Comments Add Comment

धानचमरामा लाग्यो मकैको दाना ! 

मकैमा अनौठो प्रकृतिको समस्या देखियो : कृषि ज्ञान केन्द्र 

१४ फागुन, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ बडहर्वाका किसान दिनेश गिरीले यसवर्ष ४ कठ्ठामा ‘श्रेष्ठा’ जातको मकै लगाए । तर मकैमा दाना लागेन । मकैमा दाना नलागेपछि उनले काटेर भैंसीलाई खुवाइसकेका छन् ।

दिनेशको मात्रै होइन, अन्य किसानले लगाएको मकै बालीमा पनि यस्तै समस्या देखिएपछि किसान चिन्तित छन् । मकैमा घोगा लाग्न सुत्ला पसेको छ । तर टुप्पो (धानचमरा)मा दाना लागेपछि किसान अचम्ममा परेका छन् । धानचमरामा दाना लागेको कहिल्यै नदेखेको गिरी बताउँछन् ।

मकैको माथिल्लो भागमा घोगा जस्तै देखिएको र दाना समेत लागेको देख्दा आफू अचम्ममा परेको किसान विनोद कार्की बताउँछन् । धानचमरामा दाना लाग्न थालेपछि मकै नफल्ने गरेको अगुवा किसान बताउँछन् । ‘महँगो बिउ, मल सिंचाई, जोताई गरेर लगाएको बालीमा यस्तो समस्या देखिन थालेको छ,’ उनले भने, ‘बिउ, मलको पैसा तिर्न अझै बाँकी छ । मकै बेचेर तिर्ने शर्तमा बिउ, मल ल्याएर लगाएको थिएँ, अब कसरी पैसा तिर्नु ? ’

बारामा मकै बालीमा दाना नलाग्ने समस्या विगतमा समते देखिएको हो । यसपटक सीपी, श्रेष्ठा लगायतका विभिन्न जातको मकैको घोगामा दाना लाग्नुको सट्टा बोटको टुप्पा (धानचमरा)मा दाना लागेको छ ।

१० कठ्ठामा मकै लगाएका ईन्द्रबहादुर थापा मगरको चिन्ता पनि अन्य किसानको जस्तै छ । ‘टुप्पामा दाना लाग्न थालेपछि घोगामा दाना लाग्ने होला कि नहोला । मकै फलेन भने त बर्बाद भइन्छ,’ थापाले भने, ‘उखुमा भुक्तानीको समस्याबाट आजित भएर मकै लगाइयो । मकैले पनि टुप्पोमा दाना फलाउन थालेको छ अब के गर्ने ?’

बाराको जितपुर–सिमरा, कलैया उपमहानगरपालिका, प्रसौनी, करैयामाई, कोल्हवी गाउँपालिकामा मकैको टुप्पामा दाना लाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । यी क्षेत्रका झण्डै साढे ३ सय बिघाको मकैबालीमा धानचमरामा दाना लागेको छ । सरकारले सूचीकृत गरेको जातमा समेत यस्तो समस्या देखिएको छ । चन्दन, श्रेष्ठा, सीपी, ३१२२, विराट ९२, सुपर ९५१ लगायत मकैको जातमा धानचमरामा दाना देखिएको कृषि ज्ञान केन्द्रका प्राविधिक बताउँछन् ।

धानचमरामा घोगा/दाना देखिएको अनौठो प्रकृतिको समस्या भएको कृषि ज्ञान केन्द्र बारा प्रमुख जीतेन्द्र यादव बताउँछन् । ‘हिउँदे मकै बालीमा दाना नलाग्ने समस्या विगतमा पनि आएको हो । फूलफुल्ने बेलामा १५ डिग्री भन्दा कम तापक्रम भएका बेला पोलेन मर्छ । जसले गर्दा परागसेचन हुन पाउँदैन । अनि दाना लाग्दैन,’ उनले भने, ‘अहिले धान चमरामा घोगा जस्तो देखिएको छ । घोगामा दाना लाग्छ कि लाग्दैन त्यो त हेर्न बाँकी नै छ ।’

असोज अन्तिमदेखि कात्तिक दोस्रो सातासम्म लगाएको मकै बालीले फूल फुल्ने बेला १५ डिग्री भन्दा कम चिसोको सामना गर्नु पर्ने हुन्छ । कात्तिक १५ पछि मंसिर भरी मकै लगाउने समय हो तर किसानले असोजमा धान काटे लगत्तै मकै लगाउने गरेका छन् । यस बेला लगाएको अन्न बालीले प्रतिफल राम्रो नदिने तर्क प्रमुख यादवको छ ।

कृषि अधिकृत राजवंशी चौरसियाका अनुसार केन्द्रले टुप्पोमा दाना लागेका मकैको बोटमा घोगा नलागेको जानकारी दिए । कृषि ज्ञान केन्द्र बाराले मकैमा देखिएको समस्याको वास्तविकता निरीक्षणका लागि अधिकृत चौरसिया र कृषि विज्ञ गेनालालप्रसाद मण्डललाई खटाएको छ ।

मकै खेतीमा देखिएको समस्याको अध्ययनका लागि फागुन १६ गते विज्ञ टोली आउन लागेको प्रमुख यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment