+
+
Shares

क्यान्सरका बिरामीलाई दुर्लभ महँगो औषधि निःशुल्क  

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते ११:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डाइरेक्ट रिलिफले नेपाललाई ५ वर्षसम्म आवश्यक पर्ने ३७ प्रकारका दुर्लभ क्यान्सर औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले औषधि अभावमा विदेश जानुपर्ने समस्या कम गर्न औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए।
  • मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने र सूची थप गरेर राहत विस्तार गर्ने योजना रहेको बताए।

२९ असार, काठमाडौं । अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने भएको छ ।

नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो ।  त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध हुनेछ ।

डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै स्वास्थमन्त्री प्रदिप  पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त गरेको बताए ।

डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधि नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग स्वरूप उपलब्ध हुने मन्त्री पौडेलले जानकारी दिए ।

‘क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई समस्या छ,’ मन्त्री पौडेलले भने, ‘राज्यको लगानीविना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।’

हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अरू आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताए ।

‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधि पठाउने व्यवस्था मिलाइएको जानकारी समेत दिए ।

मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे ।

मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?