तर, फागुन कृष्णपक्षमा पर्ने शिवरात्री चाहिँ महाशिवरात्री हो ।

महाशिवरात्री भनेको भगवान शिवको अराधना गर्ने मुख्य दिन हो । भगवान शिव ज्योति रुपमा प्रकट भएको दिन भएकाले यसलाई विशेष मानिएको हो ।

देवालयहरू जताततै छन् । तर, पशुपतिमै भिड किन हुन्छ त ? किनभने, पशुपतिनाथ भनेको मान्छेमा भएको पशुभावलाई मुक्त गरिदिने आराध्यदेव हुनुहुन्छ । पशुपतिनाथको अराधना गर्दा विवेक जाग्ने, चेतना–बुद्धि बढ्ने जनविश्वास छ ।

शिवरात्रीका दिन भारत, सिंगापुर, मलेसिया, इन्डोनेसियाबाट पनि पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । तीन धामको यात्रा गरिसकेका खासगरी भारतीय तीर्थयात्रीहरू जल चढाएर चार धाम पूरा गर्न यहाँ आउँछन् । पशुपतिनाथमा आएर जलअर्पण नगर्दासम्म तीर्थयात्रा पूरा हुन्न भन्ने जनविश्वास छ ।

विश्वभरि छरिएर रहेका करिब एक अर्ब हिन्दुहरू एक–पटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् । भगवानका लागि कुनै सजावट जरुरी छैन । अलिकति फूलपाती र फल भएपछि भगवान खुशी हुनुहुन्छ ।

(पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. टन्डनसँगको कुराकानीमा आधारित)

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment