Comments Add Comment

गभर्नरका आकांक्षी : कोही बालुवाटार धाउँदै, कोही शीतलनिवास

चिन्तामणि सिवाकोटी र सुवोधकुमार कर्ण (दायाँ)

१३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको नेतृत्व आगामी ६ चैतदेखि खाली हुँदैछ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी नरहेको बेला गभर्नरको नियुक्ति हात पार्न आकांक्षीहरुको दौडधुप तीव्र देखिएको छ ।

गभर्नरका आकांक्षीमा राष्ट्र बैंकका सञ्चालक, बहालवाला डेपुटी गभर्नरदेखि नेपाल सरकारका पूर्वप्रशासक तथा राष्ट्र बैंककै पूर्व कर्मचारीहरु छन् । गभर्नर पदमा आफूलाई नियुक्ति गराउन यतिबेला आकांक्षीहरुलाई सत्ताको नजिक पर्न थालेका छन् ।

गभर्नरका लागि बलिया दाबेदारका रुपमा देखिएका डेपुटी गभर्नर चिन्तामणि सिवाकाेटी आइतबार प्रधानमन्त्री केपी ओलीको पछिपछि तेह्रथुम पुगे । प्रधानमन्त्रीको जन्मदिन मनाउने कार्यक्रम जन्मथलोमा राखिएपछि डेपुटी गभर्नर शिवाकोटी आइतबार आठराई गाउँपालिका पुगेका हुन् ।

केही दिनअघि आफूले लेखेको पुस्तक विमोचन गराउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्रै पस्ने सौभाग्य पाएका शिवाकोटीले पछिल्ला दिनमा शक्तिकेन्द्रको नजिक देखिने क्रम बढाएका छन् ।

पूर्वएमाले समर्थित शिवाकोटी प्रधानमन्त्री निकटकै व्यक्ति हुन् भन्ने कुरा त गर्भनरको दौडमा रहेकैबेला बालुवाटारमा प्रधानमन्त्रीबाट पुस्तक विमोचन गराएबाटै प्रष्ट भइसकेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई गुरु मान्ने शिवाकोटी गभर्नर आफ्नो भागमा आउनेमा ढुक्क छन् । ऐनले नै गभर्नरका लागि एकजना बहालवाला डेपुटी गभर्नरलाई सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने ३ सदस्यीय सिफारिस समितिले नयाँ गभर्नरका लागि तीनजनाको नाम समावेश गरेर सिफारिस गर्नुपर्ने हुन्छ ।

अनियमिताको आरोप लागेर पनि मन्त्रिपरिषदबाट क्लीन चिट पाएका अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि गर्भनरका दाबेदार छन् । तर, उनले बालुवाटारभित्र शिवाकोटीले जस्तो सुविधा पाएका छैनन् ।

गर्भनरमा अन्य आंकाक्षीहरु पनि कम छैनन् । राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रहेका डा. सुवोधकुमार कर्णदेखि अर्थसचिवबाट २२ माघमा अवकास पाएका डा. राजन खनाल पनि उत्तिकै बलिया दाबेदारका रुपमा छन् ।

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएर हाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, पूर्वराजस्व सचिव लालशंकर घिमिरे लगायत पनि गभर्नरको आकांक्षीका रुपमा छन् ।

यीमध्ये धेरै कसरत गर्नेमा शिवाकोटी र सुवोधकुमार कर्ण अगाडि देखिएका छन् । महालेखापरीक्षकका लागि निकै कसरत गरेर पनि हुन नसकेका कर्ण नेकपा निकटकै व्यक्ति हुन् । महालेखापरीक्षक हुन नपाएपछि नेकपाले उनलाई चित्त बुझाउनका लागि राष्ट्र बैंक सञ्चालक बनाएको थियो ।

बैंकिङ विषयमै विद्यावारिधि गरेका कर्ण गभर्नर बन्नका लागि ठूलो कसरतमा जुटेका छन् । केही दिन अघिमात्रै उनी आफूलाई गभर्नर बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । राष्ट्रपति कार्यालयनिकट श्रोतका अनुसार पछिल्लो एक महिनामा उनले ३ पटक राष्ट्रपतिलाई भेटेर आफ्नो कुरा राखिसकेका छन् ।

तर, कर्णले राष्ट्रपतिलाई भेट्दै गर्दा शिवाकोटीचाहिँ आफूलाई विद्वान अर्थ विज्ञ सावित गराउन पुस्तक लेखेर बसे । र, उनले फ्याट्ट प्रधानमन्त्रीकै हातबाट विमोचन गराए, त्यही पनि बालुवाटारभित्रै पुगेर ।

चिन्तामणि शिवाकोटी दायाँबाट दोस्रो

कर्ण पनि नेकपाभित्र कम प्रभाव भएका व्यक्ति होइनन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेलको प्रस्तावमा सरकारले राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । नेकपामा उपाध्यक्ष बामदेव गौतमसँग पनि उनको राम्रो सम्बन्ध रहेको स्रोत बताउँछ । स्रोतका अनुसार उनले २ दिन अघिमात्रै बामदेवलाई भेटेका थिए ।

कर्ण गभर्नरका आकांक्षी छन् भन्ने कुरा प्रधानमन्त्रीको कानसम्म पनि पुगिसकेको छ । किनभने, प्रधानमन्त्रीले लेखेको पुस्तक विमोचन समारोहमा सुवोधकुमार पनि सहभागी थिए ।

गभर्नरका आकांक्षीहरुमध्ये सुवोधकुमार कर्णलाईमात्रै प्रधानमन्त्री कार्यालयबाट पुस्तक बिमोचन कार्यक्रममा निम्ता गएको स्रोत बताउँछ ।

पेशाले चार्टड एकाउन्टेन्ट रहेका सुवोध हाल राष्ट्र बैंकको अडिट कमिटिका संयोजक छन् । पर्सा स्थायी घर भएका उनी लेखापरीक्षणमा धेरै लामो अनुभव भएका व्यक्ति हुन् ।

लगानी बोर्डका सीईओ रहेका अधिकारीले पनि आफूले मान्ने नेताहरुसँगको भेटघाट बढाएका छन् । उनले प्रधानमन्त्री ओलीदेखि नेकपाका अर्का अध्यक्ष प्रचण्डसम्मलाई भेटेर आफ्नो आकांक्षाको सूचना पु¥याइसकेका छन् । यद्यपि, अनलाइनखबरसँग भने उनले सरकारले जिम्मेवारी दिए लिन तयार रहेको भए पनि पदका लागि दौडधुप नगरेको बताए । उनी यसअघि पनि गभर्नरका लागि सिफारिसमा भने परिसकेका व्यक्ति हुन् ।

विगतमा गभर्नर डा. नेपालसँगै अधिकारीको नाम पनि गभर्नरमा सिफारिस भएको थियो । तर, सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नरमा नियुक्ति गरेको थियो ।

पूर्वसचिव खनाल र घिमिरेले पनि आफ्नो आकांक्षा अर्थमन्त्री डा. युवराज खतिवडालाई सुनाइसकेका छन् । आयोगका पूर्वउपाध्यक्ष श्रेष्ठले भने आफू आकांक्षी रहेको सूचना केही महिना पहिले नै खुमलटार पु¥याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment