Comments Add Comment

प्रधानमन्त्रीलाई विभिन्न देशका समकक्षीको शुभेच्छापत्र

फाइल तस्वीर

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका उनका समकक्षीहरूले सफल शल्यक्रियाकाे शुभेच्छा व्यक्त गरेका छन् ।

भुटानका प्रधानमन्त्री डा. लोट्टी छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान र जापानी समकक्षी सिन्जे आवेले पत्र पठाएर प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भुटान, पाकिस्तान र जापानका प्रधानमन्त्रीले नेपालस्थित राजदूतमार्फत पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरेको अनलाइनखबरलाई जानकारी दिए ।

ओलीले विभिन्न देशका समकक्षीबाट प्राप्त शुभकामना सन्देशपत्र ग्रहण गर्दै आफ्नै हातबाट धन्यवाद पत्र पठाएका छन् ।

यसअघि ओलीका भारतीय समकक्षी नरेन्द्र मोदीले पनि सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । पहिले ट्विटरमार्फत सन्देश दिएका उनले ओली अस्पताल जानुपूर्व पत्र नै पठाएर शुभेच्छा व्यक्त गरेका थिए ।

ओलीको बुधबार बिहान मिर्गौला प्रयारोपण हुँदैछ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment