Comments Add Comment

नेपाली खेलकुदलाई कोरोनाको असर, के-के रोकियो ?

२५ फागुन, काठमाडौ ।  यतिखेर कोरोना भाइरस (कोभिड १९)  को संक्रमण विश्वभर फैलिएको छ । विश्वको सय भन्दा बढी देशमा पुगिसकेको कोरोनाले गर्दा ३ हजार भन्दा  बढी मानिसको मृत्यु भइसकेको छ ।

नेपालमा पनि यसले असर पारिसकेको छ । अहिलेसम्म एक जनामा मात्र कोरोना संक्रमणको पुष्टि भए पनि नेपाल यसको प्रभावबाट अछुतो भने छैन । अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि कोरोनाको ठूलो असर देखिएको छ ।

कोरोना भाइरस नफैलिएको अहिले अहिले नेपाल एभरेष्ट प्रिमियर लिग टी २० क्रिकेटको धमाधाम तयारी भइरहेको हुने थियो । पहिलो पटक डबल राउण्ड रोविनमा हुन लागेको महिला राष्ट्रिय लिग फुटबलको चर्चा हुने थियो ।

तर चैत १ गतेबाट हुने इपीएल क्रिकेट र चैत ३ गतेबाट हुने महिला राष्ट्रिय लिग अनिश्चित कालको लागि स्थगित भएको छ । अब कुन मितिमा सञ्चालन हुन्छ निश्चित छैन ।

‘फुटबलसंगै नेपाली खेलकुदलाई नै यसले असर पारेको छ । हाम्रो क्यालेन्डरनै ब्रिग्रियो’ एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको यो भनाईले पनि प्रमाणित गर्छ नेपाली खेलकुदमा कोरोनाको असर ।

यस्तै बिहीबार ईपीएल प्रालिका प्रवन्ध निर्देशक अमिर अख्तरले इपीएल स्थगित गर्न पत्रकार सम्मेलन आयोजना गर्दा निकै दु:खी देखिएका थिए । ‘हामीले खेलाडी फ्यान सबैको सुरक्षालाई हेर्दै यो निर्णय लिएका छौँ । निश्चय नै यसले हामीलाई दुखी बनाएको छ । तर हामी राष्ट्रिय टिमको क्यालेन्डर र विदेशी खेलाडीको उपलब्धता हेरेर अर्को मिति तय गर्छौँ’ उनले भनेका थिए ।

तर अर्को मिति कहिले हो यकीन छैन ।  कोरोनाको कारण स्थगित हुने ईपीएल पहिलो खेलकुद प्रतियोगिता हो ।

यस बाहेक नेपालमा यसै मार्च अन्तिम साता विश्वकप छनोट फुटबल अन्तर्गत दुई ठूला खेल हुँदै थियो । नेपालले मार्च २६ चाइनिज ताइपेई र मार्च ३१ अष्ट्रेलियासंग खेल्ने तालिका थियो । तर कोरोनाकै कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफादेखि एएफसीसम्मले अहिले छनोटका खेल स्थगित गर्नुपर्ने अवस्थामा पुगेको जनाएपछि त्यो खेलहरु तत्कालको लागि टरेको छ ।

घरेलु मैदानमा ठूलो खेल हुनै लाग्दा दर्शक र खेलाडीहरु सबै उत्साहित थिए । तर यो उत्साह अहिले कोरोनाले भगाएको छ ।

राष्ट्रिय टिमका सदस्य सुजल श्रेष्ठ यसले फाइदा र बेफाइदा दुवै भएको बताउँछन् । खेल सर्दा खेलाडीको प्रशिक्षणसमेत रोकिएको छ । यसले फिटनेस खस्किन्छ कि भन्ने सुजलको चिन्ता छ । त्यसमा खेलाडी आफैंले अभ्यास गर्नुपर्ने उनले बताए । यस्तै अब खेलको मिति अलि पछि सरे नेपाललाई फाइदा हुने र चाँडै नै खेल हुने भएमा अलि गाह्रो हुने उनको भनाइ छ ।

एन्फा अध्यक्ष शेर्पाले अब खेलाडीदेखि प्रशिक्षक अफिसियल सबै फुर्सदिला हुने भन्दै कोरोनाको संक्रमण चाँडै रोकियोस् भन्ने कामना गरे । नेपालमा अब हुन लागेका ठूला खेलकुद प्रतियोता र खेल गतिविधिहरु रोकिने भएपछि निश्चयनै खेलाडीदेखि खेलसंवद्ध सबै व्यक्ति फुर्सदिला हुने भएका हुन् ।

राष्ट्रिय क्रिकेट टिम शनिबार मात्र थाइल्याण्डमा एसीसी इस्टर्नर रिजन क्रिकेट खेलेर फर्किएको छ । ईपीएल तत्कालका लागि नहुने भएपछि अब क्रिकेट खेलाडी पनि फुर्सदिला हुने छन् । तर अप्रिलमै नामिबियामा विश्वकप लिग २ अन्तर्गत नेपालले ट्राई सिरिज खेल्दैछ ।

नेपाल भलिबल संघले यसअघि नै बंगलदेशमा हुने एभिसी सेन्ट्रल जोन कोरोनाकै कारण सरेपछि राष्ट्रिय पुरुष भलिबल टिमको प्रशिक्षण स्थगित गरिसकेको छ ।

बिहीबार मात्र युवा तथा खेलकुद मन्त्रालयल र राष्ट्रिय खेलकुद परिषद्ले पनि अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरका खेल प्रतियोगिताहरु तत्काललाई स्थगित गर्न सबै खेल निकायलाई सुचित गरिसकेको छ । सरकार, जिल्ला प्रशासन कार्यालयहरुले ठूलो भीडभाड, सभा सम्मेलन, मानिसको जमघट नगर्न आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि ठूला कार्यक्रम नगर्न भनेको छ ।

विशेषगरी फुटबल र क्रिकेट विश्वमै चर्चित खेल हुन् । नेपालमा पनि यसका गतिविधि भइरहेकै हुन्छन् । अहिले तत्कालका लागि दुवै खेल स्थगित हुँदैछन् । विश्व खेलकुदमा पनि कोरोनाले गर्दा खेल गतिविधिहरु प्रभावित भइरहेको छ । इटलीमा लिगको खेलहरु केही स्थगित भएको छ भने केही खेल दर्शकबिनै खेलाइएको छ ।

नेपालमा भने  एन्फाले आफ्नो जिल्ला संघहरुलाई पनि अब तय भएको प्रतियोगिता तत्कालका लागि रोक्न आग्रह गरिसकेको छ ।

यसबाहेक एन्फाकै आयोजनामा अहिले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बी डिभिजन लिग भइरहेको छ । यस्तै पोखरामा सहारा क्लबको आयोजनमा १८ औं आहा रारा गोल्डकप भइरहेको छ । शनिबार मात्रै इलाममा माइभ्याली गोल्डकपको फाइनल सम्पन्न भएको छ । माइभ्याली यस सिजन सम्पन्न भएको छैटौं गोल्डकप हो ।

यसअघि नै मोफसलको सर्वाधिक नगद पुरस्कार राशी रहेको खप्तड गोल्डकप, मोफसलको पुरानो मध्ये एक बुढासुब्बा गोल्डकप, सताक्षि गोल्डकप,राइनो गोल्डकप र बागमती गोल्डकप सकिएको छ ।

राखेपले बिहीवार खेलहरु रोक्न सूचना जारी गर्दा शुरु भइसकेको मोफसलको अर्को चर्चित गोल्डकप आहा रारा भने अहिले पोखरामा सञ्चालन भइरहेको छ । यस्तै सर्लाहीमा राजर्षी जनक गोल्डकप पनि चलिरहेको छ ।

यसबाहेक फागुनको अन्तिम साता शुरु हुने र चैतको पहिलो साता हुने गोल्डकपहरु भने स्थगित गरिएको छ  । मोफसलकै अर्को पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप पनि कोरोनाकै कारण स्थगित गरिएको छ । तिलोत्तमा चैत १ देखि बुटवलमा हुने तय थियो ।

राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि काठमाडौंमा जिल्लास्तरीय छनोट क्रिकेट प्रतियोगिता भने चलिरहेको छ ।

यसबाहेक अन्य फुटबल गोल्डकपहरु भने स्थगित गरिएको छ । जिल्लामा केही फुटबल गतिविधिबाहेक अरु रोकिएको छ । कोरोनाकै कारण मोफसलमा आयोजना हुने तय भएको गोल्डकप रोकिएका छन् ।

यस्तै गणेशमान सिंहको स्मृतिमा सञ्चालन भइरहेको राष्ट्रिय बक्सिङ प्रतियोगिताको चार वटा प्रदेशको छनोट खेलहरु र काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगिता पनि रोकिएको छ ।

आयोजकले  गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशको छनोट र काठमाडौंमा आगामी चैत १८ देखि २२ गतेसम्म  तय भएको राष्ट्रिय प्रतियोगिता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने नेपाली खेलाडीलाई यही फागुन महिनामै नगद र पुरस्कार वितरण गर्ने भनिए पनि कोरोनाकै कारण प्रभावित बनेको छ । सरकारले नै ठूला समारोह कार्यक्रम नगर्न भनेपछि पुरस्कार वितरण पनि रोकिएको राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले बताए । उनले खेलाडीको बैँक खातामै रकम दिने योजना रहेको र त्यसका लागि नागरिकता र बैंक खाता संकलन भइरहेको जानकारी दिए ।

अब कोरोना भाइरसको जोखिम कहिले हट्छ र रोकिएको खेलकुद गतिविधि कहिले हुन्छ तत्काल भन्न सकिने अवस्था छैन । एन्फा अध्यक्षले भनेजस्तै यो चाँडै रोकिए हुन्थ्यो भन्ने सबैको आशा छ ।

सकिएको फुटबल प्रतियोगिता

  • सताक्षी गोल्डकप
  • राइनो गोल्डकप
  • बागमती गोल्डकप
  • बुढासुब्बा गोल्डकप
  • खप्तड गोल्डकप
  • माइभ्याली गोल्डकप

भइरहेको प्रतियोगिता

  • आहा रारा गोल्डकप – पोखरा
  • बी डिभिजन लिग – ललितपुर
  • राजर्षि जनक गोल्डकप – सर्लाही
  • सुखानी शहीद स्मृति महिला फुटबल प्रदेश नम्बर १ स्तरिय – झापा
  • कटारी मेयर कप – उदयपुर

अब हुने तय भएको तर स्थगित भएको

  • एभरेष्ट प्रिमियर लिग – चैत १ गतेदेखि
  • तिलोत्तमा गोल्डकप – चैत १ देखि
  • राष्ट्रिय महिला लिग – चैत ३ देखि
  • पुरुष टिमको प्रशिक्षण स्थगित – एक साता देखि भइरहेको
  • भरतपुर गोल्डकप-  चैत ६ देखि नाराणगढको क्याम्पचौरमा हुने भनिएको
  • सुदूरपश्चा राजधानी गोल्डकप – चैत २२ देखि २८ सम्म केलालीको अत्तरियामा हुने भनिएको
  • सुदूरपश्चिम गौरीगंगा गोल्डकप – चैत २९ बाट गर्ने गरी सारिएको
  • गणेशमान सिंह स्मृति बक्सिङ – गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमको छनोटसंगै चैत १८ देखि २२ गतेसम्म तय भएको राष्ट्रिय प्रतियोगिता स्थगित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment