१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा पुर्नस्थापना गरेर अगाडि जान सकिने बताएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बसेको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेले संसद पुर्नस्थापना गरेर जेनजीको माग सम्बोधन गरेर पनि जान सकिने बताएको हो ।
छलफलमा एमालेबाट नेता महेश बर्तौला र छितिज थेबे सहभागी थिए । उनीहरूले संसद् पुर्नस्थापनाको विषय राखेको हो ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले एमालेको तर्फबाट संसद पुर्नस्थापनाको विषय प्रस्तुत भएको जानकारी दिए । नेता पाण्डेका अनुसार एमालेका नेताहरूले भनेका छन्, ‘संसद पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गरेर जान पाए हुन्थ्यो ।’
साथै, एमालेका नेताहरूले निर्वाचन गराउन अझै वातावरण बनेको छैन भन्ने विषय समेत राखेको छ ।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । तय भएको चुनाव गराउने वातावरण बनाउने प्रयास अन्तर्गत बुधबार प्रधानमन्त्री कार्कीको आह्वानमा त्रिपक्षीय छलफल भएको हो ।
एक जेनजी अगुवाकाअनुसार एमालेका तर्फबाट महेश बर्तौला र क्षितिज थेवेले संसद विघटन गलत रहेको बताएका थिए । ‘अरु दलले चुनाव हुनुपर्ने कुरालाई खासै आपत्ति जनाउनुभएन । तर, एमालेले सुरुमा फरक धारणा राख्यो,’ छलफलमा सहभागी ती जेनजी अगुवाले भने, ‘संसद् पुनर्स्थापना हुनुपर्छ भन्ने आशयको कुरा आयो । संसद विघटन गलत छ । यो असंवैधानिक हो भनेर उहाँहरूले भन्नुभयो ।’
तर, जेनजीका प्रतिनिधिले यसलाई खण्डन गरे । त्यसपछि अन्य दलले पनि यस विषयमा खासै प्राथमिकतामा नलिएपछि संसद पुन:स्थापनाको विषय त्यहीँ सकिएको ती अगुवाले बताए ।
प्रतिक्रिया 4