Comments Add Comment

नेकपाकाे सुखानी स्मृतिसभा स्थगित

२१ फागुन, काठमाडौं । झापा आन्दोलनका क्रममा हत्या गरिएका किसान नेताहरूको स्मृतिमा केन्द्रीयस्तरबाट आयोजना गरिएको स्मृतिसभा स्थगित भएको छ । यद्यपि, नेकपानिकट विद्यार्थीले भने सुखानी पुगेर स्मृतिमा कार्यक्रम गर्दैछन् ।

कोरोना भाइरसको जोखिमसँग बच्न सभा, सम्मेलन र भेला नगर्न सरकारले आग्रह गरेपछि शीर्ष नेता सम्मिलित सुखानीको स्मृतिसभा स्थगित भएको हो ।

नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले कार्यक्रम स्थगित भएकाले सुखानी नजाने जनाएको छ ।

कोरोनाका कारण नेकपा र यसका भातृसंगठनहरूका कार्यक्रमहरू प्रभावित भएका छन् । मंगलबार नै झापाको बिर्तामोडमा निर्धारण गरिएको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण पनि स्थगित भएको थियो । नेकपानिकट राष्ट्रिय युवा संघ नेपालले पनि जमघट हुने सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ ।

झापा आन्दोलनका क्रममा ०२९ सालमा आजकै दिन त्यसका ५ अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको सुखानीको जंगलमा गोली हानी हत्या गरिएको थियो । झापा जेल परेका उनीहरूलाई इलाम सार्ने निहुँमा गरिएको हत्या प्रकरण सुखानी हत्याकाण्डका नामले चिनिन्छ ।

खासगरी तत्कालीन एमालेले यिनको स्मृतिमा हरेक वर्ष कार्यक्रम गर्ने गरेको थियो । तत्कालीन विद्रोही माओवादीले भने जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल मारिएको फागुन १४ र सुखानी हत्याकाण्डको दिन फागुन २१ लाई समेटेर ८ दिनसम्म शहीद सप्ताहका रूपमा मनाउने गरेको थियो । तत्कालीन एमाले र माओवादी एकतापछि पनि यसले निरन्तरता पाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment