Comments Add Comment

कोरियाबाट कामना : ‘नेपालमा कोरोना संक्रमण नहोस्’

चीनको वुहानबाट फैलिएको नोवल कोरोना भाइरसले महामारीको रूप लिएको छ । विश्व नै कोरोना भाइरससंग जुधिरहेको छ । चीनमा सर्वाधिक प्रकोप रहेको कोरोनाबाट अहिले अन्य मुलुक पनि प्रभावित भएका छन् । चीनपछि कोरियामा बिरामी अत्याधिक रहेको तथ्याङ्कले देखाएको छ ।

कामको शिलशिला तथा पढाइका लागि कोरियामा नेपालीको जमात ठुलै छ । कोरोना भाइरसले महामारीको रूप लिइरहेका बेला एक साताअघि २५/३० जना मात्र संक्रमित रहेको कोरियामा हाल करिब तीन हजारभन्दा बढी संक्रमित छन् । यो संख्या दिनानुदिन बढ्दै गइरहेको छ । दैनिक पाँच /सात सयजनामा कोरोना भाइरस देखिन थालेको छ । यसले गर्दा त्यहाँका नागरिक सन्त्रासमा छन् ।

कोरियाली सरकारले उच्च सतर्कता अपनाउँदा समेत यहाँको अवस्था नाजुका बन्दै गइरहेको हो । सुन्दा सहज लागे पनि नजिकबाट यो प्रकोपको त्रास महसुस गर्न निकै कठिन छ । कोरियामा पछिल्लो समय हाइअलर्ट घोषणा गरेसँगै यहाँ भएका मानिस घर बाहिर निस्कन डराएका छन् । मार्टहरूमा समान अभाव भइसकेको छ भने कति मार्टहरु बन्द भइसकेका छन् । अनलाइन सपिङ्ग गर्न सकिने ठाउँहरुमा पनि समान अभाव देखिएको छ । चारैतिर कोरोना संक्रमित भएको म्यासेज मोबाइलमा आइरहेको हुन्छ । हरेक आउने म्यासेजले त्रास सिर्जना गर्छ । छेउछाउमै पनि कोरोना संक्रमित रहेको र उपचारार्थ अस्पताल ल्याइएको म्यासेज आउँछ ।

बुबाले ‘रक्सी खानु रे, कोरोना लाग्दैन’ भन्नुभयो । सायद फेसबुकमा लेखेको देख्नुभयो होला । अल्कोहलले हात धोए राम्रो हुने डाक्टरहरूले सुझाउँदा केही मानिसले फेसबुकमा रक्सी खाए लाग्दैन भन्दै पोस्ट गरेछन्

म पनि कोरियामै भएकाले आजभोलि घरबाट आउने फोनमा एउटै कुरा हुन्छ । कोरोनाको अवस्था के छ ? समाचार देखेर हामी डराइसक्यौँ । घरबाट ‘ज्यानभन्दा ठूलो धन होइन’ भन्दै घर आउन आग्रह गरिरहन्छन् । हिजो मात्रै आमाले फोन गरेर घर आउन भनेर भन्नुभयो । ‘हैन ठिकै छ, यहाँ म मात्रै होइन, लाखौं नेपाली विदेशमा छौं,’ आमालाई भने ।

अहिलेसम्म हामी नेपाली सुरक्षित छाैं । यत्रो ठूलो विकसित देश हो, केही त पार लगाउँला नि भन्दै जवाफ फर्काएपछि आमाको मन केही हलुङ्गो भयो होला ।

फोन राख्नै लागेको थिएँ, त्यतिकैमा बुबाले ‘रक्सी खानु रे, कोरोना लाग्दैन’ भन्नुभयो । सायद फेसबुकमा लेखेको देख्नुभयो होला । अल्कोहलले हात धोए राम्रो हुने डाक्टरहरुले सुझाउँदा केही मानिसले फेसबुकमा रक्सी खाए लाग्दैन भन्दै पोस्ट गरेछन् । सायद त्यही देख्नुभयो र भन्नुभयो होला । अघिपछि फोन गर्दा रक्सी खानु हुन्न भनेर सम्झाउने बुबाले यसरी भन्दा मन कताकता भारी हुँदोरहेछ ।

हामीलाई पनि यहाँ चट्कै छोडेर घर आउन मन नभएको त कहाँ हो र ? फेरि घर आउँन त्यति गाह्रो पनि छैन । यहाँको सरकारले ५० दिन भिसा थपेको छ । विद्यार्थी भिसामा आएकालाई कलेजले विदा नदिँदा गाह्रो भए पनि इपीएसमार्फत आएका घर जान चाहिँ सजिलो नै छ ।

अहिलेसम्म बिदा अथवा काम छोडेर घर जान कुनै रोकतोक छैन । तर, घर आउन टिकट काट्नु भन्दा पहिला देशको अवस्था, सरकारको उदासीनता झल्झली याद आउँछ ।

सामान्य झाडापखाला लाग्दा त उपचार नपाएर मृत्युको हुने देश । अझै पनि देशका धेरै ठाउँमा सिटामोल नपाएर मर्ने धेरै छन् । यस्तो अवस्थाबाट गुज्रिरहेको मेरो देशमा यदि म आफैसँग जान–अञ्जानमा कोरोना भाइरस लिएर पुगें भने के होला ? मेरा कारणले देशमा कोरोना फैलियो भने ?

चीन, कोरियाजस्ता विकसित देशहरुको त कोरोना भाइरसका अगाडि केही नलागेको अवस्थामा झन हाम्रो देशको हालत के होला ? हो, यही सम्झेर मजस्तै हजारौं नेपालीहरु काट्नै लागेको टिकट क्यान्सिल गरेर बरु जे होला, मलाई होला भन्दै भारी मन बनाएर बस्न बाध्य छौं ।

यहाँ चारैतिर कोरोना संक्रमितको बिचमा बसेर पनि पटक पटक एउटै कामना गरिरहेका हुन्छौं नेपालमा कोरोना संक्रमण नहोस् । यहाँ राज्यले हरसम्भव प्रयास गर्दा पनि दिन दुगुना र रात चौगुना कोरोना भाइरस फैलिरहेको देखेका छाैं ।

यहाँको अवस्था नजिकबाट महसुस गरिरहेका छौँ । चीनबाट ल्याइएका १००/१५० जनालाई क्वारेन्टाइन राख्न हम्यहम्य परेको सरकारले ४० हजार युवालाई कहाँ र कसरी व्यवस्थापन गर्न सक्छ ? एकदम सक्दैन् । त्यसैले यहाँ भएका युवाहरु नेपाल आउँनु भन्दा यतै बसेर घर देश सुरक्षित राख्न चाहान्छन् ।

अहिलेसम्म नेपालमा कसैलाई पनि कोरोना छैन् भन्ने समाचार आउँदा राहात मिल्छ । तर, डब्ल्यूएचओले भने बमोजिम नेपाल कोरोनाको उच्च ज्योखिममा छ ।

सरकारले बिदेश भएका मजस्ता लाखौँको उद्धार त गर्न सक्दैन् । तर, नेपालमा भाइरस छिर्न नदिन सावधानी त अपनाउन सक्छ । संक्रमित देशबाट हुने उडानहरु अरु देशहरूले रोकेका बेला नेपालले किन रोक्न सक्दैन ? कति उदासीनता देखिएको हो ? यस्तोबेला सरकारको आलोचना गर्नु छैन ।

हामीले स्वदेश फर्काउन भनेका छैनौं सुन्दा नराम्रो सुनिएला । तर, सरकार हामीलाई उद्धार गर्न सक्ने अवस्थामा छैन । तर, यो कुरा साँचो हो कि प्रधानमन्त्रीले जन्मदिन मनाउन झण्डै करोड खर्च गर्छन् । समयमा राम्रो अस्पताल पुर्‍याउन हेलिकप्टर उपलब्ध नहुँदा एक नारी अल्पायुमामै प्राण त्याग्छिन् । उता राष्ट्रपति हेलिकप्टर चढेर जम्बो टोलीसहित महोत्सव उदघाटन गर्न पुग्छिन् ।

रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह गर्ने युवाहरु जो अहिले महामारीको बीचमा छन् । यति हुँदाहुँदै पनि आफ्नोभन्दा घर परिवार र देशको चिन्ता छ । सँगै काम गर्ने साथीलाई घर जाउँ न भन्दा बरु यतै मरिन्छ तर, भाइरस लगेर स्वदेश गइँदैन भन्छन् ।

त्यो पनि छाती फुलाएर सरकार यत्रो ठूला र विशाल मन भएका नागरिकले एउटै अनुरोध गरेको छ । बस अरु चाहिँदैन, मात्रै मेरो देशलाई कोरोना भाइरसबाट बचाउन अलिकति सावधानी अपनाऊ । संक्रमित देशका नागरिकलाई आवतजावतमा रोक लगाऔं । केही समय उडान बन्द गरिदिउँ ।

यो एकजनाको हैन, मजस्तै ४० हजार कोरियामा भएका युवाको आवाज हो । नपत्याए सरकार कोरिया हुने अधिकांश युवाको फेसबुक टाइमलाइनमा गएर हेरौं ‘देश बचाउ हामीलाई फर्किनुपर्दैन भन्ने भाव प्रष्ट हुन्छ । मर्नै परे पनि स्वदेशमा मर्ने सबैको चाहना हुन्छ । तर, देशको अवस्थाले युवाहरु यसो भन्न बाध्य छन् ।

कोरियामा भएका साथीहरुसंग सामाजिक सञ्जालामा कुरा हुँदा घर नगए पनि यतै सुरक्षित बस्नुपर्छ है भन्दै आँखा रसाउँदै सु–स्वास्थ्यको कामनासहित छुट्टिँदा साँच्चिकै गाह्रो हुन्छ ।

‘यहाँ देशको छ चिन्ता …’ गीतजस्तै आफू मर्नु परे पनि देश बचाउन चाहाने नागरिक अरु कुन देशसँग होलान् ? हामीले त आफ्नो कर्तव्य पूरा गर्दै छौं । तर, सरकार तिमीले अलिकति सावधानी अपनाएर आफ्नो कर्तव्य कहिले पूरा गर्ने ? कहिलेकाहीँ हाम्रो देशका एकजना ठूला… हँसाउने व्यक्तिले भनेको कुरा याद आउँछ नेपाली हो नि !

हो, आज म पनि भन्छु– यस्तो अवस्थामा पनि ती मान्छेहरु देशलाई बचाउँन चाहान्छन्, किनकि नेपाली हो नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment