Comments Add Comment

मातातीर्थ पुगेर बाबुरामले भने- १७३ रोपनी जग्गामा न्याय गरेको रहेछु

१३ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलले पर्यटन बोर्डमा श्वेतपत्र जारी गरिरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्थानीयबासीलाई भेट्न चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए । मातातीर्थ त्यही स्थानमा हो, जहाँ डा. भट्टराई प्रधानमन्त्री भएका बेला १७२ रोपनी १५ आना जग्गा मोही कायम गरेर वितरण गरिएको थियो ।

श्वेतपत्रअनुसार त्यतिबेला मोही कायम गरेर व्यक्तिका नाममा गरिएको सबै जग्गा नेपाल ट्रस्टकै हो । ट्रस्टको संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ३ फागुनमा संसदमा सम्बोधनका क्रममा उक्त जग्गा ट्रस्टकै भएको बताएका थिए ।

सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि भट्टराई स्थानीयलाई भेट्न त्यहाँ पुगेका हुन् । डा. भट्टराईले आफू ‘जसको जोत उसको पोत’ भन्ने नारासहित क्रान्तिमा होमिएको र आफ्नो नेतृत्वको सरकारले जनताको सम्पत्ति जनतालाई नै दिनुपर्ने सिद्धान्तअनुसार नीतिगत निर्णय गरेर जनताले भोगचलन गरेको जमीन कसैले खोसेर नखोसिने बताए ।

करिब २ सय घर रहेको त्यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही स्थानीय नेताले प्रधानमन्त्रीले कुरै नबुझि बोलेको दाबी गरेका आरोप लगाए ।

नेकपा कार्यकर्ता पनि असन्तुष्ट

सरकारले चालेको कदमले सत्तारुढ नेकपाकै स्थानीय नेताहरू पनि रुष्ट देखिएका छन् । नेकपाका काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका रवीन्द्र रिजालले सरकारले जनताको सम्पत्ति खोस्न नसक्ने दाबी गरे । यो विषयमा प्रधानमन्त्रीले नबुझिकन बोलेको उनको आरोप छ ।

‘धेरै लामो अध्ययनपछि जनताको पक्षमा निर्णय भएको थियो, त्यसको १० वर्षपछि अहिले निर्णय उल्ट्याउन बद्नियत तरिकाले कुचेष्टा गरिँदैछ’ उनले भने, ‘राजा महेन्द्रकै पालामा जो जोताहा मोही हुन्, उनकै नाममा गर्ने भनेर फैसला भएको हो ।’

त्यसपछि धेरै रैइकर भएको र केहि अझै रैइकर हुन बाँकी रहेको उनले बताए । तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठका साथै थुप्रै सरकारी अधिकारी फिल्डमै आएर अध्ययन गरेको तथा नेपाल ट्रष्ट र संसदीय समितिले समेत छानविन गरेपछि मात्रै स्थानीयको नाममा जग्गा आएको उनको दाबी छ ।

नेकपाकै अर्का स्थानीय नेता शंकर दुलालले पनि डा. बावुराम भट्टराईलाई फसाउने नियतका साथ जनतालाई दुःख दिन खोजिएको बताए । ‘यो नेपाल ट्रष्टमा जानै नहुने जमीन हो, जनताको सम्पत्ति जनताकै हुनुपर्छ’ दुलालले भने, ‘कसैलाई फसाएर व्यक्तिलाई दुःख दिनु ठीक होइन, जनताले न्याय पाउनु पर्छ ।’

प्रधानमन्त्रीको सम्बोधनले रातभरी निद्रा लागेन

हाल समाजवादी पार्टीको संघीय परिषद्को अध्यक्ष समेत रहेका भट्टराईले आफ्नेा सरकारको पालामा जग्गा पाएकाहरुलाई भेटे, किन लामो समयसम्म जग्गा आफ्नो नाममा आएन भनेर सोधे । त्यसक्रममा स्थानीयबासीले आफूहरुको चार पाँच पुस्ताले भोगचलन गरेको जग्गा भएको सुनाए ।

केहीले भनेपछि जग्गा किनेर घर बनाएका पनि रहेछन् । त्यस मध्येकी एक सीता पोखरेलले २०६८ सालमा मातातीर्थमा ४ आना जग्गा किनेकी रहिछन् । उक्त जग्गामा एक तले घर पनि बनाएकी उनलाई दुःखले जोडेको सम्पत्ति सरकारले खाइदिने हो कि भन्ने चिन्ताले रातभर निन्द्रा नलागेको सुनाइन् ।

प्रधानमन्त्रीले ३ फागुनमा संसदमा सम्बोधन गरेयता रातभर निन्द्रा नलागेको उनले सुनाइन् । ‘मेरो श्रीमान्ले विदेशमा पसिना बगाएर जोडेको सम्पति हो, सरकारले लान्छ भन्ने सुन्दा धेरै तनाव भयो’ भावुक हुँदै उनले भनिन् ।

उनकाअनुसार श्रीमान् गणेशप्रसाद पोखरेलले वैदेशिक रोजगारीमा कमाएको रकमले यो जग्गा किनेकी हुन् । रोजगारीकै शिलशिलामा अहिले पनि कुवेतमा रहेका उनका श्रीमानको मेहनतको कमाईले घर बनाएको उनले सुनाइन् ।

स्थानीय अमृत रम्तेलले भट्टराई नेतृत्वको सरकारले जनताको पक्षमा निर्णय गरेको भन्दै यसलाई उल्टाउन खोज्नु दुःखद् भएको बताए । पुर्खौदेखि आफ्नो परिवारले भोगचलन गरेपनि आफ्नो नाममा नआएको जग्गालाई तत्कालीन सरकारले नीतिगत निर्णय गरेर दिलाएको भन्दै उनले अहिले खोसिए मान्य नहुने बताए ।

‘पुर्खौदेखि हामीले भोगचलन गर्दै आएको जमीन हो, यो ट्रष्टका नाममा जाने जमीन होइन भनेर सरकारले लालपुर्जा दियो’ उनले भने, ‘बाबुराम सरकारको निर्णयले न्याय पाएका थियौं, उल्टियो भने हामीमाथि ठूलो अन्याय हुनेछ ।’

अर्का स्थानीय श्रीराम थापाले सरकारले अहिले कुनै व्यक्तिगत रिसईबीको कारण जनतालाई दुःख दिन खोजेको आरोप लगाए । ‘अहिले जुन कुरा सरकारले गरेको छ, त्यो हुँदै नहुने कुरा हो’ थापाले भने, ‘सरकारले खोस्ने नै निर्णय गरे यहाँ जे पनि हुनसक्छ ।’

उनले बाबुराम भट्टराई नेतृत्वको सरकारले जनताको पक्षमा निर्णय गरी न्याय दिलाएको बताए ।

अर्की स्थानीय रिता बानियाँ पनि पुर्खौदेखि आफूहरुले भोगचलन गर्दै आएको जग्गा आफूले पाएको भन्दै सरकारले खोस्न नहुने बताइन् । उनले यस विषयमा जनताको पक्षमा कुरा राखिदिन पूर्व प्रधानमन्त्री भट्टराईसँग आग्रह गरिन् ।

भूमाफियालाई दिने मनसायले प्रपञ्च गरियो : भट्टराई

स्थानीयको कुरा सुनेपछि पूर्वप्रधानमन्त्री भट्टराईले आफूले न्याय गरेको रहेछु भन्नेमा ढुक्क भएको बताए । ‘वर्षैवर्षदेखि बसेको दलित परिवारहरु रहेछन् । विपन्न वर्गका मान्छेहरु रहेछ यो देखेर म झनै ढुक्क भएँ मैले न्याय गरेको रहेछु’ उनले भने ।

तर सरकारले जनताको जमिन खोसेर भूमाफियालाई पोस्न खोजेको उनको आरोप छ ।

असान्दर्भिक प्रसंगमा जोडर आशंका पैदा गर्न खोजिएको भन्दै उनले भने, ‘मैले पालामा दिएकाले मैले पनि केही नराम्रो गरे कि भन्ने देखाउन असान्दर्भिक प्रसंग जोडिएको छ । यो चोरले अर्कोलाई चोर देखाउन औला ठड्याए जस्तो देखियो ।’

फोटो/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment