Comments Add Comment

नेपालको प्रदर्शन किन यति कमजोर ?

१८ फागुन, काठमाडौं । ‘के बिग्रिएको हो मलाई थाहा छैन । विश्वास गर्नुस्, मलाई थाहा नै छैन … छिट्टै जितको बाटोतर्फ जानेछौं भन्ने आशा छ । एउटा बाटो टुङ्गिनु भनेको संसार नै टुङ्गिनु होइन । हामी पुनः लड्नेछौं’ थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल हङकङसँग ४३ रनले पराजित भएपछि पूर्वकप्तान तथा प्रशिक्षक विनोद दासले ट्विट गरे ।

उनीजस्तै नेपाली क्रिकेटलाई पछ्याइरहेकाहरु प्रश्न गरिरहेका छन्, साच्चै के गलत भइरहेको छ ?

थाइल्याण्ड पुग्दा नेपालको लक्ष्य इस्टर्न रिजनको च्याम्पियन बन्ने र एसिया कप खेल्ने थियो । प्रतियोगितामा प्रतिस्पर्धी देशहरु मलेसिया, हङकङ, सिंगापुर र थाइल्याण्ड आफैंमा नराम्रो टिम होइन, तर नेपालले जुन लेभलमा क्रिकेट खेलिरहेको छ, त्यसअनुसार च्याम्पियन बन्ने लक्ष्य स्वाभाविक थियो ।

तर शनिबार पहिलो खेलमा मलेसियासँग हारेको नेपाल आइतबार हङकङसँग पराजित हुन पुग्यो र, एसिया कपमा छनोट नहुने सम्भावना बढेको छ । किनकी मलेसियाको ४ तथा हङकङ र सिंगापुरको समान २–२ अंक जोडिसकेका छन् ।

अब नेपालले बाँकी दुई खेल जितेर मात्र पुग्दैन, अन्य खेलाको नतिजा पनि कुर्नुपर्नेछ ।

अब कुरा गरौं खेलको ।

आइतबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा १५४ रन बनायो । पहिलो विकेटका लागि निजाकात खान र शाहिद साविसफले ५८ रनको साझेदारी गर्दै हङकङलाई राम्रो सुरुवात दिलाएका थिए । तर आठौं ओभरको पाँचौं बलमा सुशन भारीले साझेदारी तोडेपछि नेपाल खेलमा फर्कियो र हङकङलाई मध्यम स्कोरमा रोक्न सफल भयो ।

तर १५५ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभर ब्याटिङ गर्न सकेन । ११ बल बाँकी छँदा १११ रनमा अलआउट भयो र हङकङसँग ४३ रनले पराजित भयो ।

यसअघि ओपनिङमा चुक्दै आएको नेपालको पछिल्लो पटक मध्य र तल्लो क्रममा पनि समस्या देखिएको छ । आइतबार पनि त्यही भयो । पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले ४२ रनको साझेदारी गरेका थिए । पावर प्लेमा पनि ४९-१ को आरादायी अवस्थामा थियो । त्यसपछि नेपाली इनिङ्स लडखडायो । हङकङका हारुन अर्सद, अफतान हुसेन र एहसान खानले घातक बलिङ गरेपपछि नेपालले थप ६९ रन जोड्दा ९ विकेट गुमायो ।

कप्तान ज्ञानेन्द्र क्रिजमा हुँदासम्म नेपालको आशा बाँकी थियो । तर १५ औं ओभरको तेस्रो बलमा मल्ल व्यक्तिगत ४६ रनमा आउट भएकासँगै नेपाल हारतर्फ उन्मुख भयो ।

नेपालका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् भने एकले खाता नै खोल्न सकेनन् ।

अर्को विचार गर्नुपर्ने विषय नेपालका ९ खेलाडी क्याचआउट भएका छन् । एक खेलाडी मात्र एलबीडब्लूको शिकार भए । १० मध्ये ९ खेलाडी क्याचआउट हुनुले ब्याट्सम्यानले खराब सट खेले भन्ने अनुमान लगाउन सकिन्छ ।

शनिबार मलेसियाविरुद्ध पनि नेपालले १५५ रनकै लक्ष्य पछ्याउँदा १३२ रनमा अलआउट भएको थियो । तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दासमेत नेपाल लक्ष्यसम्म पुग्न सकेनन् ।

कप्तान मल्लले ब्याटिङमा सुधारिएको प्रदर्शन गर्दा अन्य खेलाडीले साथ दिन सकेका छैनन् । यसै प्रतियोगितामा पहिलो पटक ओपनिङ गरेका युवा अलराउण्डर कुशल मल्ल मलेसियाविरुद्ध खाता नखोली आउट भएका थिए । हङकङविरुद्ध उनले राम्रो खेल्ने प्रयास गरेका थिए । तर १९ रन बनाएर आउट भए ।

निवर्तमान कप्तान पारस खड्काले दुवै खेलामा राम्रो ब्याटिङ गर्न सकेका छैनन् । दीपेन्द्रले पहिलो खेलमा ३८ रन बनाए पनि दोस्रो खेलमा दोहोरो अंक छुन सकेनन् । आरिफ शेख, पवन सर्राफ, विनोद भण्डारीको प्रदर्शन देखिएको छैन । कुनै समयमा हार्ड हिटर उपनाम पाएका करण केसीले पनि त्यो प्रदर्शन देखाएनन् ।

बलिङमा सन्दीप लामिछाने बाहेक अरु खेलाडीको प्रदर्शन कमजोर देखिएको छ । करण केसीले दुवै खेलमा आफ्नो स्तरअनुसार बलिङ गर्न सकेनन् । सुशन भारीले हङकङविरुद्ध २ विकेट लिएपनि महाँगा सावित भए भने अभिनाश बोहोराले हङकङविरुद्ध किफायती बलिङ गरेपनि विकेट लिन सकेनन् ।

यो त भयो देखिएको कुरा ।

मुख्य प्रश्न चाहिँ नेपालको प्रदर्शन किन यति कमजोर भयो भन्ने हो ।

‘यही कारण हो भनेर त म पनि भन्न सक्दिनँ । म पनि जवाफको खोजीमा छु’ यू–१९ का प्रशिक्षक समेत रहेका पूर्वकप्तान दास भन्छन्, ‘तर यो एक वर्ष राम्रो रहेन । हामीले धेरै परीक्षण गर्‍यौं, तैपनि परिणाम राम्रो आएन । केही न केही मिस्टेक त छ ।’

नेपाली खेलाडीहरुमा क्षमता नभएको होइन । उनीहरुकै बलबुताले नेपाली क्रिकेटले पछिल्ला वर्षहरुमा एकपछि अर्को खुड्किलो चढेको छ । एकदिवसीय मान्यता समेत पाएको छ । अहिले टिममा परेका हरेक खेलाडी प्रदर्शनकै आधारमा छानिएका हुन् । तर त्यो लेभलको कन्फिडेन्ट कायम राख्न सकेको देखिन्न ।

प्रशिक्षक दास भन्छन्, ‘प्रतियोगिताको तयारीका क्रममा हामी के गर्‍यो, अरुले के गरे भन्ने पनि हेर्नुपर्छ ।’

११ वर्षपछि नेपाललाई हराएको मलेसिया हालै मात्र नेपाल आएर सिरिज खेलेको थियो । हङकङसँग पनि पाँच म्याचको सिरिज खेल्यो र, क्लिन स्वीप नै गर्‍यो । घरेलु क्रिकेटमा पनि निकै जोड दिएको छ । हङकङको पनि तयारी राम्रै थियो ।

तर नेपाली टोली भने त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण गरेर थाइल्याण्ड गएको थियो । पूर्वकप्तान दास भन्छन्, ‘हाम्रो खेलाडीहरुले लिग त खेल्छन् तर एउटा लिगमा ५ खेल हुन्छ । सिनियरले सबै खेल खेले पनि अरुले २–२ वटामा मौका पाउँछन् ।’

‘तीन चार महिनासम्म अर्को खेल हुन्न । त्यसबेलासम्म कि त उसको कन्फिडेन्स पखालिसकेको हुन्छ कि फेरि पोलिस गर्न त्यति नै समय लाग्छ’ उनले अघि भने, अब दीर्घकालीन योजना बनाउनुपर्छ, २४-२५ जना क्रिकेटरलाई लामो समय प्रशिक्षणमा राखेर घोट्नुपर्छ, उनीहरुलाई तिर्खानुपर्छ ।’

नेपाली राष्ट्रिय टिमका अर्का पूर्वकप्तान पवन अग्रवालले नेपालको हारमा ब्याटिङ नै कमजोर भएको बताए । ‘दुई खेलमा पराजित हुनु पक्कै पनि कमजोर ब्याटिङकै कारण हो ।’ नेपालमा तीन वटा फ्रेन्चाइज टी२० लिग हुँदा पनि नेपालले राम्रो प्रदर्शन गर्न नसकेको अग्रवालले बताए ।

उनले किन कमजोर भएको भन्ने यही कारण नभए पनि नेपाली टिम मानसिक रुपमा तयार हुन नसकेको बताए । ‘अहिले प्रशिक्षक देखि ओभर अल टिम कम्पोजिसन परिवर्तन भइरहेको छ । हाम्रो माइन्ड सेट राम्रो नभएको हो कि जस्तो लाग्यो’ उनले विपक्षी टिम पनि त्यति ठूलो नभएको भन्दै नेपाली टिम नै राम्रो सेटअफमा नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment