Comments Add Comment

‘बजेट मुरही जसरी बाँडियो, मुख्यमन्त्रीको अनुहार फेर्नुपर्छ’

१२ फागुन, जनकपुरधाम । देशभरिका सातमध्ये ६ वटा प्रदेशमा नेकपाकै नेतृत्वमा प्रादेशिक सरकारहरु चलिरहेका छन् । दुई नम्बर मात्र त्यस्तो प्रदेश हो, जहाँ नेकपा प्रतिपक्षी बेञ्चमा बसेको छ ।

प्रदेश २ मा मधेस आन्दोलनबाट उदाएका समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले संयुक्त सरकार चलाइरहेका छन् । राष्ट्रिय शक्तिका रुपमा रहेका नेकपा र नेपाली कांग्रेस दुबै दल प्रतिपक्षमा छन् ।

लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले यो दुई वर्षमा के–कस्तो काम गर्‍यो ? सरकारको कामप्रति प्रतिपक्षको हेराइ के छ ? यसबारे चासो राख्दा नेकपा र कांग्रेस दुबै दलका नेताहरुले सर्वप्रथम सत्तारुढ दलहरुले नै लालबाबु राउतको विकल्प खोज्नुपर्ने सुझाव दिए ।

लालबाबु नेतृत्वको सरकार यो दुई वर्षको अवधिमा पूर्णरुपमा असफल भएको कांग्रेस– कम्युनिस्ट दुबैको साझा निष्कर्ष छ ।

प्रदेश सरकारको हरेक निर्णयमा सहयोग गर्दै आएका र विधेयकहरुलाई सर्वसम्मत पारित गर्न सहयोग गरेका प्रतिपक्षी दलका नेताहरुले यो सरकार कार्यकर्ता व्यक्तिगत स्वार्थमा रुमलिएको आरोप लगाए ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले अनलाइनखबरसँग भने, ‘प्रदेश २ का सारा जनताले यो सरकार पूर्ण असफल भइसकेको बुझिसकेका छन् । मुख्यमन्त्री र मन्त्रीले भाषणमा अरुलाई गाली मात्र गर्छन्, त्योबाहेक रचनात्मक कुनै काम हुन सकेको छैन ।

लोकप्रियताका लागि ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान चलाए पनि जीवनमा परिवर्तन हुने र प्रदेशका जनताको गरिबी हटाउने क्षेत्रमा कुनै काम हुन नसकेको मण्डलको आरोप छ । मण्डलले भने, ‘१, २, ३ गरेर ठोस काम भएको देखाइयोस्, कृषिमा आधारित हाम्रो प्रदेशमा कुन त्यस्तो उल्लेखनीय योजना ल्याइएको छ ?’

प्रदेश सरकारले प्रतिपक्षसँग कुनै सरसल्लाह नगरेको मण्डलको आरोप छ । उनी भन्छन्, ‘ चालु आर्थिक वर्षको अहिले सातौं महिना बितेर आठौं महिनामा प्रवेश गरिसकेको छ । अहिले कति विकास भएको छ ? योजना कति अगाडि बढेको छ ? कुन–कुन कार्यविधि र निर्देशिका बनाइएको छ ? प्रतिपक्षीलाई मात्र होइन, सत्तासीन सांसदलाई समेत थाहा छैन ।’

सरकारलाई निस्वार्थ भावले विश्वासको मतसमेत दिएको बताउँदै नेकपा नेता मण्डलले उनीहरुको बानीव्यहोरामा परिवर्तन नआएपछि एक वर्षपछि त्यो फिर्ता लिएको सुनाए ।

मुख्यमन्त्रीदेखि मन्त्रीहरु सबै निकम्मा ठहरिए : कांग्रेस

प्रदेश २ सरकारले प्रभावकारी काम गर्न नसकेको अर्को प्रतिपक्षी दल नेपाली कांग्रेसको निष्कर्ष छ । मधेस आन्दोलनको बलमा बनेको सरकार निकम्मा देखिएको कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन् ।

विकासका प्रमुख तीनवटा पूर्वाधार कृषि, पर्यटन र उद्योगका क्षेत्रमा कामहरु शुरुवात समेत गर्न नसक्नु सरकारको निकम्बापन भएको यादवको भनाइ छ । सरकारी बजेटलाई मुरही (भुजा) जसरी बाँडिएको यादवले बताए ।

‘मुख्यमन्त्री र सबै मन्त्रीले आफ्ना कार्यकर्तालाई अरबौं रुपैयाँ बाँडेका छन्’ उनी भन्छन्, ‘जुन प्रयोजनका लागि बजेट विनियोजन गरिएको थियो, त्यो काम नगरी कार्यकर्तामध्ये कसैलाई ९ करोड, कसैलाई १० करोड त कसैलाई १५ करोड दिइएको छ ।’

मुख्यमन्त्री र मन्त्रीले विकास र समृद्वीको प्रतिबद्वता जाहेर गरे पनि त्यो अनुसारको काम नगरेको यादवको आरोप छ । प्रदेशमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम जुन दिनदेखि ल्याइयो, त्यही दिनदेखि महिला हिंसा, बलात्कार, हत्या र चोरी डकैतीका घटनाहरु बढेको यादवले बताए ।

त्यसैगरी, मुख्यमन्त्री र मन्त्रीहरुलाई आफ्नो सुविधा कम गर्न धेरै पटक भने पनि त्यसलाई निरन्तरता दिइरहेकाले उनीहरु निकम्मा ठहरिएको यादव बताउँछन् ।

‘सत्तासीन दलहरुले सरकारको अनुहार परिवर्तन हुनुपर्छ’

मुख्यमन्त्री र मन्त्रीहरुले काम गर्न नसकेपछि प्रदेशको अबको विकल्प के त ? अनलाइनखबरको प्रश्नमा प्रतिपक्षी नेताहरुले यसको विकल्प गठबन्धन दलले नै दिनुपर्ने बताए ।

‘विकल्प त सत्तासीनले नै दिनुपर्छ’ कांग्रेस संसदीय दलका नेता यादव भन्छन्, ‘गठबन्धनले आफ्नो अनुहार परिवर्तन गर्न जरुरी छ । तर, अनुहार परिवर्तन गर्दा नयाँ आए पनि ‘राम मिलाए जोडी….’ भनेजस्तो नहोस् ।’

प्रमुख प्रतिपक्षी नेकपाका नेता मण्डल पनि प्रथमतः सरकारमा सहभागी भएका नेताहरु नै सुध्रिनुपर्नेमा जोड दिन्छन् । ‘यिनीहरु आफैं सुध्रेर सबैलाई विश्वासमा लिँदै अगाडि बढेमा नेतृत्व परिवर्तनको आवश्यकता छैन’ मण्डल भन्छन्, ‘सुध्रन नसके हामी सोच्छौं ।’

के सोच्ने भन्ने प्रश्नमा नेता मण्डलले अनलाइनखबरसँग भने, ‘यो भोलिको कुरा हो, अहिले केही भन्दिनँ ।’

मण्डलका अनुसार नेकपाको लाइन प्रदेश सरकारलाई सही बाटोमा बाटोमा ल्याउनु हो । उनले भने, ‘आउँछ भने ठीक छ, नभए यस विषयमा छलफल गर्छौं ।’

सांसद मण्डलले अब यो सरकारलाई सहयोग गर्न नसक्ने बताए । सार्वजनिक लेखा समितिमा आफ्ना सांसदलाई सत्तासीन समाजवादी पार्टीले फुटाउने काम गरेको बताउँदै भने, ‘पार्टीको निर्णय तोडमोड गराउने काम गरेकाले यसले पनि अनुमान लगाउन सक्नुहुन्छ, अब यिनीहरुलाई कुन रुपले सहयोग गर्ने भनेर । अब यिनीहरुमाथि विश्वास गर्न सकिन्न ।’

के अब अविश्वासको प्रस्ताव दर्ता हुन्छ ?

केही महिनाअघि नेकपा प्रदेश संसदीय दलका नेता मण्डलले सरकार पूर्णरुपले असफल भइसकेको भन्दै फागुन ३ पछि अविश्वासको प्रस्ताव दर्ता गराउने बताएका थिए । उनको यस्तो भनाइले मधेसका व्यापक चर्चा पाएको थियो ।

यसबारे प्रश्न गर्दा मण्डलले अविश्वासको प्रस्तावबारे मुखले बोलेर मात्रै नहुने बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लगि नै हालेमा संवैधानिक व्यवस्थालाई पालन गरेर जानुपर्छ, मुखले बोलेर मात्र हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment