Comments Add Comment

रियल मड्रिडविरुद्ध सिटीको पुनरागमन जित, रामोसलाई रातो कार्ड

१५ फागुन, काठमाडौं । कमब्याक, पेनाल्टी अनि रातो कार्ड । यी सबै विशेषता भएको युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा म्यानचेष्टर सिटीले रियल मड्रिड माथी जित हात पारेको छ ।

इंग्लिस क्लब सिटीले स्पायनिस जायन्ट रियललाई उसैको मैदानमा पुनरागमन गर्दै २–१ ले पराजित गरेको हो । रियलका कप्तान सर्गियो रामोसले खेलको अन्त्यतिर रातो कार्ड पाए । च्याम्पियन्स लिगमा रियलमाथि सिटीको यो पहिलो जित हो ।

रियलको घरेलु मैदान सान्टीयागो वर्नावेउमा रियलले अग्रता लिएर पनि जोगाउन सकेन। पहिलो हाफ खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ३ गोल भयो ।

खेलको ६०औं मिनेटमा इस्कोले भिनिसियस जुनियरको पासमा गोल गर्दै घरेलु टोली रियललाई अग्रता दिलाए । तर अग्रता धेरैबेर टिकेन । गाब्रिएस जेसस र केभिन डे ब्रुएनाले ५ मिनेट अन्तरमा गोल गर्दा सिटीले पुनरागमन जित हात पार्‍यो ।

७८औं मिनेटमा डे ब्रुएनाको पासमा जेससले गोल गर्दै खेल बराबरी गरे । त्यसको ५ मिनेटपछि सिटीले पेनाल्टीको अवसर पायो । रियलका ड्यानी कार्भाजलले रहीम स्टरलिङलाई फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका थिए । डे ब्रुएनाले पेनाल्टीलाई गोलमा परिणत गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

एक गोलले पछि परेको रियललाई ८६औं मिनेटमा अर्को झड्का लाग्यो । रियलका कप्तान रामोसले सिटीका जेससलाई फउल गरेपछि रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाए । रातो कार्डपछि रामोसले दोस्रो लेगको खेल पनि गुमाउने छन् ।

दोस्रो लेग मार्च १७ मा सिटीको घरेलु मैदानमा हुनेछ । सिटीले अब घरेलु मैदानमा हार टारेमा क्वाटरफाइनल यात्रा तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment