Comments Add Comment

कोसी अस्पताललाई जग्गाको अभाव

क्षयरोग निवारण संस्थाको भवन भत्काउने तयारी

१४ फागुन, विराटनगर । विराटनगरको कोसी अञ्चल अस्पतालको नयाँ भवन निर्माणका लागि क्षयरोग निवारण संस्थाले निर्माण गरेको भवन भत्काइने भएको छ । आईसीयू भवन बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि जग्गा अपुग भएपछि २०१६ सालमा क्षयरोग निवारण संस्थालाई दिएको जग्गामा बनेको भवन भत्काउन लागिएको हो ।

सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा ५ बिघा १० कट्ठा जग्गा छ । जस मध्ये विराटनगर अस्पताल चोकमा रहेको गणेश मन्दिरले १ कट्ठा १० धुर, देवकोटा पुस्तकालयले २ कट्ठा, रेडक्रस सोसाइटीले १ कट्ठा १३ धुर र क्षयरोग निवारण संस्थाले ८ कट्ठा १० जग्गा प्रयोग गर्दै आएका छन् ।

कोसी अस्पतालको जग्गामा उपचार गृह आवाससहितका संचरचनाले भरिएका छन् । नयाँ भवनका लागि बजेट आएपनि जग्गा नभएका कारण क्षयरोग निवारण संस्थालाई दिइएको जग्गामा निर्माण भएको एउटा भवन भत्काउने सहमति भएको कोसी अस्पतालको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगिता मिश्रले बताइन् ।

कोसी अस्पताल सञ्चालनमा आर्थिक अवस्थाका कारण धौ धौ छ । तर अस्पतालकै जग्गामा बसेका चारवटा संस्थाले भने आफ्नो भवन भाडामा लगाएर आम्दानी गरिरहेका छन् । संघिय सरकारबाट संरचना निर्माणका लागि ४० करोड बजेट विनियोजन भएपछि बुधबार अस्पतालले भवन निर्माणका लागि सार्वजनिक छलफल आह्वान गरेको थियो ।

छलफलका क्रममा अस्पतालभित्रबाट नक्साङ्कन गर्ने र अपुग भएको जग्गाका लागि क्षयरोगको एउटा भवन अस्पताल पट्टीबाट भत्काउने निर्णय भएको मिश्राले बताइन् । नक्साङकन गरेपछि भत्काउनुपर्ने भवनका बारेमा प्रमुख जिल्ला अधिकारीलाई लेखेर पठाइने उनले बताइन् ।

बुधबारको छलफलले निशुल्क रुपमा अस्पतालको जग्गा उपभोग गर्दै आएका चार संस्थाले भवन भाडामा लगाएर आम्दानी गर्नु गलत भएको निष्कर्ष निकालेको छ । छलफलले निजी संस्थाहरुको भवन व्यावसायीकरण रोक्ने निर्णय गरेको मिश्राले बताइन् ।

प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताए ।

शिक्षण अस्पताल बनाउनका लागि तत्काल एमडीको कक्षा सञ्चालन गर्नुपर्ने बताए । तत्काल भवन निर्माणका लागि बिनियोजन भएको ४० करोडको योजनालाई दीर्घकालीन योजनामा समावेश गरेर अघि बढ्नुपर्ने उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले अस्पतालको नाममा रहेको जग्गा स्वामीत्वमा ल्याउन नसके अस्पतालले इतिहास कायम गर्न नसक्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अस्पताललाई भरपर्दाे बनाउन अस्पताल दीर्घकालिन योजना बनाउनुपर्ने बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अन्य संस्थाको व्यवस्थापन गरी अस्पताललाई व्यवस्थीत गर्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य जयराम यादवले व्यावसायिक प्रयोजनमा रहेका संरचना भत्काएर अस्पतालको जग्गा अस्पतालकै भोगमा ल्याउनुपर्ने बताए ।

छलफलमा कोशी अस्पतालको दिर्घकालिन विकासका लागि आफ्नो स्वामित्वमा भएको जग्गा संरक्षण गर्ने र मास्टर प्लान अनुसार योजनाबद्ध काम अघि बढाउने निर्णय भएको मिश्राले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment