१३ फागुन, काठमाडौं । सेनानी (मेजर) रेखा खत्री भक्तपुरको नलिञ्चोकको सैनिक परिवारमा हुर्किइन् । नलिञ्चोक गाउँमा उनका ठुलोबुबा र काका मात्र नभई अधिकांश परिवारका कोही न कोही सैनिक सेवामा थिए ।
त्यसैको प्रभाव पनि होला, रेखा खत्रीलाई सानैबाट नेपाली सेनाको पोशाक मन पर्थ्यो । २०६० सालमा सिनामंगलको नोबेल कलेजबाट ‘प्लस टु’ दिएर बसेको बेला उनलाई ठूलो बुबाले सेनामा पहिलो पटक महिलाका लागि भर्ति खुलेको सुनाउँदै आवेदन दिन भने ।
त्यसरी परिवारको हौसलाबाट अधिकृत क्याडेटमा आवेदन दिएर नाम पनि निकालिन् । उनको टोलीमा ६ महिनाको कठोर तालिम सकेर सेकेण्ड लेफ्टिनेन्टको सैन्य पोशाक लगाउनेमा ७० जना महिला थिए ।
खत्रीको पोष्टिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कालिप्रसाद (कम्ब्याट इञ्जिनियरिङ) गणमा भयो । त्यसबेला नेपाली सेनामा महिला सदस्य नयाँ कुरा थियो । परिवेश उती सहज थिएन । खत्रीले पनि फौजी जीवनको सुरुवाती दिनमा पुरुष अधिकृतसँग समन्वयमा असहज महसुस गरिन् ।

उनको अनुभवमा, पुरुष सहकर्मीहरुमा महिलाले काम गर्न नसक्लान्, व्यवहार–व्यवस्थापन कसरी गर्ने भन्नेमा द्विविधा थियो । उनी भन्छिन्, ‘त्योवेला हामी साधारण फौजबाट प्रवेश गर्ने पहिलो महिला टोली भएकाले पनि व्यवस्थापनमा केही असजिलो भए जस्तो लाग्छ ।’
नेपाली सेनामा प्राविधिक सेवातर्फ २०१७ सालबाटै महिला लिइए पनि साधारणतर्फ २०६० बाट मात्र भर्ति गर्न थालिएको हो । पहिलो टोलीकी सेनानी रेखा खत्री त्यसको १५ वर्षपछि अहिले महिला मात्रको गोरखकाली गुल्मको नेतृत्व गरिरहेकी छन् ।
सेरेमोनियल ड्यूटी
एक साताअघि नारायणहिटीस्थित गोरखकाली गुल्ममा पुग्दा महिला सैनिकहरु आ–आफ्नो जिम्मेवारीमा ब्यस्त थिए । यो गुल्ममा ड्राइभर, प्लम्बर, इलेक्ट्रिसियनदेखि हतियार मर्मत र सफाई गर्नेसम्मका ‘ट्रेड’का १७८ जना प्राविधिक जनशक्ति छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएसँगै नेपाली सेनाले पनि समावेशिकरणको सिद्धान्त अनुसार महिला सहभागिता बढाउँदै लगेको गुल्मपति सेनानी खत्री बताउँछिन् । उनी भन्छिन्, ‘त्यसै क्रममा महिला मात्रको हाम्रो गुल्म १ साउन २०७४ मा स्थापना भयो ।’
यसअघि यो गुल्मको नेतृत्व सेनानी सृष्टि खड्का र सेनानी जमुना विष्टले गरेका थिए । सैनिक महिलाको व्यवसायिक क्षमता विकासका लागि यो गुल्म महत्वपूर्ण रहेको मेजर सृष्टि खड्का बताउँछिन् ।
विशेषतः सेरोमनियल ड्युटीको जिम्मेवारी पाएको यो गुल्मले सेना दिवस, संविधान दिवस लगायतका अवसरमा हुने सभा–समारोहहरुमा ड्रिलहरु प्रदर्शन गर्नेदेखि उपत्यका पृतनाले अह्राएका अपरेशनल कामहरु गर्ने गरेको छ । अहिलेकी गुल्मपति खत्री भन्छिन्, ‘सेरोमनियल बाहेक फौजले गर्ने सबैखाले काम गछौं ।’

कमाण्डो बाहेक सबै तालिम
सेनाका महिला कर्मचारीले साधारण फौज सरह सबै तालिम गर्नुपर्छ । महिला पनि सैनिक सेवा नियमावलीमा उल्लेख भएका कोर्सहरु पूरा गरेरै बढुवा हुने मेजर खत्री बताउँछिन् ।
नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनामा महिलाको संख्या करिब ७ हजार पुगिसकेको छ । यो कुल सैनिक जनशक्तिको करिब ७ प्रतिशत हो । महिला मात्र रहने अरु गुल्म पनि खडा गर्ने तयारी रहेको उनले बताए ।
नेपाली सेनामा दौड र भारीको तौलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार महिलालाई केही कम गरिएको छ । सबभन्दा कठिन मानिएको कमाण्डो तालिम पनि महिला सैनिकले गर्नुपर्दैन ।
अरु सबै तालिम सेनाको क्यालेण्डर अनुसार गर्नपर्ने मेजर खत्री बताउँछिन् । उनी भन्छिन्, ‘अरु रुटिन महिला र पुरुष सैनिकको भिन्दाभिन्दै हुँदैन ।’
सेनामा महिलाका समस्या
अहिले सेनाको ‘स्पेशल फोर्स’बाहेक अधिकांश इकाइमा महिला सहभागिता छ । पुरुषले नेतृत्व गरेको इकाइमा समस्या राख्न भने अझै असहज हुने गरेको महिला सैनिकहरुको अनुभव छ ।
महिला मात्रको गुल्ममा भने त्यस किसिमको समस्या नहुने हुद्दा शिला थापा बताउँछिन् । ‘घरमा श्रीमति, आमा, बुहारी आदिको भूमिका निर्वाह गर्नुपर्ने महिला सैनिकको पुरुष सहकर्मीको भन्दा भिन्न समस्या हुन्छ’, गुल्ममा कोतको जिम्मेवारी सम्हालिरहेकी उनी भन्छिन्, ‘पुरुष अधिकृतसँग त्यस्ता समस्या राख्न त्यसै पनि अप्ठ्यारो हुन्छ ।’
अरु कुरामा भने पुरुष सहकर्मीभन्दा केही फरक नलाग्ने उनी बताउँछिन् । ‘महिला सैनिकले घर र कार्यालयमा दोहोरो भूमिका निर्वाह गर्नुपर्दाको फरक समस्या छन्’, दुईपटक राष्ट्रसंघीय शान्ति मिसनमा गइसकेकी उनी भन्छिन्, ‘काममा त पुरुष सहकर्मीभन्दा कम भए जस्तो लाग्दैन ।’
गुल्मकी जमदार शान्ता पाण्डे रासनसम्बन्धी रेकर्ड राख्ने जिम्मेवारीमा छन् । उनका एक छोरा र एक छोरी छन् । सैनिक नियम अनुसार पाइने वार्षिक ३० दिन विदाले साना छोराछोरीका आमालाई परिवार व्यवस्थापन गर्न मुस्किल हुने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘त्यति नै विदा पाउने पुरुषलाई महिलालाई जति समस्या हुँदैन ।’
 
  
 
तस्वीर/भिडियो : विकाश श्रेष्ठ/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4