
‘पुग्छु भनेर गएको ठाउँ
पाइलैपिच्छे पर सर्छ’
स्कुले जीवनमा हेटौंडामा पढेको माथिको कविताको हरफ मानसपटलमा यसरी कुँदियो कि आजपर्यन्त शिलालेख बनेर रहेको छ । कविको नाम भने बिर्सेको थिएँ । तर, आफैंले साहित्यको क्षेत्रमा पाइला हालेपछि यी हरफका कविसँग संगत गर्न पाइयो । उनी थिए–वासुशशी ।
२०३६ सालको ऐतिहासिक सडक कविता क्रान्तिमा भाग लिएपछि नै मैले कवि वासु शशीलाई चिनेको हुँ । साहित्यमा वामे सर्न थालेपछि यी पुस्तकका लेखक स्रष्टासँगको भेट ०३६ सालको सडक कविता क्रान्तिले जुराइदियो ।
त्यतिबेला बासु शशी आफ्नो शायद पुख्र्यौली, घर देवपतनको ओरालोको घरमा बस्थे । जहाँ मलाई एक साँझ खाजा खान जुरेको थियो ।
खासमा २०३६ सालपछि पोखराका विजय बजिमय काठमाडौंका साहित्यकारहरुका आकर्षण बनेका थिए । उनी काठमाडौं आउँदा कुनै लजमा बस्थे, जुन लजमा साहित्यकारहरुको भीड लाग्थ्यो ।
एक दिन वासु शशी पनि विजय बजिमयलाई भेट्न आएका थिए । म पनि भएको संयोग परेको थियो । बासु शशीले विजय बजिमयलाई आफ्नो घरमा स्वागत गर्ने ईच्छा व्यक्त गरे । अनि त्यहाँ भएका म लगायत एकाध अरुलाई पनि निम्त्याए । र, हामी पुग्यौं वासुशशीको पुरानो, पौराणिक घरमा ।
त्यसदिन बजिमयका साथै कृष्णभूषण वल, विनोद अश्रुमाली र म थियौं । त्यो दिनको मलाई यसकारण पनि विशेष सम्झना हुन्छ, त्यसै दिन पाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको थियो र हामी सबैले वासु दाइको पुरानो रेडियोबाट स्वाँस्वाँ आवाजमा काटिई–काटिई बत्तिँदै आएको स्वरमा बीबीसीबाट त्यो समाचार सुनेका थियौं ।
बासु दाइले त्यतिबेला घरमा नेवारी परिकारले स्वागत गरेका थिए र भनेका थिए, यो छोयला चाहिँ मेरै हातले बनाएको हुँ । देशको एउटा नामी कविको हातले बनाएको छोयला हामीले खाने मौका पाएका थियौं ।
त्यसपछि विभिन्न समारोहमा उनी देखिन्थे, यदाकदा । औपचारिक कुरा हुन्थ्यो । पछि उनी त्यो पुरानो घरबाट नयाँ ठाउँमा सरे, त्यो चाहिँ भाडाको घर थियो, देउपाटनमै । तर, माथि सिफल जाने बाटोमा । त्यहाँ उनको प्रेस पनि थियो । त्यो प्रेसवाट ‘सञ्चय’ डाइजेष्ट पत्रिका निस्कन्थ्यो, जसका सम्पादक उनै थिए ।
त्यो पत्रिकामा मैले एउटा कविता र कथा प्रकाशनार्थ दिएको थिएँ । उनले प्रकाशित गरिदिएका थिए । कविताको विषयमा त उनले खासै केही प्रतिक्रिया दिएनन् । तर, कथाको विषयमा भने उनले भने, तिम्रो कथा त यो अमेरिकन स्टाईलको कथा रहेछ । म दङ्गदास परें,
मलाई मुस्किलले हिन्दी सम्म आउँथ्यो नेपाली भाषापछि, अङ्ग्रेजीको त अत्तोपत्तो थिएन । ‘चुल्होमा आगो बल्ने छैन’ शीर्षकको कथा थियो त्यो । पछि ‘सुतेको समुद्र’ मेरो पहिलो पुस्तक कथा सङ्ग्रहमा समेटियो पनि ।
२०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहका बेला उनी प्रजातान्त्रिक आन्दोलनमा सकृयतापूर्वक बहुदलको पक्षमा लागेका थिए । त्यसैताक उनले एउटा चर्चित कविता लेखे, ‘यो देश अहिले गौरवगाथा गाउने मूडमा छैन ।’
त्यसो त उनको ‘बीसौं शताब्दिको गीत’ सर्वाधिक रुचाइएको कालजयी कविता हो ।
बासु शशी ‘रोदी’ समूहमा थिए । त्यो समूह बूढा पुराना कविहरुलाई चुनौती दिन जन्मेको संस्था थियो । उनीहरुले स्थापित र पुराना साहित्यकारलाई प्रमुख अतिथि बनाउने परम्परा भत्काएर त्यतिबेला पद्मकन्यामा अध्ययनरत पारिजातलाई प्रमुख अतिथि बनाएर ‘रोदी’ को उद्घाटन गरेका थिए ।
रोदीमा कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, कुमार नेपाल, मोहन हिमांशु थापा र बाशु शशी थिए ।
रोदी विसर्जन भएपछि बाशु शशी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा जागिरे भए । तर, प्रतिष्ठानमा उनी प्राज्ञ हुन योग्य व्यक्ति नयाँ पुनर्गठनमा नपरेपछि स्वाभिमानका कारण राजिनामा दिए ।
प्रज्ञा प्रतिष्ठानबाट उनको ‘एउटा यस्तो फूल चाहिन्छ’ कविता सङ्ग्रह प्रकाशित भएको थियो । त्यस्तै ‘विश्वका सर्वश्रेष्ठ कथाहरु’को अनुवाद पनि प्रकाशित भएको थियो ।
उनका नाममा ‘जाँ बार्वा’ नामक कृति पनि अनुवाद प्रकाशित भएको थियो । तर, उनले त्यो कृति आफूले अनुवाद पनि नगरेको र पारिश्रमिक पनि आफूले नपाएको, एकजना प्राज्ञले आफूले प्राज्ञ भएका कारण पुस्तकको पारिश्रमिक नपाउने भएर आफ्नो नाममा गरेको भन्थे । तर, त्यसको खोजी किनारा भने लागेन । अब त त्यो यथार्थ अज्ञात मात्र हुने भयो ।
बरु, पछि विश्वविख्यात अमेरिकी नाटककार आर्थर मिलरको ‘अल माई सन्स’ को बासुले नेपालीमा रुपान्तर गरेका थिए । त्यो अनुवादका लागि पूर्वस्वीकृति वापतको रोयल्टी अमेरिकन पुस्तकालयका एकजनाले तिरिदिएर सम्भव भएको बताउँथे उनी ।
२०३६ सालको सडक कविता क्रान्ति सकियो । भारतको पटनाबाट एकजना कवि आएका थिए डा. रविन्द्र राजहंश । उनले नेपालका सडक कविता क्रान्तिमा भाग लिने विद्रोही कविहरुलाई भेट्न चाहेका रहेछन् ।
उनी पनि इन्दिरा गान्धीले संकटकाल लगाउँदा कविता मार्फत संकटकालको विपक्षमा कविता आन्दोलनका सहभागी कवि रहेछन् । उनीहरुले नुक्कड कविता आन्दोलन गरेका रहेछन् र त्यसको ‘नुक्कड कविता’ नामक सङ्कलन पनि प्रकाशित गरेका रहेछन् । उनले त्यो पनि एक प्रति लिएर आएका रहेछन् ।
उनीसँग साहित्यिक भेटघाटका लागि विश्वविमोहन श्रेष्ठले उनको त्यतिबेलाको पुतलीसडकको डेरामा आयोजना गरेका थिए । पद्मकन्या क्याम्पसको पूर्वतिर टुकुचापारि एउटा काठ मिल थियो, त्यसैको छेउको एउटा घरको भुईंतलामा विश्वविमोहनको डेरा थियो ।
एकसरो परिचय र अनौपचारिक कुराकानी भयो । नुक्कड कविता आन्दोलनका कवि डा. रविन्द्र राजहंसले नुक्कड कविता आन्दोलन कसरी शुरु भयो र जनजीवनमा त्यसले कस्तो प्रभाव प्रवाह गर्यो विषयमा कुरा राखे ।
त्यस पश्चात् कविता वाचनको सिलसिला शुरु भयो । केहीले हिन्दीमा पनि कविता पढे । धेरैले नेपालीमै पढे र कसैले हिन्दीमा अथ्र्याउने काम पनि गरे ।
बासुशशीले भने आफ्नो कविता सङ्ग्रहवाट सिधै हिन्दी अनुवाद गरेर कविता बाचन शुरु गरे ।
उनले ‘अलिकति मृत्यृ’ शीर्षकको कविता सुनाए ।
‘जात्राको दिन बेलूनहरु किन्छु भनेर गएकी थिई
चार वर्षकी भूना
मोटरले कुल्चिएर मरी ।…’
शुरुवातका हरफहरु यिनै थिए । खासमा उनको यो कविता फागु पूर्णिमामा बेलुन किन्न जाँदा सडक दुर्घटनामा दिवङ्गत छोरी भूनाको सम्झनामा उनले लेखेका थिए ।
उनी पढ्दै कविता पढ्दै जाँदा भावुक हुँदै गए । अलि पछि सुँक्सुँकाउन थाले । नाकबाट सिँगान झर्न थाल्यो । आँखामा बादल लाग्न थाल्यो । अड्की अड्की हिन्दीमा उनी कविता पढ्दै थिए । पछि त उनको बोली नै रोकियो । आँसु, सिँगान अनि र्याल निस्कियो । त्यसलाई पुछ्दै उनले ‘माझ्याँक्ने, अब म पढ्न सक्दिनँ’ भन्दै कविताको पुस्तकलाई पर हुत्याइदिए ।
वातावरण स्तब्ध र पीडाग्रस्त भयो । दिवङ्गत छोरीको यादले उनलाई असह्य पीडा दियो ।
यो सम्झना मेरो मानसपटलमा कहिल्यै हराएन ।
बासु शशी व्यवहारमा साह्रै सरल, भद्र र साँच्चैका कवि हृदयका व्यक्ति थिए । म शनिबार बिहान उनको निवासमा बेलाबेलामा जाने गर्थें । साहित्यका कुरा सुन्न पाइन्थ्यो । कुनै पुस्तक वा पत्रिका निशुल्क पाइन्थ्यो । ‘सञ्चय’ निस्केको छ भने त्यो त अवश्य नै पाइन्थ्यो । अरु साहित्यकारहरु पनि उनलाई बरोबर भेट्न आइरहन्थे । तिनीहरुसँग उनले परिचय गराइदिन्थे । चिया पनि पिउन पाइन्थ्यो ।
एक दिन मैले उनको अन्तरवार्ता लिन्छु भनें । उनले हाँसेर भने, ‘मेरो होइन, यो मान्छेको अन्तरवार्ता लिनुपर्छ गोविन्द । उनले त्यहाँ बसिरहेका एक बृद्धलाई देखाए । ती बृद्ध थिए उपन्यासकार तोयनिधि पौडेल । म अरकच्च परें ।
म उनको अन्तरवार्ता लिनका लागि तयार थिइनँ । पछि उनको निधनपछि भने थक्क–थक्क लाग्यो ।
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र रत्न पुस्तक भण्डारबाट थुप्रै उपन्यास प्रकाशित भएका तोयनिधि पौडेल वास्तवमा गुमनाम जस्तै भए । बासु शशी अरुलाई महत्व दिन कञ्जुस्याइँ गर्दैनथे ।
वासु शशी परिवार नियोजन संघमा पनि जागिरे भएका थिए । त्यतिबेला दरबारका मानिसहरु नै त्यस संस्थाका हर्ताकर्ता थिए । उनी त्यहाँ सिर्जनात्मक व्यक्तित्वका साथ काम गरिरहेका थिए । उनी सबैका प्यारा थिए । उनी परिवार नियोजन संघमै छँदा अमेरिकाको भ्रमणमा पनि गएका थिए ।
तर, परिवार नियोजनबाट पनि उनले अचानक एक दिन राजीनामा गरे । अप्रत्यासित रुपमा । त्यहाँ पनि स्वाभिमानकै कारणले उनले राजीनामा गरेका थिए । त्यसपछि उनले कहिल्यै जागिर खाएनन् । यो बेग्लै कुरा हो, २०४६ सालको जनआन्दोलनपछि उनी रेडियो नेपालको निर्देशकमा झण्डै–झण्डै नियुक्त भइसकेका थिए । तर, अन्तिम समयमा उनको नाम तल पर्यो।
बासु शशीले बोलेका कुराहरु उद्धरणयोग्य हुन्थे । लेखनको मामलामा मनमौजी कवि स्वाभाव थियो । उनी मूडमा लेख्थे, पूरा गर्दैनथे । उनले धेरैवटा उपन्यास थालेका थिए, तर पूरा गरेका थिएनन् । त्यसैले उनको उपन्यासकार व्यक्तित्व लुकेको थियो ।
तर, जब उनको पहिलो उपन्यास प्रकाशित भयो, ‘फूल ओइलाएपछि’, पाठकहरुले अत्यन्तै रुचाए । अध्येताले रुचाए । छोटो समयमै उनको त्यो उपन्यासको पहिलो संस्करण सकियो ।
बासु शशीको साहित्यिक व्यक्तित्व बहुमुखी थियो । उनले नाटकहरु पनि लेखेका थिए । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट ती प्रकाशित पनि भएका थिए ।
त्यसमध्येको एउटा नाटक नारायणगोपाल राष्ट्रिय नाचघरमा महाप्रबन्धक हुँदा मौलिक शीर्षक परिवर्तन गरी ‘सबथोक गर्नुपर्छ’ शीर्षकमा व्यावसायिकरुपमा मञ्चन भएको थियो । उनले त्यतिबेला सो नाटक मञ्चन वापत पाएको पारिश्रमिक आधा मात्र घर पुग्यो भन्ने चर्चा पनि त्यतिबेला काठमाडौंमा चलेको थियो । जे होस्, त्यो नाटक राट्रिय नाचघरको मञ्चमा केही हप्ता राम्रै चलेको थियो ।
उनले पछि चलचित्र तथा टेलिचलचित्रका लागि पनि कथाहरु लेखे । सम्वाद लेखे । बासु शशीको लेखनमा बनेको तथा मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले अभिनय गरेको ‘लोभी पापी’ चलचित्र उनको जीवन्त रचना बनेको थियो । उनी सबैसँग प्रेमपूर्वक घुलमिल हुन सक्ने व्यक्ति भएकाले कलाकारहरुसँग पनि उनी राम्रै घुलमिल भएका थिए ।
उनी साहित्यिक यात्रामा पनि सरिक हुन्थे र घुलमिल हुन्थे ।
२०३८ सालमा शनिवार साहित्य समूहले आयोजना गरेको “ विराट साहित्य सम्मेलन’’ तथा पोखरेली युवा साहित्यिक परिवारले बर्षेनी गर्ने टिकटमा मुक्तक कार्यक्रममा एकपल्ट मैले उनीसँग यात्रा गर्ने मौका पाएको छु । उनी रसप्रिय थिए ।
बिराटनगरमा हामी मारवाडी सेवा समितिको अतिथि सदनमा बसेका थियौं । त्यहाँ मद्य, मांस प्रतिवन्धित थियो । तर, सुत्नेबेलामा चुस्की लगाउने आदत भएका बासु शशीले लुकाएर त्यहाँ सिरानमुनिबाट निकाल्दै नियम तोडेको रमाइलो घटना थियो । उनलाई पोखराका विजय वजिमयले साथ दिएका थिए ।
पोखरामा पनि एक दिन बिहानको खानाका बेला कोही प्रसंशकले सोध्यो, ‘दाइ यस्सो लिने हो ?’
बासु शशीले जवाफ दिए, ‘हुन त हुन्थ्यो, तर एउटा समस्या हुन्छ ।’ ‘के समस्या हो दाइ, हामी समाधान गर्छाैं नि !’ पोखरेली युवाले फूर्तिसाथ भने ।
‘अरु त केही होइन, अहिले खाएपछि भरेसम्मै खाइरहनुपर्छ !’
अनि बिहानको खानासँगै चुस्की पनि चल्यो ।
बासु शशीको एउटा डराउने बानी रहेछ । हामीलाई पोखरेली साथीहरुले डेभिड फल्स, अर्थात् पाताले छाँगो घुमाउन लगेका थिए । हामी सबैले रेलिंग समातेर छाँगोको अवलोकन गर्याैं । तर, बासु शशी डराएर भित्तामा पो अढेस लाएर बसे ।
बासु शशी र श्रीधर खनालले सँगै प्लट लिएर देउपाटनको अलि भित्र घर बनाएपछि त्यहाँ पनि प्रेस सारिएको थियो । तर, पछि ‘सञ्चय’ पत्रिका पनि बन्द भयो । प्रेस पनि बन्द भयो ।
म एकपल्ट साझा प्रकाशनको शेयर होल्डरबाट चयन गरिने सञ्चालकको उम्मेदवार भएँ । अनि बासुलाई भन्न गएँ । उनले भने, ‘गोविन्द बाबु, उम्मेदवार भएपछि जित्नैपर्छ ।’
उनले त्यतिबेलाका अर्का उम्मेदवार देवेन्द्रप्रताप शाहसँग मिलेर चुनावमा भाग लिन सुझाव दिए र देवेन्द्रप्रतापलाई भनिदिने कुरा पनि गरे । देवेन्द्रप्रताप शाह नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका थिए । तर म कुनै राजनैतिक लेवल लगाएर होइन, साहित्यकारको नाताले चुनावमा जान चाहन्थें । यही कारणले मैले चुनाव हारें ।
बासु शशीले साझा प्रकाशनको चुनावमा उम्मेदवार हुँदा डा. कुमारबहादुर जोशीलाई पनि भाषण गर्ने कला सिकाएर रिहर्सल गराएको देखेको थिएँ । तर, राजनीतिक खोल नओढी साझा प्रकाशनमा चुनाव जित्ने समय घर्किसकेको थियो । जोशीले पनि चुनाव हारे ।
बासु शशीका केही खास बानीहरु थिए । उनी कतै एक्लै हिँड्दैनथे, उनलाई कोही न कोही साथ चाहिन्थ्यो । उनलाई स्थायी साथ दिने सुगन्धका सम्पादक कैलाश भण्डारी थिए । तर, सधैं उनी उपलब्ध हुँदैनथे र अरु अनुज साहित्यकारको साथ लिन्थे । तीमध्ये म पनि एक थिएँ ।
अझ उनी यस्ता–यस्ता परिकल्पना गर्थे, सुन्दै मज्जा लाग्ने । त्यस्तो परिकल्पना मनमा आउने वित्तिकै उनी फोन गरेर डाक्थे र सुनाउथे । उनलाई सुन्ने पात्र सामुन्ने नै चाहिन्थ्यो ।
म त्रिभुवन विश्वविद्यालयको तत्कालीन केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा थिएँ । एक दिन अफिसको नम्बरमा बासु शशीको फोन आयो । उनले भने, ‘जरुरी कुरा छ गोविन्द, आउन सक्छौ ?’
मैले नाईं भन्ने कुरै थिएन । त्रिपुरेश्वरबाट रत्नपार्क, रत्नपार्कबाट देउपाटन मिनिबसमा गएर हतारिँदै पुगें ।
उनले भने, ‘बुझ्यौ, अब एउटा यस्तो साहित्यिक पत्रिका निकाल्ने, जसको नाउँ हुनेछ ‘हिरामोती’ । त्यसमा प्रकाशित हुने रचनाहरु हिरा मोती जस्तै मूल्यवान हुनेछन् । त्यसमा छापिने साहित्यकारले छापिएकोमा गर्व गर्नेछन्, नछापिनेहरु छापिन लालायित हुनेछन् । र, जसका घरमा यो पत्रिका हुनेछ, उसले आफ्नो दराजमा यो पत्रिका राख्दा गर्वको महसुस गर्नेछ । गज्जब छैन त यो आइडिया ?’
मैले ‘गज्जब छ दाइ’ भन्दै उनको अनुहारमा हेरें । उनले यत्ति कुरा बताउन मलाई फोन गरेर डाकेका रहेछन् ।
तर, त्यो उनको परिकल्पनाले साकार रुप लिन पाएन ।
एकपल्ट त्यसैगरी उनले अफिसमा फोन गरेर बोलाए । म गएँ । केहीबेर गफगाफपछि भने, ‘भेडासिंसम्म जानु छ, ल जाउँ । अनि तिमी उतैबाट कालिमाटी जानू ।’
म त्यतिबेला कालिमाटीमा बस्ने गर्थें ।
बासु शशी र म देउपाटनदेखि हिँड्दै हिँड्दै रत्नपार्क, असन हुँदै ‘खेलौना’ पत्रिकाकी सम्पादक तथा त्यहाँकै वडाकी वडाध्यक्ष हसना शाक्यको निवास पुग्यौं । उनी बाशु शशीकै प्रेसबाट सो पत्रिका मुद्रण गराउँथिन् ।
बाशु शशी कि ट्याक्सी चढ्थे, कि पैदल । त्यसरी उनीसँग पैदल हिँड्दा साहित्यका विविध कुरा, प्रसङ्ग र ज्ञानहरु पाइने अतुलनीय अवसर प्राप्त हुन्थ्यो, जुन आज पनि मैले गर्व गर्ने कुरा हो ।
त्यो दिन पनि उनीसँग त्यसरी झण्डै एक घण्टा भन्दा बढी पैदल यात्रामा उनका अनुभव सुन्ने अवसर पाएँ ।
कोलकातामा साहित्यिक कार्यक्रमको सिलसिलामा पुग्दा बंगाली भाषाका महान साहित्यकार विमल मित्रले गरेको स्वागत अविश्मरणीय छ भन्थे उनी ।
अमेरिका बसाईका बेला आफूले कुखुराको मासुको छोयला बनाएर अमेरिकन साथीहरुलाई ख्वाएको र अमेरिकनहरुले त्यसको सिको गर्दै बीफको छोयला बनाएको कुरा गर्थे ।
बासुशशी अलिक रीस उठेको मान्छेलाई गाली गर्नै परे ‘पापी’ भन्थे । त्यत्ति मात्र । वासुशशीका रचनामध्ये छायाँमा परेको विधा हो गीत । उनले प्रशस्त कर्णप्रिय गीतहरुको रचना गरेका थिए ।
“ मसँग यौटा तारा छ मायाको….’’ गीत एक समयमा ओठओठमा झुण्डिएको थियो । यसका स्रष्टा बासु शशी थिए । उनको निधनपछि गणेश रसिकको संगीत र अरुसहितको गायनमा यो प्रकाशित भयो ।
मैले एकपल्ट बासुलाई सोधेको थिएँ, ‘हामीकहाँ त गजल उर्दूबाट आएको हो ।’
उनले तत्कालै भनेका थिए, ‘उर्दू गजल हामीकहाँ हाम्रो नभएर के भो त, हामीसँग झ्याउरे छ नि । दुनियाँमा कहीँ नेपालको जस्तो झ्याउरे पाइन्छ ?’
बासुको यति कुरा सुनेपछि लाग्यो, ओहो, हामीसँग झ्याउरे छ नि । यही शैलीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुना मदन लेखेका हुन् । मेरो छाती बासु शशीको जवाफले फराकिलो भएको महसुस भयो ।
बासु शशीको घरको ढोका र भान्सा सबैका लागि सधैं खुल्ला हुन्थ्यो । साहित्यकारहरु आफ्ना ताजा रचना सुनाउन आउँथे । एकपल्ट म उनको घरमा पुगेको थिएँ । साहित्यिक कुराकानी गर्दै थियौं, फोनको घण्टी बज्यो । ‘हुन्छ आउनोस्’ बासुले उनले ।
एकछिन पछि आइपुगे किशोर नेपाल । उनले ताजा–ताजा निबन्ध लेखेका रहेछन् र लेखिसक्नेवित्तिकै तात्तातै बासु शशीलाई सुनाउने ईच्छा भएर फोन गरेका रहेछन् ।
किशोर नेपाल आए र ‘भातको कुनै स्वाद हुँदैन’ शीर्षकको ताजा निवन्ध सुनाए । बासु शशीले मन पराए । तारिफ गरे ।
उनीकहाँ साहित्यकारहरु रचना सुनाउन जान्थे । तर, उनले आफ्नो घरमा आएका कसैलाई रचना सुनाएको चाहिँ मैले कहिल्यै देखिनँ ।
फुक्काफाल, आनन्दी कवि बासुशशीलाई अर्बुद रोगले समातेको पत्ता लागेपछि उनको उपचार नेपालमा शुरु भयो । तर, बम्बईको टाटा मेमोरियलमा उपचार हुन सक्ने भनी त्यहाँ लगियो । स्थिति बिग्रँदै गयो र उनले आफू अब बाँच्दिनँ भन्ने ठहर गरेपछि आफ्नै मुलुकमा प्राण त्याग्छु भनेर नेपाल फर्काउन आग्रह गरे । तर, नेपाल फर्काउन पनि समय पुगेन । उनले त्यहीँबाट जीवन विसाए ।
बासु शशीको निधन भएको पनि २७ बर्ष भैसकेछ । तर, उनी आफ्ना रचनामा, पाठकका हृदयमा सदा जीवित छन् ।
प्रतिक्रिया 4