Comments Add Comment

खुकरी प्रहार गर्ने धरौटीमा छुटे, घाइते मामाभाञ्जा त्रासमा

२१ फागुन, विराटनगर । गत पुस ९ गते गाउँमा मोटरसाइकलको आवात जावत बाक्लो थियो । नयाँ जस्ता देखिने मानिसहरु सडकमा नाङ्गो खुकुरी नचाइरहेका थिए ।

पथरी शनिश्चरे नगरपालिका– ६ र कानेपोखरी गाउँपालिका– ४ जोड्ने पुल नजिकै दुई समूहबीच विवाद हुँदै थियो ।

गाउँमा झगडा भएपछि प्रताप राई छुट्याउन भन्दै पुगे । तर नाङ्गो खुकुरी नचाउँदै आएकाहरुले प्रतापलाई कुटपिट गरी ढाडमा खुकरी प्रहार गरे । प्रतापलाई खुकुरी प्रहार गरेको देखेपछि रोक्न भन्दै उनका भान्जा विकास राई घटना स्थल पुगे ।

वलिहाङ लिम्बु, याकुप लिम्बु, विनोद राई, आकाश थापासहितको समूहले विकासको पाखुरामा पनि खुकुरी प्रहार गरे ।

गाउँमा कोलाहल मच्चिएपछि विनोद र आकाशलाई खुकुरीसहित स्थानीयले समातेर प्रहरीमा बुझाए ।

गम्भीर अवस्थाका मामा भान्जालाई उपचारका लागि विराट नर्सिङहोममा भर्ना गरी पीडित परिवारले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिए ।

प्रहरीले चारजनालाई पक्राउ गर्‍यो । घटनामा संलग्न अन्य ८ जनालाई प्रतिवादी बनाएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्‍यो ।

घटनामा संलग्न सुनबर्सी नगरपालिका– ६ बस्ने श्यामबहादुर चौलागाई, निरोज खड्का, सन्तोष पोद्दार, अनिल कार्की, अनोज कार्की, कुम्भकर्ण लिम्ब, रुपाहाङ लिम्बु र सन्तोष राईलाई फरार छन् ।

पक्राउ परेका बलिहाङ, याकुप, विनोद र आकाश भने जिल्ला अदालत मोरङको आदेशपछि धरौटीमा छुटेका छन् । गत माघ ८ गते जिल्ला अदालत मोरङको आदेशपछि जनही ५० हजार धरौटी बुझाएर छुटेका हुन् ।

ज्यान मार्ने उद्योगका आरोपी छुटेपछि पीडित परिवारले आफू अन्यायमा परेको बताएका छन् ।

‘छोराको हात चल्दैन, भाइको कम्मर काटिएको छ’ विकासकी आमा मुना राईले बुधबार विराटनरमा पत्रकार सम्मेलनमा भनिन् ‘हामीलाई पीडा माथि पीडा थपियो ।’

उनका अनुसार दुई जनाको उपचारका लागि ६ लाख रुपैयाँ खर्च भएको छ । ऋण काढेर उपचारमा खर्च गरेको बताउँदै उनले खुकुरी प्रहार गर्ने छुटेका कारण आफूहरु समस्यामा परेको उनले बताइन् ।

‘हामी त गरिब मान्छे अदालतको प्रक्रिया थाहा थिएन’ उनले भनिन् ‘खुकुरी हान्ने पहुचवाला थिए धरौटीमा छुटे ।’

उपचारमा लागेको खर्च पनि उठाउन सक्ने अवस्था नगरेको उनले बताइन् । जिल्ला अदालतले चार प्रतिवादीलाई पुर्पक्षका लागि छाड्ने आदेश दिएपछि सरकारी वकिलको कार्यालय उच्च अदालत पुगेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिपकुमार गिरी घटनामा संलग्न आठजनाको खोजी कार्य भइरहेको बताउँछन् । पक्राउ परेका चारजना अदलतीय प्रक्रियामा रहेको बताउँदै उनले अन्य फरार प्रतिवादी खोजी गरिरेहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment