Comments Add Comment

यो हो दुनियाँकै ठूलो नुनको मैदान

दक्षिण अमेरिकी मुलुक बोलिभियामा विश्वकै ठूलो नुनको मैदान रहेको छ । उक्त मैदानको नाम सालर डी उयुनी हो ।

समुद्र सतहभन्दा ३ हजार ६५६ मिटरको उचाइमा एन्डिज पर्वतमालाको पठारमा रहेको यो मैदान १० हजार ५ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो नुन मैदान बोलिभियाको सबैभन्दा लोकप्रिय पर्यटकीय क्षेत्र पनि बनेको छ । त्यो विशाल सेतो मैदान हेर्नका लागि विश्वभरबाट वर्षेनी लाखौं पर्यटकहरु त्यहाँ पुग्दछन् ।

हिउँ जमेको समुद्र जस्तै देखिने विशाल सेताम्य मैदानको बीचमा ज्वालामुखी चट्टानहरु सानो टापुजस्तो देखिन्छन् । अझ सेतो क्यानभासमा स साना काला थोप्लाहरु ज्स्तै ।

त्यसमध्ये सबैभनदा चर्चित क्वेशुआमा रहेको इंकाको घर वा इंका हाउसी हो । इंका सभ्यताका मानिसहरु यो नुनको मैदान पार गर्ने बेलामा त्यहीँ चट्टानी थुम्कोमा बास बस्ने गर्दथे ।

४० मिटरसम्म अग्लो रहेको यो चट्टानको आसपासमा विभिन्न दुर्लभ संरचना तथा समुद्री जीवका जिवाश्महरु देखिन्छन् । यो मैदानलाई प्रागऐतिहासिक युगमा रहेको मिनचिन तालको अन्तिम अवशेष पनि मानिन्छ । उक्त विशाल ताल २० हजार वर्षदेखि ४० हजार वर्ष पहिलेको समयमा सुकेको विश्वास गरिन्छ ।

इंकाहाउसीमा हजारौँ सिउँडीका रुखहरु पनि उम्रिएका छन् । यी सिउँडीका रुख वर्षमा केवल १/२ सेन्टिमिटर मात्र बढ्दछन् । जसको उचाइ अधिकतम १० मिटर र आयु ३ सय वर्षसम्म हुन्छ ।

नुनको मैदान लगभग पूर्ण रुपमा समथर छ । कुनै एक ठाउँबाट अर्को ठाउँको उचाइँमा एक मिटरभन्दा धेरै फरक छैन । त्यसैले वर्षाको समयमा वा नजिककैका पानीका तलाउहरुबाट पानी बगेर आएको खण्डमा यो मैदान एक विशाल तालमा परिणत हुन्छ ।

डिसेम्बरदेखि मार्च वा अप्रिलसम्मको वर्षात् हुने समयमा यो नुनको मैदान जब विशाल तालमा परिणत हुन्छ, तब त्यहाँ घुम्न आउने मानिसहरुको घुइँचो लाग्दछ । त्यस बेला सेताम्मे नुनको मैदानमा भरिने पानीले यसलाई एक विशाल ऐनामा परिणत गर्दछ, जसमा पूरै आकाशमा सुन्दर प्रतिबिम्ब देखिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment