Comments Add Comment

‘मानिसको जीवनलाई सफल बनाउने सूत्र हो एनएलपी’

आफूभित्रैको प्रतिभा र क्षमतालाई पहिचान गर्न नसकेर जीवनमा पछि परेका मानिसहरु धेरै छन् । अनि, कतिपय चाहिँ आत्मविश्वासको अभावले आफ्नो क्षमतालाई भित्रै गुम्साएर राखिरहेका हुन्छन् ।

व्यक्तिभित्र लुकेर रहेको यस्तो क्षमतालाई कसरी उजागर गर्ने भनेर मनोवैज्ञानिक ज्ञान दिन सुरु भएको छ, न्यूरो लिंगुइस्टिक प्रोग्रामिङ (एनएलपी) तालिम । यो यस्तो तालिम हो जहाँ प्रशिक्षकले प्रशिक्षार्थिलाई आफ्नो जीवनको लक्ष्यको बारेमा रहेका भ्रमहरुबाट मुक्त गराउने प्रयास गर्छन् ।

अरुसँग तुलना गर्ने बानीले मान्छेभित्र रहेको ज्ञान ‘तिरोहित’ (ढाकिएको) हुन्छ र मान्छे आफ्नै नजरमा कमजोर बन्छ । त्यसपछि उसमा हिनताबोध सिर्जना भइ चिन्ताग्रस्त बन्छ । एनएलपीले अरुसँग के छ भन्ने होइन, आफूसँग के छ त्यसलाई ग्रहण गरेर लक्ष्यप्रति केन्द्रित हुन सिकाउँछ ।

विश्वमा विभिन्न देशहरुले एनएलपी कार्यक्रमहरु सञ्चालन गर्ने गर्छन् । एनएलपीको पृष्ठभूमि, यसको कार्य, सीमा र आवश्यकताको विषयमा अमेरिकन बोर्ड अफ एनएलपीका आधिकारिक प्रशिक्षक गोविन्द ज्ञवालीसँग गरिएको कुराकानी :

संक्षेपमा भन्दा एनएलपी के हो ?

सामान्य बुझाईअनुसार एनएलपी मानिसको व्यवहारको आधारमा कुनै पनि व्यक्तिको व्यक्तित्व पत्ता लगाउने र त्यसको विकास गर्न सिकाउने कला हो । अझ सरल हिसाबले बुझ्दा आफूभित्र लुकेको सूचनालाई खोज्ने टुल र टेक्निक पनि एनएलपी हो ।

यो एउटा आर्यसत्य हो, मान्छेको जीवनमा समस्या छ । त्यो समस्या हाम्रै कारण निम्तिएको हो । आफैंले आफैंलाई बुझ्न नसक्दा सबैभन्दा धेरै समस्या उब्जिन्छन् । अर्कालाई प्रभावित नगरी जीवनमा  लक्ष्य पूर्ति सम्भव नै छैन भन्दा पनि हुन्छ । कसैसँग भेट्दा आफूलाई आफैंले चिनेर अरुलाई समेत चिन्न सकियो भने बल्ल त्यो एउटा सार्थक भेट हुनसक्छ । यही सार्थकताको सारथि हो एनएलपी । एनएलपीले कोही कसैको पनि जीवन र लक्ष्यलाई सार्थक बनाउन मद्दत गर्छ ।

प्रविधिको विकास, हरेक क्षेत्रमा बढ्दै गएको प्रतिस्पर्धा, समयको अभाव जस्ता कारणहरुले मान्छे अवकाश पाउने बेलासम्म पनि लोभको सागरमा डुबिरहेको हुन्छ । अपेक्षाको पहाडले थिचिइरहेको हुन्छ । जुन कुराहरु सन्तुष्टिका बाधक हुन् । यही लोभको सागर र अपेक्षाको पहाडले गर्दा नै धेरैको जीवन अहिले तनावपूर्ण अवस्थाबाट गुज्रिने गरेको छ ।

मानिसलाई यही तनावपूर्ण स्थितिबाट माथि उठाउनको लागि जोन ग्रिण्डर र रिचर्ड ब्याण्डलरले सन् १९७० को दशकमा धेरै सफल मानिसहरुमाथि अध्ययन गरेर यो सिद्धान्त प्रतिपादन गरेका हुन् । यो अध्ययनको क्रममा उनीहरुले एउटा जिज्ञासाको खोजी गरेका थिए ।

वातावरण यही, देश यही, उपलब्ध साधन र स्रोत यही हुँदा पनि कोही एकदमै सफल हुन्छ भने कोही तुलनात्मक रुपमा धेरै पछि हुन्छ । कोही एकदमै खुशी हुन्छ भने कोही एकदमै दु:खी हुन्छ । यसको के हुनसक्छ कारण ? खुशी हुनेहरु किन धेरै खुशी हुन्छन् ? दु:खी हुनेहरु किन धेरै दु:खी छन् ? यही जिज्ञासाको उत्तर हो एनएलपी ।

एनएलपीले कसरी काम गर्छ ?

एनएलपीको आफ्नै अध्ययन शैली छ । न्यूरो भनेको हामीभित्र रहेको ५ इन्द्रिय हो भने लिंग्युइस्टिक भनेको भाषा विज्ञान हो । यही दुईलाई मिलाएर गरिएको कार्यक्रम हो, एनएलपी । अर्थात् हाम्रो वरपर रहेका विभिन्न वस्तुहरुलाई हाम्रा ५ इन्द्रियहरुले ग्रहण गर्छन् । यसरी ग्रहण गरेको ज्ञानलाई ती इन्द्रियहरुले मस्तिस्कमा पठाउँछन् ।

त्यसपछि मस्तिस्कले भाषाको रुपमा त्यो ज्ञानलाई तयार पार्छ । त्यही ज्ञानलाई भाषामा परिवर्तन गरिसकेपछि हामीले व्यवहारको रुपमा त्यसलाई दोहोऱ्याइरहन्छौं । त्यो व्यवहार नै बिस्तारै एउटा ढाँचाको रुपमा विकास हुन्छ । त्यो ढाँचाको अध्ययन मार्फत् नै एनएलपीले अरुको व्यक्तित्वको बारेमा अध्ययन गर्छ ।

सबै वातावरण र स्रोत साधनहरु एउटै हुँदा–हुँदै पनि कोही मान्छे सफल हुन्छन्, त कोही पछि परिरहेका हुन्छन्, किन हुन्छ यस्तो ?

यस्तै भिन्नताको खोजी हो एनएलपी । एउटै वातावरण र उस्तै स्रोत–साधन हुँदा पनि ज्ञान प्राप्तिको क्रममा कसैले धेरै कुरा सिकिरहेको हुन्छ भने कसैले एकदमै कम । यही ज्ञान ग्रहणको क्षमताले पनि कोही मान्छे किन सफल र असफल हुन्छ ? भन्ने यकीन गर्छ ।

पाँच इन्द्रियहरुमार्फत् हामीले सिकेको ज्ञानले सबैभन्दा पहिले हाम्रो भाषामा परिवर्तन ल्याउँछ । त्यसबाट मान्छेको व्यवहारमा परिवर्तन आउँछ । व्यवहारमा आएको परिवर्तन नै मान्छेको सफलताको सुरुवाती यात्रा हो । त्यसैले हाम्रो व्यक्तित्व सुधार्छ र हामीलाई सुधार्छ । यही हेर्ने, सुन्ने र महसुस गर्ने क्षमता नै सफलता र असफलताको कडी हो ।

यी तीन इन्द्रियहरुले राम्रोसँग ज्ञान ग्रहण गरेकाहरु सफल व्यक्तिको सूचीमा पर्छन् भने राम्रोसँग ज्ञान लिन नसकेकाहरु असफल सूचीमा । यही ज्ञान ग्रहण गर्ने प्रक्रियालाई भिजुअल अर्थात् हेराई, अडिटरी अर्थात् सुनाई, र केनेस्थेटिक अर्थात् महसुस गर्ने तरिकाले हामीले बोल्ने भाषामा परिवर्तन आउँछ ।

सम्बन्धित समाचार :

एनएलपी तालिम : यसरी पहिल्याउनुहोस् जीवनको लक्ष्य

यी इन्द्रियहरुले दिएको ज्ञानलाई भाषा हुँदै व्यवहारमा परिवर्तन गर्दा त्यसमा शब्दको भूमिका ७ प्रतिशत, शब्द उच्चाहरणको आरोह–अवरोहको भूमिका ३८ प्रतिशत र अवचेतन मस्तिष्कले शरीरमार्फत् व्यक्त गर्ने भाषाको भूमिका ५५ प्रतिशत हुनेगर्छ । यही तीन कुराको सामञ्जस्य हुन सक्यो भने व्यवहार या बोलिचाली प्रभावकारी हुँदै जान्छ । यही प्रभावकारी बनाउँदै लैजाने प्रक्रिया पनि हो एनएलपी ।

एनएलपी सिद्धान्तले यो कुरा प्रमाणित गरेको छ कि हामीले प्रत्येक सेकेण्ड वरपर एक करोड १० लाख सूचनाहरु ग्रहण गरिरहेका हुन्छौं । जसमध्ये अधिकांश हाम्रो अचेतन मस्तिस्कमा जान्छ, जुन कुरा हामीलाई थाहा हुँदैन । एउटा बन्द कोठाबाटै पनि हामीले यही संख्यामा सूचनाहरु प्राप्त गरिरहेका हुन्छौं । हामीले हरेक सूचनालाई हरेक कोणबाट हेर्न सक्छौं ।

त्यति धेरै सूचनाहरु हाम्रो दिमागले ग्रहण गर्न सक्दैन । त्यो अवस्थामा हाम्रो दिमागले हामीलाई कुन महत्वपूर्ण वा सहज लाग्छ, सोही किसिमको सूचना मात्रै ग्रहण गर्ने गर्छ । बाँकी सूचनाहरु अचेतन मनमा पठाउँछ ।

उदाहरणको लागि, हामीले सवारी चलाउँदा लाखौं बस्तुहरुलाई देखिरहेका हुन्छौं । ती सबै कुराहरु हाम्रो दिमागले ग्रहण त गर्छ  तर, चेतन दिमागमा यी सबै सूचनाहरु एकैपटक प्रवेश गर्न नसक्ने भएकोले आफूसँग सरोकार राख्ने सूचनाहरु मात्रै हामीले चेतन मस्तिष्कतिर पठाउँछौं । जसमा सामान्यीकरण प्रक्रियाको प्रयोग गर्ने गरिन्छ ।

अँध्यारोमा डोरीलाई सर्पजस्तो देखेको अनुभव धेरैलाई होला । यो डोरीलाई सर्प भनेर झुक्किने प्रक्रिया र रुखलाई भूत देखेर मनमा भ्रम पाल्ने अवस्था डिस्टोर्सन हो । यो दृष्टिभ्रम भएको अवस्था हो । त्यस्तै, भ्रम हाम्रो सुन्ने प्रक्रियामा पनि हुन्छ । धेरै मान्छेले चार र सातलाई एउटै सुन्ने गर्छन् । कतिपय अवस्थामा एउटाले देखेको कुरामा समेत भ्रम भइरहेको हुन्छ ।

आफूले देखेको भनेर उसले जिद्दी त गर्छ तर त्यो आफैंमा भ्रम हुनसक्छ । एनएलपीका अनुसार हाम्रो ५ वटा इन्द्रीयहरुले ग्रहण गरेको कूल एक करोड १० लाख सूचनालाई हटाउने, सामान्यीकरण गर्ने जस्ता प्रक्रियापछि एक सेकेण्डमा कुनै पनि व्यक्तिले पाँचदेखि ९ वटासम्म सूचनालाई मात्रै ग्रहण गर्नसक्छ ।

माथि उल्लेखित विषयहरुलाई पनि हाम्रो मूल्य–मान्यता, आचरण र विश्वास तीन कुराले सीमित गर्ने गर्छ । कतिपय अवस्थामा विश्वास र आचरण परिवर्तन भएसँगै आफूलाई पहिले महत्व नलागेको कुरा पनि महत्वपूर्ण लाग्ने गर्छ ।

मान्छे कोही एकदमै खुशी त कोही एकदमै दु:खी किन हुन्छ ?

इन्द्रियले ग्रहण गरेको सूचना चेतन मस्तिष्कले ग्रहण नगरेसम्म हामीलाई सो बारेमा जानकारी नै हुँदैन । त्यही एक सेकेण्डमा बढीमा ९ वटासम्म ग्रहण गरेको सूचना पनि पहिले नै मस्तिष्कले लिएको मान्यताको ठिक विपरित भयो भने मानिस मान्छे दु:खी हुन्छ । त्यो अवस्थामा उसको मनभित्र नै बहस सुरु हुन थाल्छ ।

कुनै पनि विषय अर्काे व्यक्तिले भनेको जस्तो हो कि होइन ? भन्ने लाग्छ । आफैं भित्र कुरा गर्न थाल्छ, त्यो ‘सेल्फ टक’को अवस्था हो । सेल्फ टकमा यदि तपाईंको पुरानो मान्यता छ र त्यसमा च्यालेन्ज गर्नेगरी अर्काे कुरा आयो भने मान्छे आफैं दु:खी हुन्छ । यो मानवीय स्वभाव हो ।

जो कोही पनि प्रतिस्पर्धामा हारेको समयमा बाहिरी हारका कारण दु:खी हुँदैन । उसले भित्रैदेखि नै हार ब्यहोरेपछि मात्रै ऊ दु:खी हुने गर्छ । यो पनि एनएलपीले प्रतिपादन गरेको सिद्धान्त हो ।

एउटै सूचनालाई कसैले एकदमै हल्का रुपमा लिने गरेको हुन्छ भने कसैले गहन रुपमा । किन हुन्छ त्यस्तो ?

माथि उल्लेख गरेको जस्तै हाम्रो दिमागमा चल्ने दोहोरो कुराहरुलाई स्टेट भन्ने गरिन्छ । स्टेट भनेको अवस्था हो । हामीले बिहानदेखि बेलुकीसम्ममा धेरै अवस्थाहरु गुजारेका हुन्छौं । खुशी भएको पीडा भएको, खाना खाएको, भोक लागेको जस्ता धेरै अवस्थाहरु हामीले गुजारेका हुन्छौं ।

यस्तो अवस्थामा हाम्रा इन्द्रियहरुले ग्रहण गरेको एक करोड १० लाख सूचनाबाट हाम्रो चेतन मस्तिष्कले लिएको ७ देखि ९ वटा सूचनालाई ग्लोबल र डिटेल दुई वटा स्वभाव भएकाहरुले आ–आफ्नै तरिकाले बुझ्ने गर्छन् ।

यसमा पनि ग्लोबल सोचाई राख्ने मान्छेले यसलाई समग्रमा बुझ्छ र तत्कालै प्रतिक्रिया दिने गर्छ । डिटेल स्वभाव भएकाहरुले जुनसुकै सूचनालाई पनि गहिराईमा बुझ्ने कोसिस गर्छ । यस्ता धेरै मेटाप्रोग्रामहरु हुन्छन् । जसमध्ये ८ वटा मेटाप्रोग्रामहरु महत्वपूर्ण हुन्छ ।

उदाहरणको लागि कसैलाई चिठ्ठा पऱ्यो । चिठ्ठा पऱ्यो भन्ने कुरा पहिले या त कानले सुन्छ या त सूचना आँखाले देख्छ । त्यसपछि मेटाप्रोग्राम चल्न सुरु हुन्छ । ५ करोडको चिठ्ठा पऱ्यो भने उसले आफ्नो स्वभाव अनुसारको आचरण देखाउँछ । यदि ग्लोबल मान्छे हो भने उसले सबै कुरालाई समग्रमा बुझेर व्यवहार गर्छ ।

चिठ्ठा पऱ्यो त्यो पैसा आउनुपूर्व नै आधा पैसा त भोजभतेर र उत्सवमा नै खर्च गर्छ । तर, डिटेल मान्छे हो भने त्यो हो कि होइन ? चिठ्ठा परेको भनेको व्यक्ति आफू नै हो कि होइन ? कसले कसरी दियो ? जस्ता कुराहरु । डिटेलमा बुझ्न थाल्छ । त्यसपछि मात्रै उसले प्रतिक्रिया दिने गर्छ । यसरी नै हामीले हाम्रो ज्ञानलाई बुझ्न सक्छौं ।

उसले त्यसपछि कस्तो व्यवहार गर्छ ? भन्ने जानकारी उसको हाउभाउ र मानसिक स्थितिले स्पष्ट देखाउन थाल्छ । त्यही व्यवहारबाट उसको स्वभाव पत्ता लगाएर मानिसको जीवनलाई सफल बनाउने तालिम हो, एनएलपी ।

एनएलपी तालिमले हामीलाई के फाइदा हुन्छ ? यो कसका लागि महत्वपूर्ण छ ?

यो आफ्नो भविष्यको योजनाप्रति प्रतिबद्ध जुनसुकै पेशा, व्यवसाय र तहतप्काका मानिसको लागि महत्वपूर्ण छ । हामी आफ्नो भविष्यको योजनालाई पूरा गर्नतर्फ जहिलै पनि उद्दत हुन्छौं । एनएलपीले त्यो लक्ष्य पूर्तिमा कसरी भूमिका खेल्छ त ? भन्ने जिज्ञासा पनि धेरैमा हुनसक्छ ।

माथि उल्लेख गरिएअनुसार एक सेकेण्डमा प्राप्त हुने एक करोड १० लाख सूचनामध्ये आफ्नो लक्ष्यसँग सम्बन्धित सूचनाहरु मात्रै संकलन गर्न एनएलपीले सहयोग गर्छ । त्यसैबाट आफ्नो लक्ष्य पूर्तिको एउटा ठूलो राजमार्ग निर्माण भइरहेको हुन्छ ।

जस्तो हामीलाई एउटै बाटो हिँडिरहँदा कुनै अचम्मको रुखहरु छन् भने सोको बारेमा सुरुमा ज्ञान नहुन सक्छ । तर, कसैले त्यसको बारेमा बताइदियो भने भोलिपल्टदेखि हरेक रुखहरु देख्नेबित्तिकै हामीलाई याद हुन थाल्छ ।

त्यसरी नै एनएलपी आफ्नो लक्ष्यको बारेमा केन्द्रित हुन नसकेकाहरुलाई लक्ष्यको सही दिशा देखाउने काम गर्छ । त्यसपछि आफू कस्तो मान्छे हो ? थाहा पाउन सकिन्छ । अर्काे मान्छे कस्तो छ भन्ने थाहा हुन्छ । यही आफू र अर्काे मान्छेको बारेमा जानकारी दिने काममा एनएलपीले सहयोग गर्छ ।

एउटै सूचनालाई कसैले ढिलो र कसैले छिटो बुझ्नुको अर्थ के हो ?

कोही ढिलो र कोही छिटो बुझ्ने कुरा सूचना लिने तरिकासँग सम्बन्धित छ । कोही मान्छे कुरा सुनेर छिटो बुझ्ने स्वभावको हुन्छ भने कोही चित्र हेरेर छिटो र बढी बुझ्ने खालको हुन्छ । कोही अभ्यास गरेपछि मात्रै धेरै बुझ्ने खालको हुन्छ त कोही मान्छे विश्लेषण गरेपछि मात्रै बुझ्ने स्वभावको हुन्छ । हरेक मान्छेमा यी सबै गुणहरु हुन्छन् । तर, त्यसमा पनि एउटा स्वभावले अरु तीन स्वभावलाई नेतृत्व गरिरहेको हुन्छ ।

कुनै मान्छेले दृश्यबाट मात्रै ज्ञान प्राप्त गर्ने गर्छ भने उसलाई दृश्यात्मक ढंगले केही गरेको कुरा छिटो दिमागमा बस्न सक्छ । त्यस्तै, सुनेर छिटो बुझ्ने स्वभाव भएकोले दृश्यात्मक भन्दा पनि राम्रोसँग सुनाउँदा छिटो बुझ्छ । एनएलपीले कुनै पनि मान्छेको स्वभाव वा प्रमुख सूचना पद्धति के हो ? भन्ने पहिचान गरेर अर्काे व्यक्तिको सूचना पद्धति अनुसार नै सूचना प्रेसित गर्न सिकाउँछ ।

यी चारमध्ये कुन राम्रो कुन नराम्रो भन्ने हुँदैन । तर, म के हो ? भन्ने बुझ्नको लागि मात्रै यसले यकीन गर्ने गरिन्छ । त्यसरी आफ्नो सूचना पद्धतिको पहिचान केवल सर्टिफाईड कोचले मात्रै गर्न सक्छ ।

उदाहरणको लागि कसैलाई तपाईं कसरी यहाँसम्म आइपुग्नुभयो ? भनेर सोध्दा पनि एक हिसाबले उसको सूचना पद्धतिबारे जानकारी पाउन सक्ने हुन्छ । यही सूचना पद्धतिको कारणले नै मानिसहरुले छिटो कुरा बुझ्ने वा ढिलो बुझ्ने गर्छ ।

नेपालमा यस्ता तालिमहरु कत्तिको सञ्चालमा आउने गरेका छन् ?

नेपालमा व्यक्तिगत रुपमा एनएलपी ट्रेनरहरुले गराउने कार्यक्रमहरु त समय समयमा चलिरहेका छन् । तर, अमेरिकन बोर्ड अफ एनएलपीका आधिकारिक तालिमकर्ताहरुले दिने औपचारिक ५ दिने तालिम भने पहिलो पटक यही मार्च १२ देखि गर्ने तयारी भएको थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले धेरै मान्छेलाई भेला गरेर गर्ने कार्यक्रम नगर्नको लागि आग्रह गरेकोले यो कार्यक्रम स्थगित गरिएको छ ।

यो संक्रमणको त्रास कम भएपछि यसको आयोजना गर्ने योजना छ । अहिले त हरेक ३ महिनामा यस्तो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ। यसमा हामीले आधारभूत रुपमा एनएलपीको औजार र तरिकाहरुमार्फत् कुनै पनि व्यक्तिको स्वभाव र व्यक्तित्व कसरी पत्ता लगाउने र त्यस अनुसारको व्यवहार कसरी गर्ने ? भन्नेबारे सिकाउने गरिन्छ ।

एनएलपीको विधि र प्रक्रियालाई आधार मानेर छोटो खालको तालिम भने म आफैंले पनि दिने गरेको छु । केही समय अघि एसएसपी सन्दिप भण्डारीले यसबारेमा सुन्नु भएको रहेछ । उहाँले प्रहरी अधिकारीहरुमा पनि यो प्रभावकारी हुने देखेर तालिमको आयोजना राख्नुभएको थियो ।

पाँचसयदेखि छ सयसम्म प्रहरी जवानदेखि उच्च अधिकारीको टोलीलाई केही समय अघिमात्रै मैले नै तालिम दिएको थिएँ । उहाँहरुलाई मैले एनएलपीको आधारभूत विषयमा डेढ घण्टा तालिम दिएको थिएँ । यस्ता तालिमहरु त भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment