Comments Add Comment

घरेलु मैदानमा नेपाल-अष्ट्रेलियाको खेल तत्काल हेर्न नपाइने

एन्फा अध्यक्ष भन्छन्- फुटबलको क्यालेन्डरमै असर पर्‍यो

काठमाडौं । जुलाईमा फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को दोस्रो चरण छनोटको ड्र सार्वजनिक हुँदा नेपाल समूह बीमा पर्‍यो । नेपाल र अष्ट्रेलियाको खेल घरेलु मैदानमा हेर्न पाउने भएपछि फुटबल समर्थकहरू उत्साहित थिए । खेलाडीहरु पनि खुशी थिए । किनकी नेपालले पहिलो पटक अष्ट्रेलियासँग सिनियर स्तरमा फुटबल खेल्ने अवसर जुरेको थियो ।

ड्र अनुसार समूह बी मा एसियन कप जितिसकेको अष्ट्रेलियासंगै जोर्डन, कुवेत, नेपाल र चाइनिज ताइपेई थियो । तर अष्ट्रेलियाबाहेक तीन राष्ट्रसँग यसअघि खेलिसकेको थियो ।

नेपाल र अष्ट्रेलियाको पहिलो खेल सेप्टेम्बर २०१९ मा र दोस्रो खेल मार्च २०२० मा हुने तालिका थियो । र, २०२० को खेल नेपालको घरेलु मैदानमा हुने तय थियो ।

तर विश्वरभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण फिफा  र एएफसीले तत्कालका लागि छनोट खेलहरु स्थगित गरेपछि नेपालले घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्न सम्भावना तत्कालका लागि टरेको हो ।

नेपालले अवे म्याच अष्ट्रेलियामै गएर खेलेको थियो । दशैँको बेलामा परेको उक्त खेल नेपालले कानबेरामा खेलेको थियो । त्यो खेलमा पनि उल्लेख्य नेपाली दर्शक उपस्थित थिए । पहिलो हाफमै ३ गोल खाएको नेपाल ५-० ले पराजित भयो ।

नेपालले छनोटको पहिलो खेलमै कुवेतसँग ७-० को फराकिलो हार बेहोरिसकेको थियो । त्यसको एक सातामै चाइनिज ताइपेईलाई २-० ले हराएर नेपालले पुनरागमन गरेको थियो । तेस्रो खेलमा अष्ट्रेलियासँग पराजित भएपछि नेपाल जोर्डन गयो । जोर्डनसंग पनि ३-० ले पराजित भयो ।

चार अवे खेलपछि नेपालले अब घरेलु मैदानमा खेल्न पालो भएकाले पुटबल समर्थक उत्साहित थिए । तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला तयार नहुँदा नेपालले कुवेत विरुद्धको होम म्याच गुमायो । नेपालले गत नोभेम्बरमा भुटानमा गएर न्युट्रल भेन्युमा कुवेतसँग खेल्यो र १-० को हार बेहोर्यो । त्यसमा नेपालले घरेलु मैदान र घरेलु दर्शकको साथ गुमाएको थियो । हुन त त्यसअघि नै रंगशालामा तयार नहुँदा नेपालले जोर्डन र चाइनिज ताइपेईसँग पनि घरेलु मैदानको सट्टा पहिला अवे मैदानमा खेलेको थियो ।

अब २०२० मार्च अन्तिममा नेपालमा दुई खेल हुँदै थिए । मार्च २६ मा चाइनिज ताइपेई र मार्च ३१ मा अष्ट्रेलिया । तर अब त्यो दुवै म्याच तत्कालका लागि टरेको छ । नेपालले घरेलु मैदानमा आफ्नो राष्ट्रिय टिमले खेलेको हेर्न अझै कुर्नुपर्नेछ । अष्ट्रेलिया जस्तो एसियन पावरहाउससँग घरेलु मैदानमा नेपालले खेलेको हेर्ने नेपाली दर्शकको चाहना पनि केही पर धकेलिएको छ ।

कारण हो, कोरोना भाइरस ।

फिफा र एएफसीको बिहीबार बसेको बैठकले स्वास्थ्य र सुरक्षा हिलो प्राथमिकता रहेको बताउँदै विश्वकप र एसियन कप संयुक्त छनोट चरणका खेलहरु स्थगित गर्ने निर्णय गरेको छ । यसबारे सदस्य राष्ट्रहरुलाई जानकारी गराउने र खेलतालिका पछि अपेडेट गराउने बताएको छ ।

यस्तै नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राष्ट्रिय खेलकुद परिषदले पनि बिहीबार नै विज्ञप्ति जारी गर्दै नेपालमा हुने ठूला खेल प्रतियोगिता रोक्न निर्देशन दिएको छ ।

यसले गर्दा पनि नेपालमा विश्वकप छनोटका खेलहरु नहुने पक्का भएको छ ।

त्यसैले चैत १३ गते चाइनिज ताइपेई र १८ मा अष्ट्रेलियासँग नेपालले दशरथ रंगशालामा खेलेको हेर्न नपाइने भएको हो । नेपालको मुख्य प्रशिक्षक बनेको एक वर्षसम्म पनि घरेलु मैदानमा नेपालको खेल हेर्न नपाएका योहान कालिन पनि यसपटक अष्ट्रेलिया विरुद्धको होम म्याचलाई लिएर उत्साहित थिए । उनले ‘घरेलु मैदानमा नेपालको खेल हेर्न प्रतिक्षारत छु’ भनेका थिए । अब त्यो प्रतिक्षा लम्बिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरसको सम्भावित संक्रमणका कारण सबै खाले फुटबल गतिविधि रोक्ने निर्णय गरेको छ । आगामी चैत ३ गतेदेखि धरानमा हुने तय भएको उपमेयर कप राष्ट्रिय महिला फुटबल पनि अर्को निर्णय नआएसम्मका लागि सारिएको छ भने विश्वकप छनोट खेल्ने पुरुष फुटबलको टोलीको प्रशिक्षण पनि हाललाई स्थगित गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कोरोनाको कारण फुटबल लगायत खेलकुद गतिविधि रोकिनु दुखद भएको बताए । ‘नेपाली फुटबल नै प्रभावित बनेको छ । यसले गर्दा फुटबल क्यालेन्डरमा नै असर गरेको छ’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, ‘खेलाडीदेखि अफिसियल व्यवस्थापक लगायत सबै जनालाई यसले असर गर्नेछ ।’

कोरोनाको त्रास सकिएर फेरि चाँडै फुटबल गतिविधिमा फर्कने आशमा रहेको बताए ।

यस्तै राष्ट्रिय टिमका सदस्य तथा १३औं सागमा नेपाल यू२३ टिमले स्वर्ण जित्दाका कप्तान सुजल श्रेष्ठले प्रशिक्षण रोकिएपछि अब खेलाडीको फिटनेशमा असर पर्छ कि भन्ने चिन्ता रहेको बताए । त्यसका लागि खेलाडीले आफैं वर्कआउट गर्नुपर्ने उनले बताए ।

साथै अब नयाँ तालिका कहिले आउँछ, टिमको प्रदर्शन पनि त्यसमा निर्भर हुने बताए । ‘यदि एएफसीले मिति पछि सार्‍यो भने हामीसँग समय हुन्छ अलि सजलो हुन्छ । चाँडै खेल हुने भयो भने गाह्रो हुन्छ होला’ उनले भने ।

कोरोनाकै कारण नेपालमा अन्य खेलगतिविधिहरु पनि प्रभावित भएको छ । नेपालकै ठूलो खेलकुद प्रतियोगिता मानिने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० को चौथो संस्करण पनि अनिश्चितकालका लागि स्थगित भएको छ । चैत १ देखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने प्रतियोगितामा विदेशी स्टार खेलाडीहरु समेत खेल्ने तय भएको थियो । तर यो सम्भावना पनि तत्कालका लागि टरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment