Comments Add Comment
पर्यटन व्यवसायमा कोरोनाको सन्त्रास :

भुइँचालो बिर्साउने सुनसान ठमेल !

व्यापारी फुर्सदिला, पर्यटन व्यवसायी झन् फुर्सदिला

२१ फागुन, काठमाडौं । सधैंभरि विदेशीले भरिभराउ हुने ठमेलका गल्लीहरु यतिबेला सुनसान प्रायः छन् । विश्वभरि फैलिएको नोभेल कोरोना भाइरसको आतंकसँगै बन्द भएको पर्यटक आवागमनका कारण ठमेलमा विदेशीहरुको चहल पहल घटेको हो ।

बाटामा बसेर सारंगीको धुनले पर्यटक लोभ्याउनेहरु यतिबेला बेपत्ता छन् । सधैंजसो भ्याई नभ्याई हुने ठमेलका व्यापारीहरु यतिबेला मोबाइलमा झुमेर दिन कटाउन बाध्य छन् ।

काश्मिरबाट काश्मिरी हस्तकलाका सामग्री बेच्न ठमेलमा आएका रिजवन आरिफ आफ्नो १५ वर्षको व्यापारको सिलसिलामा अहिलेजस्तो संकट कहिल्यै नदेखेको सुनाउँछन् । ‘व्यापार छैन, यही मोबाइलका साथमा दिन बित्ने गरेको छ,’ उनी भन्छन्, ‘चारवर्ष अघि विनाशकारी भूकम्पका बेलामा बाहेक त्यसपछि बिस्तारै व्यापारले पुरानै लय समात्दै आएको थियो । अहिले कोरोनाको त्रासका कारण ८० प्रतिशत व्यापारमा गिरावट आएको छ ।’

एकाध विदेशी पर्यटकहरु अहिले पनि ठमेलका गल्लीमा भेटिन्छन् । चीनको वुहानबाट कोरोनाको संक्रमण अरु मुलुकमा प्रवेश गर्नुपूर्व नै नेपाल आएको बताउने ती विदेशीहरु पनि अब फर्किने तयारीमा रहेको सुनाउँछन् । त्यसबाहेक ठमेल समग्रमा भन्दा यतिबेला सुनसान छ ।

भक्तपुरका सुमन मुनाकर्मी अहिले समग्र व्यापारको दुई तिहाईभन्दा धेरै कम भएको बताउँछन् । ‘पहिले दैनिक १० हजार रुपैयाँसम्म हुन्थ्यो । तर, अहिले १५ सयदेखि दुई हजारको हाराहारीमा हुन्छ । त्यो पनि कहिलेकाहीँ बन्दै हुन्छ ।

फुर्सदिला पर्यटन व्यवसायी

२० वर्षको आफ्नो ठमेलको व्यापारिक अनुभवमा अहिलेको जस्तो संकट कहिल्यै नआएको उनी बताउँछन् । पत्रिका पढेर बसिरहेका उनको पसलमा टिसर्ट र नेपाली पस्मिना पाइन्छ । चीनबाट ल्याउने सादा टिसर्टहरु समेत आयात ठप्प हुँदा भारतबाट ल्याउन बाध्य भएको उनले सुनाए ।

यतिबेला ठमेलमा व्यापारीभन्दा पनि पर्यटन व्यवसायीहरु धेरै फुर्सदिला देखिन्छन् । कोरोनाको त्रासका कारण सिजन सुरु हुने बेलैमा अधिकांश विदेशी पर्यटकहरुको बुकिङ बन्द हुने क्रम बढेपछि पर्यटन व्यवसायी फुर्सदिला भएका हुन् ।

यद्यपि सन् २०२० का लागि भ्रमण वर्षको रुपमा तीब्र प्रचार गरेको सरकारले भ्रमण वर्षको पहिलो दुई महिनामा पर्यटकहरुको संख्यामा खासै गिरावट नआएको तथ्यांकमा देखिएको छ । अध्यागमन विभागले फेब्रुअरी महिनामा ०.९९  प्रतिशतले पर्यटकहरुको आगमनमा गिरावट आएको उल्लेख गरेको छ ।

तर, पर्यटन व्यवसायीहरु सो तथ्यांकलाई मान्न तयार छैनन् । यसमा विदेश गएका नेपालीहरुको संख्या समेत समावेश भएकाले वास्तविक विदेशी पर्यटकहरुको संख्यालाई हेर्ने हो भने यो संख्या निकै कम भएको उनीहरुको बुझाइ छ ।

घुम्नका लागि अनलाइनबाट बुकिङ गरेकाहरुमध्ये अधिकांशले बुकिङ रद्द गरिसक्दा पनि सरकारले खासै पर्यटनमा समस्या नभएको भनेर निकालेको प्रतिवेदनप्रति व्यवसायीहरु विश्वास गर्दैनन् ।

ट्रेकिङ एण्ड टुर एजेन्टहरुका संगठन नाट्टाका पूर्वमहासचिव भीम पन्त अहिले विदेशीहरुले गरेको बुकिङमध्ये ९० प्रतिशत जतिको संख्यामा रद्द भएको सुनाउँछन् । उनी यो फेब्रुअरीको अन्तिमसम्मको तथ्यांक सुनाउँदै सिजन सुरु भइसक्दा पनि ठमेल सुनसान हुनुले यो वर्ष पर्यटन व्यवसायी र सिंगो सरकारलाई नै समस्या पर्ने अवस्था रहेको बताउँछन् ।

विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार एशियामा मात्रै ७०–७५ प्रतिशत पर्यटकहरुले बुकिङ रद्द गरेको अनुमान गरिएको छ ।

संख्यात्मक हिसाबले हेर्दा सन् २०१९ को दोस्रो महिनामा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए । तर, फेब्रुअरी २०२० मा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका छन् ।

जनवरी महिनामा पनि पर्यटक आगमन १ हजार ५८७ जनाले खस्किएको थियो । कोरोना भाइरसको संक्रमणले चीनसहितका देशहरु प्रभावित बनेपछि पर्यटक आगमन खस्किन पुगेको पर्यटन बोर्डले जनाएको छ ।

तर, विशेष गरी चिनियाँ पर्यटकहरुलाई मात्रै पोखरा सौराहालगायत ठाउँमा पठाउने ग्रेट आउटडोर क्लक प्रा.लिका सञ्चालक निरज अधिकारी चिनियाँ पर्यटकहरु शून्यप्रायः भएसँगै ठमेल यतिबेला सुनसान भएको बताउँछन् । उनी भन्छन् ‘हामीले नै पर्यटकहरुलाई ठमेल, पोखरा, सौराहा जस्ता ठाउँका होटलहरुमा सम्पर्क गराउने हो । ती सबै होटलहरु सुनसान छन् ।’

अधिकारीका अनुसार अहिले चिनियाँ पर्यटकहरुको बुकिङ शतप्रतिशत जस्तै रद्द भइसकेको छ । घुम्न आइसकेका चिनियाँहरुबाहेक अरु आउन मानिरहेका छैनन् । चिनियाँ पर्यटकहरुका लागि सिजन भनेको नै जनवरी फेब्रुअरी भए पनि यही समयमा कोरोनाको प्रकोप फैलिएकाले यो वर्ष ठमेलका रेष्टुरेन्टहरुको समेत व्यापार चौपट भएको उनी दाबी गर्छन् ।

‘९७ प्रतिशतभन्दा धेरै क्यान्सिल नै छ । पहिले जो–जो आएका छन्, उनीहरु घुम्ने क्रम जारी छ । पर्यटकहरु नथपिएपछि चिनियाँहरुको होटल एवं रेष्टुरेन्टहरुको हालत धेरै बिग्रिएको छ ।’ उनी भन्छन् ‘अब कोरोेनाको संक्रमण कम भयो नै भने पनि यो वर्ष पर्यटनले त्यस्तो गति लिन्छ जस्तो लागेन ।’

सरकारी तथ्यांक अनुसार एक महिनाको अवधिमा ३ हजार २ सय ८५ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । यीमध्ये अधिकांश कामदार, प्रशासनिक तथा कूटनीतिक कामका लागि आएका व्यक्तिहरु छन् । सन् २०१९ मा १४ हजार १ सय ६१ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।  अहिले चीनबाट पर्यटक आगमन ह्वात्तै घटेको छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment