Comments Add Comment

राष्ट्र बैंकको गभर्नर बन्न दौडधूप, यस्ता छन् दाबेदार

१० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो ६ चैतमा अवकाश पाउँदैछन् । कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भए पनि गभर्नर नेपाल बिदामा बसेका छैनन् ।

विदामा नबस्नुको मुख्य कारण हो, नयाँ गभर्नरका लागि सिफारिस नहुनु । गभर्नर नियुक्तिका लागि छनोट समिति गठनमा ढिलाइ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नर नियुक्ति लागि एक सिफारिस समिति गठन हुनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले गठन गरेको समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस गरिएका मध्ये एकजनालाई मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गर्न सक्ने व्यवस्था राष्ट्र बैंक ऐनमा छ ।

गभर्नर नेपालको कार्यकाल सकिन एक महिना पनि बाँकी छैन, तर पनि सरकारले यस विषयमा खासै ध्यान दिएको छैन् । ऐनमा उल्लेख भए अनुसार सिफारिस समितिको अध्यक्ष अर्थमन्त्री नै हुनेछन् । अर्थमन्त्रीको संयोजकत्वमा बन्ने सिफारिस समितिको सदस्यहरुमा एक जना पूर्व गभर्नर हुनेछन् भने अर्को एक जना विज्ञ व्यक्ति सरकारले तोक्नेछ ।

एक महिनाअघि नै गभर्नर नियुक्तिका लागि प्रक्रिया शुरु गर्नुपर्ने भए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले यस विषयमा हतार गरेका छैनन् । यता गभर्नर नियुक्तिमा ढिलाई भए पनि आकांक्षीहरुले राजनीतिक लबिङ भने तीब्र बनाएका छन् ।

राष्ट्र बैंकको गर्भनर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकार ढुकुटी रहने  राष्ट्र बैंकलाई बैंकहरुको पनि बैंक भनिन्छ । नयाँ जारी हुने नोटमा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर रहन्छ ।

राजनीतिक नेतृत्वमा घरघरमा यतिबेला आकांक्षीहरु दौडधुप गरिरहेका छन् । गभर्नरको बलियो दाबेदारका रुपमा हेरिएका बहालवाला डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी स-परिवार बालुवाटार छिरेका थिए ।

सिवाकोटीले आफूले लेखेको पुस्तक विमोचन गराउनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन् । यद्यपि, उनले गभर्नर पद आफ्नो पोल्टामा पार्नका लागि बाटो खोज्दै बालुवाटार नै पुगेर भए पनि पुस्तक विमोचन गराएको उनी निकट श्रोत बताउँछ ।

यो पनि पढ्नुहोस शिवराज श्रेष्ठको पुनर्वहालीले गभर्नरको रेसमा ‘गेम चेञ्ज’

गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै वहालवाला सञ्चालक डा. सुवोधकुमार कर्णसमेत हुन् । महालेखा परीक्षकका लागि निकै कसरत गरेर पनि हुन नसकेका कर्ण नेकपा निकटकै व्यक्ति हुन् । महालेखापरीक्षक हुन नपाएपछि नेकपाले उनलाई चित्त बुझाउनका लागि राष्ट्र बैंक सञ्चालक बनाएको थियो ।

बैंकिङ विषयमै विद्यावारिधि गरेका कर्णले गभर्नर बन्नका लागि ठूलो कसरतमा जुटेका छन् । केही दिन अघिमात्रै उनी आफूलाई गभर्नर बनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका थिए । त्यसबाहेक नेकपाका अन्य नेताहरुसँग पनि उनले अहिले हारगुहार गरिरहेका छन् ।

गभर्नरको आकांक्षीहरु यीबाहेक गत २२ माघमा सेवा निवृत भएका अर्थसचिव राजन खनाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ आकांक्षी छन् ।

यसैगरी पूर्वराजस्व सचिव लालशंकर घिमिरे तथा राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवालीसमेत गभर्नरका लागि आकांक्षी हुन् । यतिमात्रै होइन, अनियमितताको आरोपमा छानविन भई मन्त्रिपरिषद्बाट क्लिन चिट पाएका बहालवाला डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि गभर्नरका आकांक्षी हुन् ।

चिन्तामणि र शिवराजको दाबी

गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्नुपर्नेछ । उक्त समितिले ३ जनाको नाम गभर्नरका लागि सिफारिस गर्नुपर्ने हुन्छ । राष्ट्र बैंक ऐनको दफा १५ को उफदफा २ मा सिफारिस समिति गठन सम्बन्धी व्यवस्था गरिएको छ ।

सोही दफाको उपदफा (३) मा भने वहालवाला डेपुटी गभर्नर मध्येबाट एक जना अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उता डेपुटी गभर्नर शिवराज श्रेष्ठले अबको गभर्नर आफु बन्ने बताउँदै आएका छन् । अनियमितताको आरोप लाग्दा पनि उनले गभर्नर बन्न नदिने चलखेल भएको प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस राष्ट्र बैंकको १७ औं गभर्नर बन्न को–को आकांक्षी ?

प्रधानमन्त्री पत्नी राधिका शाक्यसँग नजिक रहेका श्रेष्ठ नेकपानिकट भने होइनन् । उनी नेपाली कांग्रेसको कोटामा डेपुटी गभर्नर बनेका थिए । ‘चिन्तामणि सर नेकपाको हुनुहुन्छ, शिवराज सर प्रधामन्त्रीकै नजिक हुनुहुन्छ, अहिले केही भन्न सकिँदैन’ राष्ट्र बैंकका एक अधिकारीले अनलाइनखबरलाई भने ।

तर, अर्थमन्त्रालय निकट श्रोत भने चिन्तामणि सिफारिसमा पर्ने पक्का भएको दावी गर्छ । ‘चिन्तामणि जीको नेकपाकै हुन्, फेरी अर्थमन्त्रीसँगको नजिक पनि भएकाले कन्र्फम नै छ’ अर्थमन्त्रालयका एक अधिकारी भन्छन्, ‘राजनीतिक विचारमात्रै होइन, राष्ट्र बैंकमा छदा शिवराज जी भन्दा चिन्तामणि नै मन्त्री ज्यूको नजिक हुनुहुन्थ्यो ।’

नेकपाका निकट सिवाकोटी पनि अर्थमन्त्रीप्रति निकै सकरात्मक देखिन्छन् । अर्थमन्त्री राष्ट्र बैंकको गभर्नर छँदा चिन्तामणि निकै नजिक थिए । चिन्तामणिले अर्थमन्त्रीलाई आफ्नो गुरुको रुपमा चिनाउने गरेका छन् । यसकारण पनि सिफारिसमा पर्ने लगभग पक्का जस्तै छ ।

को बन्ला त अबको गभर्नर ?

गभर्नरका आकांक्षीका रुपमा अहिले आधा दर्जन व्यक्ति छन् । चिन्तामणि गभर्नरका लागि बलिया दाबेर भए पनि सिफारिसमा पर्नेवित्तिकै उनी नै नियुक्त हुने पक्का भने हुँदैन ।

अहिले गभर्नरका लागि ठूलो दौडधुप गर्नेमा दुई पात्रहरु चिन्तामणि र सुवोधकुमार देखिएका छन् । अर्का आकांक्षी पूर्वसचिव खनाल र घिमिरे भने अर्थमन्त्रीको भरोसामा बसेका छन् ।

ठूलो दौडधुपमा नजुटेका दुबै पूर्व प्रशासकद्वय सरकारले दिइहाले खाउँ भने दाउमा छन् । दुबै जनाको आशा र भरोसा भने अर्थमन्त्री नै हुन् । दुई मध्ये खनाल अर्थमन्त्रीले निकै रुचाएका पात्र समेत हुन् ।

यो पनि पढ्नुहोस अर्थमन्त्रीको चाहना – गभर्नरमा खनाल, सचिवमा ढुंगाना !

श्रोतका अनुसार अवकाश पाउनुअघि नै अर्थमन्त्री आफैंले खनाललाई गभर्नर बनाउने प्रस्ताव गरेका थिए ।

अर्का आकांक्षी लगानी बोर्डका सीईओ महाप्रसाद यसअघि नै गभर्नरका लागि सिफारिसमा परेका व्यक्ति । गभर्नर नेपालसँगै उनको नामसमेत तत्कालिन सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आकांक्षी खनाल आफैंले आफू गभर्नरको दाबेदार नभएको बताएका छन् । उता लगानीबोर्डका सीईओ अधिकारीलाई नियुक्त गरे केही बिवाद हुने संकेत देखिएको छ । अधिकारीको गभर्नरका लागि योग्यता नपुग्ने चर्चा यतिबेला उनका विपक्षीहरुले गरिरहेका छन् ।

अर्का प्रवल दाबेदार भनिएका मीनबहादुर पूर्व माओवादी निकट हुन् । पूर्वमाओवादी निकट भएका कारण केपी ओलीले उनलाई गभर्नर नियुक्त सहजै पक्कै गर्दैनन् । यदि गभर्नर पूर्वमाओवादीको कोटामा परे मीनबहादुकै भाग्य चम्कने श्रोत बताउँछ ।

यसैवीच, बिहीबार पुस्तक विमोचन गराउन बालुटार छिरेका चिन्तामणिको प्रधानमन्त्री आफैंले प्रशंसा गरेका छन् । पुस्तक विमोचन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रलाई राम्रोसँग बुझेको र प्रतिभाशाली व्यक्ति भन्दै चिन्तामणिको प्रशंसा गरे ।

गभर्नरको आकांक्षीका रुपमा हेरिएका भाष्करमणि नेताहरुको नजिक छैनन् । गभर्नर बन्नका लागि उनले शक्ति केन्द्रहरुमा धाउने पनि गरेका छैनन् । उनी आफैंले अनलाइनखबरसँगको कुराकानीमा पदका लागि दौडधुप नगर्ने प्रतिक्रिया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment