Comments Add Comment

सिमेन्टको गुणस्तरमाथि प्रश्न : मन्त्री भट्टले सच्याए मात्रिका यादवको ‘गल्ती’

के नेपालीहरुले गुणस्तरहीन सिमेन्ट प्रयोग गरिरहेका छन् ?

१३ फागुन, काठमाडौं । गत असार १८ को गुणस्तर परिषदको बैठकले ३३ ग्रेड ओपीसी सिमेन्टको गुणस्तर परिमार्जन गर्ने निर्णय गर्‍यो । नेपाल गुणस्तर परिषदका अध्यक्ष एवं तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नेपाल गुणस्तर २०४९ दोस्रो पुनः परीक्षण अनुसार ओपिसी सिमेन्टअन्र्तगतका ३३, ४३ र ५३ ग्रेडका सिमेन्टका गुणस्तर परिमार्जन गर्ने निर्णय गरेको थियो ।

नेपाली सिमेन्ट उद्योगहरुबाट उत्पादन हुने सिमेन्टको गुणस्तर मापदण्ड दोस्रो पुनः परीक्षणले ०५५ जेठ ५ को पहिलो पुनः परीक्षणलाई परिमार्जन गरेको थियो । नयाँ मापदण्डअनुसार नेपालमा हाल अत्याधिक प्रचलनमा रहेको ३३ ग्रेड ओपीसी सिमेन्टको गुणस्तर घटाइएको थियो ।

परिमार्जित गुणस्तरअनुसार ३३ ग्रेडको ओपीसी सिमेन्टमा आईआर (खरानी, धुलो जस्ता सिमेन्टमा मिसिने अघुलनशील वस्तु) को मात्रा २ बाट ४ रहने र म्याग्नेसियम (सिमेन्टमा जोडाई कम गर्ने तत्व) को मात्रा ५ बाट ६ बनाउने निर्णय भएको थियो । परिषदको उक्त बैठकले सिमेन्टको जोडाइ (सेटिङ) समय पनि ४५ मिनेटबाट ३० मिनेटमा झार्ने गरी निर्णय गरेको थियो ।

मात्रिका यादवको निर्णय मन्त्री भट्टले सच्याए

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिमेन्टको परिमार्जित गुणस्तर मापदण्ड फागुन २ गते खारेज गरेको छ । ३३ ग्रेडको ओपिसी सिमेन्टको गुणस्तर घटाउने गरी मन्त्री मातृका यादवको पालामा भएको निर्णय फागुन २ को मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

‘सिमेन्टको गुणस्तर घटाउने गरी यस अघि भएको निर्णय उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको मन्त्रीस्तरीय निर्णयबाट खारेज गरेर मन्त्रीपरिषद्मा पठाइएको हो । गुणस्तर घटाउने काम भएको पाइएपछि त्यसलाई सच्याइएको मन्त्रालय स्रोतले बतायो । अब ३३ ग्रेडको ओपिसी सिमेन्टमा २०५५ जेठ ५ को गुणस्तर परिषदको निर्णय मान्य हुनेछ भने मन्त्रालयले ४३ र ५३ ग्रेडको सिमेन्टको मापदण्ड पनि बनाएको छ ।

के बजारमा गुणस्तरहीन सिमेन्ट छ ?

असार १८ मा भएको सिमेन्टको गुणस्तर खस्काउने निर्णय कात्तिक ३० भित्र कार्यान्वयन गर्न गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उद्योगहरुलाई पत्र लेखेको थियो । गुणस्तर विभागका निर्देशक संजिव कुमार ठाकुरले उद्योगहरुलाई लेखेको पत्रमा फेरिएको मापदण्ड कार्यन्वनयन गर्न भनिएको छ । तर, सार्वजनिक लेखा समितिले गुणस्तर परिषदको निर्णय राजपत्रमा प्रकाशित नहुँदै गैरकानुनी ढंगबाट उद्योगलाई पत्र पठाइएको ठहर गरेको थियो ।

विवादस्पद मापदण्ड हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सच्याएका त छन् तर अब कात्तिक ३० देखि फागुन २ गतेसम्म बजारमा ३३ ओपीसीको असार १८ मा फेरिएको मापदण्डअनुसार सिमेन्ट उत्पादन भए वा नभएकोमा भने मन्त्रालयमा संशय पैदा भएको छ ।

यदि यो अवधिमा फेरिएको गुणस्तर मापदण्डमा उत्पादन भएर बजारमा ३३ ग्रेड ओपीसी सिमेन्ट गएको छ भने त्यो संरचनाका लागि हानीकारक हुने मन्त्रालयले जनाएको छ । परिमार्जित गुणस्तरअनुसार ३३ ग्रेडको ओपीसी सिमेन्टमा आईआर (खरानी, धुलो जस्ता सिमेन्टमा मिसिने अघुलनिसिल वस्तु) को मात्रा २ बाट ४ रहने र म्याग्नेसियम (सिमेन्टमा जोडाइ कम गर्ने तत्व) को मात्रा ५ बाट ६ बनाउने निर्णय भएको थियो । जसले संरचना कमजोर बनाउने विज्ञहरुले बताएका छन् ।

‘फेरिएको गुणस्तरमा सिमेन्ट उत्पादन भएको छैन’

असार १८ मा गुणस्तर विभागले फेरेको मापदण्डअनुसार सिमेन्ट उत्पादन नभएको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ ।

‘विभागले गरेको निर्णय कार्यन्वनयनका लागि प्यारामिटरको तयारी गर्दै गर्दा लेखा समितिमा उजुरी परे पछि स्थगन भयो, बजारमा कमसल गुणस्तरको सिमेन्ट छैन्’ संघका अध्यक्ष ध्रुबराज थापाले भने ।

‘यस विषयमा धेरै प्रचार भएको पाइएको छ, सबै सिमेन्ट ग्राहकलाई मेरो आग्रह छ ढुक्क हुनुस् बजारमा गुणस्तरहीन सिमेन्ट छै ’ अध्यक्ष थापाले भने ।

अनुसन्धान गरौं

तर, बजारमा कमसल सिमेन्ट गए नगएकोबारे अध्ययन हुनुपर्ने सरोकारवालाको मत छ । प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिमा रहेर सिमेन्टको गुणस्तरबारे अध्ययन गरेका सांसद एलपी सावाँ लिम्बुले बजारमा त्यस्ता सिमेन्ट गए, नगएको खोजी गर्नुपर्ने बताए ।

‘त्यस्ता सिमेन्ट कुनै पनि संरचनामा प्रयोग गरियो भने त बर्बाद हुन्छ, खोजीको विषय जरुरी छ’ उनले भने । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना सिमेन्टको गुणस्तरमा गम्भीर चलखेल भएको दाबी गर्छन् । ‘उपभोक्ताले कमसल सिमेन्ट प्रयोग गरेका हुन सक्छन्, खोजी गरौं र संलग्नलाई कारबाही गरौं’ तिमिल्सिनताले भने ।

उद्योग मन्त्रालयले गुणस्तरहीन सिमेन्ट बजारमा गए–नगएको बारे खोजी गर्ने जनाएको छ । विगतमा पनि गुणस्तरहीन सिमेन्ट मन्त्रालयले जफत गरेर नष्ट गरेको हुनाले त्यसो गरेको पाइए फेरि पनि नष्ट गर्ने कार्यक्रम अगाडि बढ्ने मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नवीन ढुंगाना

ट्रेन्डिङ

Advertisment