Comments Add Comment

प्रेमध्वज र गणेश रसिकसहित ६ स्रष्टालाई कलाश्री

२३ फागुन, काठमाडौं । गायक प्रेमध्वज प्रधानलाई ‘राष्ट्रिय कलाश्री सम्मान– २०७६’ प्रदान गरिएको छ । ‘नेपाली कलासाहित्य डटकम प्रतिष्ठान’ले प्रत्येक वर्ष दिने सम्मान यस वर्ष गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई दिएको हो ।

यस्तै १ लाख रुपैयाँ राशीको ‘राष्ट्रिय कलाश्री पुरस्कार’ संगीतकार एवं साहित्यकार गणेश रसिकलाई दिइयो । बिहीबार राजधानीमा आयोजित समारोहमा प्रतिष्ठानले आख्यानकार सरस्वती प्रतीक्षा, गायक शिशिर योगी, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र मूर्तिकार विक्रम श्रीलाई पनि कलाश्री पुरस्कारले सम्मान गर्‍यो ।

‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ साहित्यकार सरस्वती प्रतीक्षालाई दिइयो भने ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ साहित्यकार तथा पत्रकार रोचक घिमिरेले पाए ।

यस्तै ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ इटहरीका कलाशिल्पी विक्रमश्रीलाई र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ गायक शिशिर योगीलाई दिइयो । पुरस्कारमा क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ र सम्मान पत्र थिए ।

गायक प्रेमध्वज प्रधानलाई कवि एवं संस्कृतिविद् तुलसी दिवस र ‘नेपाली कलासाहित्य डटकम प्रतिष्ठान’की अध्यक्ष मोमिला जोशीले सम्मान गरे । यस्तै अन्य स्रष्टालाई कवि विमल कोइराला उषा शेरचन, एसपी कोइराला, पत्रकार युवराज घिमिरे, चित्रकार किरण मानन्धरलगायतले सम्मान गरे ।

पुरस्कृत स्रष्टाबारे समालोच महेश पौड्याल र केशव सिग्देलले परिचयात्मक मन्तव्य राखेका थिए ।

प्रतिष्ठानले प्रत्येक वर्ष ‘कलाश्री’ पत्रिकाको प्रकाशन तथा वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई सम्मान गर्दै आएको अध्यक्ष मोमिला जोशीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment