Comments Add Comment

वुहानबाट फर्केकी भारतकी प्रथम कोरोना संक्रमितको कथा

१९ फागुन, काठमाडौं । मेडिकलको पढाइ गरिरहेकी २० वर्षीया राफिया (परिवर्तित नाम) भारतमा कोरोना भाइरसको पहिलो संक्रमित हुन् । दक्षिण भारतको केरलाको एक अस्पतालमा उनी कोरोना भाइरस संक्रमित रहेको पाइएको थियो । हालै उनले आफ्नो कहानी सार्वजनिक गरेकी छिन् ।

उनी अन्य चार जनासँगै अस्पतालमा भर्ना भएकी थिइन् । पछि बाँकी सबै डिस्चार्ज भए । तर, उनको भने नतिजा आउन ढिलाइ भइरहेको थियो । उनी भन्छिन्, ‘मेरो परीक्षणको नतिजा आउन ढिलाइ भइरहेको थियो । मलाई कसैले केही पनि बताइरहेका थिएनन् ।’

उनलाई एकान्तमा राखिएको थियो । जहाँ उनी धैर्यताका साथ प्रतीक्षा गरिरहेकी थिइन् । यत्तिकैमा उनको मोबाइलमा एक म्यासेज आयो ।

‘एकजना साथीले टीभी समाचारको एक क्लिप रेकर्ड गरेर मलाई वाट्सएपमा पठाएका थिए,’ उनले भनिन् ।

त्यो समाचार एक मेडिकल विद्यार्थीको विषयमा थियो, जो चीनको वुहानबाट आएकी थिइन् र कोरोना भाइरसको टेस्टमा पोजेटिभ अर्थात् कोरोना भाइरसको संक्रमित भएको पाइएको थियो ।

राफियालाई यो कुरा राम्रोसँग थाहा थियो कि त्यो उनैका बारेमा आएको समाचार हो । उनी भन्छिन्, ‘मलाई टीभी समाचारबाट थाहा भयो कि म कोरोना भाइरस पीडित हुँ ।’

३० जनवरीमा उनलाई भारतमा कोरोना भाइरसको पहिलो बिरामि घोषणा गरिएको थियो ।

प्रशासनको कदम

उनलाई समाचारको विषयमा थाहा भएको एक घण्टाभित्रमा एक डाक्टर आएर कोरोना भाइरसको संक्रमण भएको जानकारी दिँदै उपचारका लागि अझै केही समय अस्पतालमा बस्नुपर्ने बताए । तर, उनी डराइनन् । उनी भन्छिन्, म ठीक थिएँ । त्यतिबेलासम्म धेरै मानिसको सफल उपचार भइसकेको थियो ।

‘मलाई थाहा थियो कि यो भाइरस वृद्ध र श्वासप्रश्वासको समस्या भएका मानिसका लागि ठूलो खतरा हो । म शान्त थिएँ र सकारात्मक कुरा मात्र सोचिरहेकी थिएँ ।’

प्रशासनले तत्काल कोरोना भाइरसविरुद्ध कदम चाल्यो र उनलाई २५ जनवरीमा भारत आएपछि भेटेका सबै मानिसहरुका बारेमा सोधपुछ शुरु ग¥यो ।

एकान्त बास

राफियाको परिवारले पनि धेरै समस्याको सामना गर्नुप¥यो । उनकी आमालाई मेडिकल कलेजको एक छुट्टै वार्डमा एकान्तमा राखियो । जहाँ राफियाको पनि उपचार चलिरहेको थियो । तर, उनीहरु एकअर्कालाई भेट्न भने सक्दैनथे । उनका पिता र भाइलाई पनि घरमा एकान्तमा राखिएको थियो ।

‘भाइरस लिएर घुम्नुभन्दा एकान्तमा रहनु नै राम्रो हो,’ उनी भन्छिन् । आफ्नो कारणले अरु कसैलाई यो भाइरस सरोस् भन्ने आफूले नचाहेको उनले बताइन् ।

उनलाई सामान्य खाना दिइन्थ्यो र अस्पतालको रुम पनि दिनमा दुईपटक सफा गरिन्थ्यो । डाक्टर र नर्सहरु कुनै झन्झट र डर नमानिकन उनीसँग कुरा गरिरहेका थिए ।

‘उनीहरु परीक्षणका लागि आउने बेला प्रोटेक्शन गाउन लगाएर आउँथे । उनीहरु धेरै असल थिए ।’

चीनमा कोरोना भाइरसको महामारी देखेका कारण राफिया यसको मेडिकल प्रक्रियाका विषयमा जानकार थिइन् ।

वुहानदेखिको यात्रा

राफिया विगत तीन वर्षदेखि वुहानमा मेडिकल साइन्स पढ्दै आएकी थिइन् । ‘९ जनवरीसम्म हाम्रो क्लास थियो र मेरो सेमेस्टरको परीक्षा पनि चलिरहेको थियो । त्यसपछि हामी चार साताको छुट्टीमा जाने तयारीमा थियौं,’ उनले भनिन् ।

भाइरस निस्किएको आधा महिना बित्यो । भाइरसको कारण मृत्यु हुनेको संख्या बढिरहेको थियो । हल्लाहरु पनि तीव्ररुपमा सबैतिर फैलिरहेको थियो । यसैक्रममा २० जनवरीमा राफियाले वुहानबाट भारत फर्किने निर्णय गरिन् र फ्लाइटको टिकट काटिन् । यो भारत सरकारले आफ्ना नागरिकलाई बचाउन विमान पठाउनुअघिको कुरा हो ।

वुहान पूर्णरुपमा बन्द हुनु पहिला नै त्यहाँबाट राफिया बाहिरिइन् । वुहानबाट उनी कोलकाता एयरपोर्टमा झरिन् र त्यहाँबाट कोच्चीका लागि अर्को टिकट लिइन् ।

स्क्रिनिङमा देखिएन भाइरसको लक्षण

राफिया भन्छिन्, ‘कोलकाता एयरपोर्ट र कोच्ची एयरपोर्टमा मेरो थर्मल स्क्रिनिङ भयो । तर, भाइरसको लक्षण भने देखिएन ।’

अर्को दिन चीनको बेइजिङमा रहेको भारतीय दूतावासले चीनबाट आएका सबैको मेडिकल परीक्षण गराउन पत्र काट्यो । उनले जिल्ला स्वास्थ्य अधिकारीसँग भेटिन् । चेपअपमा कुनै चिन्ताजनक अवस्था देखिएन ।

तर, दुई दिनपछि २७ जनवरीमा उनी बिहान उठ्दा उनको धाँटीमा समस्या देखियो । उनलाई केही गडबढी छ भन्ने थाहा भयो । उनी अस्पतालमा भर्ना भइन् र परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइयो ।

‘आफूमाथि नै भरोशा थियो’

करिब २० दिन राफिया एक सानो कोठामा सीमित रहिन् । उनी एक सानो झ्यालबाट बाहिरको संसार हेर्थिन् ।

‘त्यतिबेला मलाई विश्वास थियो कि मेरो शरीरको प्रतिरक्षा प्रणाली कोरोना भाइरससँग लड्न सक्छ’, उनी भन्छिन् । अहिले पनि राफिया र उनको परिवार पनि आफ्नै घरमा बन्द कोठामा छन् । उनीहरु अझै केही दिनसम्म यसरी नै बस्नेछन् ।

राफिया भन्छिन्, ‘मेरो जिन्दगीमा यो नयाँ अनुभव थियो । मलाई आफ्नै चिन्ता थिएन । तर, परिवार र साथीहरुको थियो ।’

अहिलेसम्म विश्वका ५० मुलुकमा कोरोना भाइरसको संक्रमित भेटिइसकेका छन् । विश्वभर यो भाइरसको कारण ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । यीमध्ये धेरैको ज्यान चीनमा गएको छ ।

राफियाले थपिन्, ‘अवस्था सामान्य भएसँगै वुहान फर्किन्छु र आफ्नो ५ वर्षको कोर्स पूरा गर्छु ।’ उनले यो घटनाबाट निकै ठूलो पाठ सिकेकी छिन् ।

‘म जब डाक्टर बन्छु, त्यसपछि सबैभन्दा पहिला बिरामीलाई उसको अवस्थाका बारेमा जानकारी दिन्छु ।’

साभार– बीबीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment