Comments Add Comment

विपद व्यवस्थापनमा बजारको भूमिका

विपदपछि कुनै सामाग्री र सेवाको माग एक्कासी बढ्छ भने कुनैको माग ठप्प हुन्छ । जस्तो- २०७२ सालको भूकम्पपछि केही समयसम्म त्रिपालको माग हृवात्तै बढ्यो ।

बजार धेरै संवेदनशील हुन्छ । त्यसैले स-साना घटनाबाट पनि बजारमा असर पर्छ । कुनै असरहरू अल्पकालीन र कुनै दीर्घकालीन हुन्छन् । विपदका समयमा कुनै सामान अब पाइन्न कि भनेर मानिसहरूले बढी खरिद गर्न लागेर वा व्यापारीहरूले महंगोमा बेच्न कृत्रिम अभाव सिर्जना गरेर पनि माग र आपूर्तिमा असन्तुलन हुन्छ ।

बजार संयन्त्रले विश्व समुदायलाई एकापसमा जोडेको छ र अन्तरनिर्भर बनाएको छ । त्यसैले कुनै ठाउँको विपदका असरलाई बजारले ठूलो भौगोलिक, सामाजिक क्षेत्रमा फैलाइदिन्छ । बजार प्रणालीमा परेको विपदको असरले शुरुमा विपदको प्रभावमा नपरेकाहरू पनि पछि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित हुन सक्छन् । उत्पादनदेखि उपभोगसम्मको श्रृंखलामा बजारका विभिन्न अवयवहरूबीच बहुआयामिक अन्तरसम्बन्ध र अन्तरक्रियाहरु हुन्छन् ।

सन् २०१९ मा राष्ट्रसंघीय विपद जोखिम न्यूनीकरण सचिवालय (युएनडीआरआर) ले प्रकाशित गरेको विश्वका विपद घटनाहरूको विश्लेषण अनुसार खडेरी जस्ता प्रकोपका मूर्त र अमूर्त दुबै किसिमका असर हुन्छन् । मूर्त असरहरूले तत्कालै बजारमा प्रभाव देखाउँछन् ।

दीनानाथ भण्डारी

विपद प्रभावित बजारमा सिण्डिकेट सकृय हुन सक्छन् । तिनले सामाग्री र सेवाहरूमा कार्टेलिङ्ग, कालोबजारी गर्न सक्छन् । साथै, दैनिक अत्यावश्यक वस्तु वा सेवाको कृत्रिम अभाव, मुल्यबृद्धि जस्ता प्रकरणहरू उत्पन्न हुन सक्छन् जसले विपदका असरलाई थप गम्भीर बनाउँछन् । फलतः विपद प्रभावित समुदायले दोहोरो असर भोग्नुपर्छ । दोहोरो प्रतिकूल प्रभावमा पर्नेहरू प्रायः सीमान्तकृत समुदाय नै हुन्छन् । दैनिक ज्यालादारीमा गुजारा गर्नपर्ने मानिसहरू सबैभन्दा बढी प्रभावित हुन्छन् ।

अर्कोतर्फ, सबल, व्यवस्थित र उपभोक्ता मैत्री बजार प्रणालीले समुदायलाई विपद् सामना गर्न सक्षम बनाउँछ । व्यवस्थित बजारले बस्तु र सेवाको उचित परिपूर्ति गरी विपदका कारण उत्पन्न विषम परिस्थितिलाई कम गर्न र जनजीवन सुचारु गर्न सघाउँछ ।

बजारमा पुनर्जागि्रत हुने उत्थानशील क्षमता पनि उत्तिकै राम्रो हुन्छ । विश्व बैंकको सन् २०१० मा प्रकाशित एक प्रतिवेदन अनुसार विपदका घटनापछि सरकारी खर्चमा बृद्धि हुन्छ र बजारमा सकारात्मक प्रभाव पर्छ । विपद उद्धार, प्रभावितहरूका लागि अस्थायी आश्रय र राहतका लागि उत्पादन, ढुवानी, भण्डारण र वितरणमा काम हुँदा बजार पुनः सकृय हुन्छ । पुनर्निर्माणको चरणमा प्रायः बजार अर्थतन्त्र पुनर्जीवित हुन्छ ।

बढ्दो चासो

विपदले बजार प्रणालीमा के-कसरी, कस्तो असर पार्न सक्छ भनेर नेपालमा पर्याप्त अध्ययन भएको छैन । विपद व्यवस्थापनसम्बन्धी अध्ययन, नीति र योजनाहरू प्रायः व्यक्ति, घरपरिवार र सरकारी निकाय सम्बन्धित क्षेत्रमा केन्द्रीत छन् । बजारको विपद संवेदनशीलता र विपद् व्यवस्थापनमा बजार प्रणालीको भूमिका बारेको चासो विस्तारै बढ्न थालेको छ ।

सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी अफ डिजास्टरले यसका साझेदारहरूसँग मिलेर गरेका विश्वमा भएका विपदहरूका पुनरावलोकनहरूमा विपदका आर्थिक प्रभावहरू गरीव देश र गरीव मानिसहरूमा बढी परेको पाइएका छन् । यसमा बजार प्रणालीको पनि भूमिका हुन्छ । विपदको प्रत्यक्ष जोखिममा रहेका समुदायको साथै उद्यम र बजारमा पनि विपदका जोखिम कम गर्न ध्यान दिनु आवश्यक छ ।

विगत केही वर्षयता विपद प्रभावितहरूलाई राहत वितरण गर्दा केही नगद र केही जिन्सी दिनुपर्छ भन्ने सोचको विकास हुन थालेको छ । नगद दियो भने उनीहरूले आˆनो आवश्यकता अनुसार स्थानीय बजारमा पाइने वस्तु र सेवा किन्न सक्छन् । यसबाट बजार सुचारु हुन्छ र स्थानीय जनताका सेवा र उत्पादनले बजार पाउने सम्भावना बढ्छ भन्ने मान्यता छ ।

विपदबाट व्यवसायहरूमा पनि नोक्सानी हुन्छ । विपदमा परेर कतिपय उद्योग व्यवसायहरू पुनस्र्थापित हुन नसक्ने गरी नष्ट हुन्छन् । जोखिम स्थानान्तरण गर्ने वीमा लगायतका उपाय अपनाएका छैनन् भने व्यवसाय थला पर्न सक्छ । व्यक्ति र परिवारजस्तै उद्योग, व्यवसाय पनि भिन्न-भिन्न किसिमले विपदको जोखिममा रहेका हुन्छन्, कोही कम त कोही बढी प्रभावित हुन्छन् ।

इलिनोइस विश्वविद्यालयका योङ झाङ, टेक्सास विश्वविद्यालयका माइकल लिण्डेल र शार्ला प्राटरले सन् २००७ मा गरेको संयुक्त अध्ययनले व्यवसायमा पुँजी, आपूर्तिकर्ता, ग्राहक र श्रमिकसँग सम्बन्धित विपद जोखिम रहेका हुन्छन् भन्ने अवधारणा प्रस्तुत गरेको छ । त्यस्तै, व्यवसायको अवस्थिति, भौतिक संरचना, आसन्न समुदायको अवस्था आदिले प्रकोपका असरलाई कम वा बढी गराइदिन सक्छन् । विपद्को जोखिममा सबै व्यवसाय छन् । ता पनि विपदबाट स-साना उद्यमहरू बढी प्रभावित हुन्छन् ।

गत बैशाखमा बारा र पर्सा जिल्लामा आएको चक्रवातले जनधनको क्षति गर्‍यो । त्यसले केही उद्यमीका कुखुरापालन फाराम, ईंटा भट्टा पनि नष्ट गरिदिएको थियो । किनभने, उनीहरूले आफ्ना उद्यमको विमा गरेका थिएनन् । त्यहाँ काम गर्ने मजदुरहरूले रोजगारी र आय स्रोत गुमाए, अझ बढी प्रभावित भए ।

व्यक्तिगत घरबास र सम्पत्तिको क्षतिमा राहत सहयोग गर्ने प्रयास हुन्छन् । तर, उद्योग व्यवसायलाई यस्तो राहत सहयोग बिरलै उपलब्ध हुन्छ । हामी उद्योगी, व्यवसायीहरूलाई विपदका बेला सहयोग गर्ने दाता ठान्छौं । तर, उनीहरू पनि विभिन्न कारणले विपदको जोखिममा रहेका हुन्छन् ।

मानवीय सहायता र बजार

विपदपछि तत्कालै गरिने मानवीय सहायता, खास गरी राहत परिचालनमा बजारको क्रिया-प्रतिक्रिया भइरहन्छ । मानवीय सहायता स्वरुप बाहिरबाट अनियन्त्रित रुपमा भित्रिने सामाग्रीले स्थानीय बजारमा असन्तुलन ल्याउँछ । एकातिर स्थानीय उत्पादनले बजार नपाउने, तर अर्कोतिर बजारबाट किन्नुपर्ने बस्तुको मूल्यवृद्धि हुन्छ । अन्ततः समुदायले पुनर्लाभ गर्न सक्ने क्षमता क्षीण गरिदिन्छ ।

नेपालमा सम्बत् २०७२ सालको भूकम्पपछि राहत बाँड्न शुरु भएपछि स्थानीय किसान र व्यापारीहरूका केही सामान बिक्री भएनन् । २०७१ र २०७४ को बाढीपछि पनि यस्तै भयो । राहत वितरणमा स्थानीय बजारलाई ध्यान दिइँदैन । राहतका लागि चामल नेपाल खाद्य संस्थानबाट किन्न सकिन्थ्यो । हाम्रो देशमा बाढी, पहिरोजस्ता प्रकोप घटनामा बाटो बन्द भएर किसानहरूको दूध, तरकारी बिक्री नभएर पोख्नुपर्छ । अर्कोतर्फ, उपभोक्ताले खान नपाउने अवस्था हुन्छ ।

तर, यी प्रभावहरू कम गर्न नसकिने भने होइन । विपदबाट बजारमा पर्ने असरहरू कम गर्ने पूर्वकार्यहरू गर्नुपर्छ । साथै, विपद् सामना गर्दा बजारका प्रतिकूल क्रिया-प्रतिक्रिया कम गर्ने र मानवीय सहायता र बजारको सन्तुलन मिलाउने पूर्वतयारीका उपायहरू छन् । प्रभावित समुदायमा बस्तु र सेवाको वास्तविक आवश्यकता पहिचान गरी राहतको उचित व्यवस्थापन गर्नुपर्छ ।

अहिले मौसमजन्य प्रकोपहरूको पूर्वानुमान सम्भव भएको छ । पूर्वानूमान प्राप्त भएपछि घटनाको प्रकृति र सम्भावित असरका साथै बजारको परिदृश्य पनि आँकलन गर्नुपर्छ । तत्कालै, एक हप्तासम्म र एक महिनासम्म पर्न सक्ने आवश्यकताहरूको परिमाण लेखाजोखा गर्नुपर्छ । व्यवसायीहरूसँग समन्वय गरी स्थानीय बजारमा उपलब्ध भएकोबाट नपुग हुने सामग्री मात्र बाहिरबाट जुटाउनुपर्छ ।

यसका लागि पहिलो, विपद् जोखिममा रहेका समुदायको यथार्थ विवरण अद्यावधिक गरी राख्नुपर्छ । दोस्रो, सामान्य अवस्थामा बजारको अवस्था नक्शांकन गरी त्यसमा विपदबाट पर्न सक्ने असरको गहन विश्लेषण गरेर विपदपछिको बजारको अवस्थाको आँकलन गर्नुपर्छ । र, अन्तमा, परिलच्छित विपद अवस्था ध्यानमा राखी आवश्यक राहत सामग्रीहरूको पूर्वभण्डारण वा आपूर्तिकर्ता व्यवसायीहरूसँग अनुवन्ध करारजस्ता रणनीतिहरू अवलम्वन गर्नुपर्छ । राहत दिँदा स्थानीय बजारमा पाइने सामग्री, सेवा किन्न नगद दिने र सामग्री दिँदा उपलब्ध भएसम्म स्थानीय उत्पादन खरिद गरी वितरण गर्ने नीति लागु हुनुपर्छ ।

बजार अनुगमन, नियमन र नियन्त्रण गरी सिण्डिकेट, कार्टेलिङ र कालोबजारी निराकरण गर्न जरुरी छ । अनावश्यक राहत सामग्री प्रवाह हुनबाट र कृत्रिम अभाव सिर्जना गर्नबाट रोक्नुपर्छ । विपद् पश्चात् यथाशीघ्र बजार सुचारु गरी सामाग्री र सेवाहरू स्थानीय बजारमार्फत् परिचालन गर्न सकिने पद्दति बसाउनुपर्छ ।

यी सबैका लागि हरेक तहमा सुशासन, समुदायको सकृय निगरानी र सचेत उपभोक्ता व्यवहार आवश्यक हुन्छ । बजार प्रणाली विपद व्यवस्थापनको महत्वपूर्ण पक्ष हो । हाम्रा विपद व्यवस्थापनका नीति, रणनीति, राहतका विधि र मापदण्डहरूमा स्थानीय बजारलाई प्रणालीलाई ध्यान दिन जरुरी छ । स्वावलम्बी, किफायती र प्रभावकारी बजार प्रणालीले आसन्न समुदायको विपद उत्थानशीलता बढाउन मद्दत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment