Comments Add Comment

राप्रपा एकीकरणको रहस्य

२५ फागुन, काठमाडौं । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–३ बाट ३२ हजार ८६६ मत ल्याएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार घनश्याम भुसाल निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का दीपक बोहरा ।

‘गोलाकारभित्र हलो’ चिह्न लिएर चुनाव लडेका बोहराले २७ हजार ४२२ भोट पाए । ‘वर्गाकारभित्र हलो’ चिह्नबाट त्यही क्षेत्रमा चुनाव लडेका एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का कमलप्रसाद शर्मा उपाध्यायले एक हजार ८५६ मत ल्याए ।

रुपन्देही–३ मा ४ हजार ६३ मत बदर भएको थियो । त्यसमध्ये हलो चिह्नमा परेको करिब तीन हजार भोट बदर भएको राप्रपा नेता बोहरा बताउँछन् । उनी भन्छन्, ‘गोलाकारभित्रको हलो र वर्गाकारभित्रको हलोमा मतदाताहरू अलमलमा परेर निर्णायक भोट नै बदर भयो ।’

त्यतिबेला पाँच हजार ४४४ मतले पराजित भएका बोहोरा भन्छन्, ‘पार्टी विभाजन नभएको भए मेरो जित निश्चित थियो ।’

‘मतदाताको समर्थन हुँदाहुँदै चुनावमा पराजित हुन नपरोस् भनेर यसपटक पार्टी एकताका लागि दिनरात नभनेर दौडढुप गरेको हुँ’ पूर्वपञ्चहरूको बाहुल्य रहेको राप्रपा एकीकरणका सुत्रधार मध्येका एक बोहरा भन्छन् ।

राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच शनिबार १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको भोलिपल्ट अनलाइनखबरसँग बोहराले भने, ‘कम्तीमा विगतमा जस्तो मतदाताको समर्थन हुँदाहुँदै हाम्रा पार्टीका उम्मेदवारहरू पराजित हुने अवस्था आउँदैन ।’

सहमतिपत्रमा हस्ताक्षरपछि अध्यक्षत्रय मध्येका एक कमल थापाको बुझाइ पनि झण्डै त्यस्तै देखिन्छ । थापाले ट्विटरमा लेखेका छन्, ‘अब विगतका त्रुटी कमिकमजोरीबाट पाठ सिकेर अघि बढौं । राप्रपालाई देश बचाउने र बनाउने शक्ति बनाऔं ।’

जन्मिँदै टुटफुट

२०४६ सालको राजनीतिक परिवर्तनपछि कांगेस र कम्युनिष्टमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्ने प्रयास गरे । तर, एकीकृत पार्टी बनाउन सहमति नबनेपछि पटक प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपा जन्मिए ।

पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २०५१ को मध्यावधि निर्वाचनमा तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा लोकेन्द्रबहादुर चन्द र २०५४ मा कांग्रेसको समर्थनमा सूर्यबहादुर थापा प्रधानमन्त्री बने ।

तर, सत्तामोहले राप्रपामा विभाजन ल्यायो । ०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरेका थिए । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध । राणा र पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले शाही कदमको विरोध गरे, कमल थापा पक्षमा उभिए ।

शाही शासन चलिरहँदा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार ०७० मा त्यो पार्टी फेरि राप्रपामा विलय भयो ।

२०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच फेरि एकता त भयो, तर टिक्न सकेन ।

समानुपातिकबाट २४ सिट जितेको राप्रपा नेपाल र तीन प्रत्यक्षससहित १० सिट जितेको राप्रपाबीच ५ मंसिर २०७३ मा पार्टी एकता गर्ने सहमति भयो । एकताले पूर्वपञ्चहरूमा देखिएको उत्साह कम हुन नपाउँदै २०५३ सालमा जस्तै नेतृत्वमा सत्ताको छिनाझम्टी सुरु भयो । एकता गर्नुअगाडि नै सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने बहस यति चर्कियो कि २२ साउन २०७४ मा पशुपतिसमशेर राणले ४० प्रतिशत जुटाएर राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए ।

राणा नेतृत्वको दल दर्ता गर्न अदालतले २२ भदौमा निर्देशन दिएपछि थापा पनि के कम ? २७ असोजमा उपप्रधान तथा संघीय मामिलामन्त्रीको सपथ लिन पुगे । दुबै समूह शेरबहादुर देउवा सरकारमा सहभागी भए ।

२०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाए । बहुमत नेताहरूले चुनाव चिह्न हलोको सट्टा गाई राख्ने पक्षमा लागेपछि डा. लोहनीले अर्को पार्टी बनाएका थिए । २०७४ को प्रतिनिधिसभा चुनावमा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले बर्गाकारभित्र हलो चुनाव चिह्न पायो । वर्गाकारभित्रको चुनाव हलो चिह्न लिएर लडेको राप्रपा राष्ट्रवादीका कारण रुपेन्देही–३ मा आफू पराजित भएको दिपक बोहराको बुझाइ छ ।

चुनावी झड्काको पाठ

२०७४ को चुनावमा तीनवटा राप्रपाले गाई, वर्गाकारभित्रको हलो र गोलाकारभित्रको हलो चिह्न लिएर चुनाव लड्यो । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देन बाहेक कसैले पनि चुनाव जित्न सकेनन् ।

‘थ्रेसहोल्ड’ पार गर्न नसकेपछि एक सिट जिते पनि संघीय संसदमा लिङ्देनले दलीय सांसदको मान्यता पाउन सकेनन् । झापा–१ बाट निर्वाचित उनी स्वतन्त्र सांसदको हैसियतमा छन् ।

कांग्रेससँग गठबन्धन गरेको राप्रपाले प्रदेशतर्फ तीन सिट जित्यो । संघीय संसद्मा शुन्य सिट जितेको राप्रपा प्रजातान्त्रिकले प्रदेश सभा एक सिटमा चित्त बुझायो । तीनवटै राप्रपाले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् । राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत र प्रत्यक्षतर्फ एक सिट जित्नैपर्ने व्यवस्था छ ।

समानुपातिकतर्फ राप्रपाले एक लाख ९६ हजार ७८२, राप्रपा (प्रजातान्त्रिक)ले ८८ हजार ३७७ र एराप्रपा (राष्ट्रवादी)ले २८ हजार ८२८ मत ल्याएको थियो । तीनवटै पार्टीको भोट जोड्दा थ्रेसहोल्ड पार गर्न आवश्यक तीन प्रतिशत पुग्छ ।

पूर्वमन्त्रीसमेत रहेका बोहरा भन्छन्, ‘फुटले कति नोक्सानी गरेको छ भन्ने त यसबाट पनि प्रष्ट छैन र ?’

अस्तित्वको संकट

२०७४ को निर्वाचन दुईवटा ठूला कम्युनिष्ट पार्टी सम्मिलित वाम गठबन्धनले संघीय संसद र ६ वटा प्रदेशमा प्रष्ट बहुमत ल्यायो । बाँकी दलहरूको संसदमा उपस्थिति यति कमजोर बन्यो कि प्रमुख विपक्षी नेपाली कांग्रेस समेत एक्लै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसक्ने अवस्थामा पुग्यो ।

विसं. २०१५, २०४८, २०५६, २०७० का आमनिर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसकै संसदीय गणित यति कमजोर बनेपछि राप्रपा र राप्रपा संयुक्तको अस्तित्वमाथि संकट मडारिनु अस्वाभाविक होइन ।

‘०७३ को पार्टी एकताले जुन उभार आएको थियो, त्यसले बढ्ता अहम आयो । नेताहरुमा हामी एक्लै सक्छौं भन्ने भ्रम पर्‍यो र व्यक्तिगत स्वार्थका कारण पार्टी फुटाए’ अहिले पार्टी एकताका लागि पहल गर्ने मध्येका एक हरिबहादुर बस्नेत भन्छन्, ‘तर २०७४ को आम चुनावले हामीमाथि अस्तित्वको संकट आइलाग्यो ।’

राप्रपा केन्द्रीय सदस्य अर्जुन राई टुटफुटले कार्यकर्तामा व्यापक असन्तुष्टि बढाएको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘देशभरि जहाँ पुग्दा पनि कार्यकर्ता निराश देखिन्थे ।’

टुटफुट र पार्टी नेतृत्वले देखाएको सत्तामोहका कारण पार्टी नै नरहने हो कि भन्ने अवस्था आएपछि दोस्रो नेताहरुले फेरि एकताको नारा दिए । तर, त्यो स्वर मसिनो थियो । त्यसमा दीपक बोहोरा, बुद्धिमान तामाङ, हरिबहादुर बस्नेतहरुले दिएको नारामा स्वर थपिँदै गयो ।

त्यसैको परिणाम हो, तीन अध्यक्ष रहने गरी शनिबार भएको १० बुँदे सहमतिपत्रमा हस्ताक्षर ।

हस्ताक्षरकर्ताको अनुहारको सन्देश

हस्ताक्षरकर्ता मध्येका एक कमल थापाले बाह्रघण्टा नबित्दै ट्विट गरे, ‘पार्टी एकता गर्दा केही अव्यवहारिकजस्तो लाग्ने समझदारी गर्नु परे पनि एकता महाधिवेशनबाट निर्वाचित अध्यक्षको हैसियतले आफ्नै कार्यकालमा पार्टीलाई एकतावद्ध गर्न सकेकोमा म सन्तुष्ट र खुसी छु ।’

पार्टी एकतालाई नजिकबाट नियालिरहेका राप्रपाका एक पदाधिकारीको बुझाइमा चतुर राजनीतिकर्मीको छवि बनाएका थापाको यो ट्विट अर्थपूर्ण छ । उनी अझै पनि यो एकता दीगो हुनेमा आशंका व्यक्त गर्छन् । उनी भन्छन्, ‘विगतको टुटफुटको इतिहास मात्र होइन, शनिबार राति सहमतिमा हस्ताक्षर गर्दा पनि नेताहरुको अनुहार उज्यालो थिएन ।’

नाम उल्लेख गर्न नचाहने ती पदाधिकारीका अनुसार अस्तित्वको संकट आएको मात्र होइन, दबावमा परेर एकता गरेको त होइन भन्ने आशंका गर्नेहरू पार्टीमा थुप्रै छन् । पार्टी एकता वार्ता रोकेर तत्कालीन राप्रपा संयुक्तका अध्यक्ष राणा भारत जानु, पूर्वराजा भारतमै रहनु नेताहरू आफैं मिलेका हुन् कि अरुले मिलाइदिएका हुन् भन्ने आशंका गर्ने ठाउँ रहेको उनको विश्लेषण छ ।

राप्रपाको एकता र राष्ट्रिय राजनीति

राप्रपाको एकता घोषणा २८ फागुनमा हुँदैछ । तर, त्यसको अघिल्लो दिन २७ फागुन बिहान अन्तिम बैठक बोलाइएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ‘राप्रपाको आन्तरिक जीवनमा सिर्जित पार्टी एकताको परिस्थिति र समग्र राजनीतिक परिस्थितिबारे छलफल गर्न एकता घोषणा हुनुअघिको अन्तिम बैठक’ बोलाइएको हो ।

राप्रपा अध्यक्ष थापाले ‘एकताबाट राष्ट्रवादी नेपालीहरूमा खुशी छाएको र ठूला दलहरूको ब्रह्मलुटबाट दिक्क भएका जनताले भरोसा गर्न सक्ने बलियो विकल्प बनाउने जिम्मेवारी आएको’ बताएका छन् । उनले यसका लागि नयाँ उर्जाका साथ संगठन निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरू सामाजिक सञ्जालमार्फत आव्हान समेत गरेका छन् ।

विश्लेषकहरू भने राप्रपाको जुट वा फुटले राष्ट्रिय राजनीतिमा केही फरक नपार्ने बताउँछन् । दुई–तीन वटा ‘पकेट क्षेत्र’ को निर्वाचन परिणाम भने प्रभावित हुनसक्ने उनीहरूको विश्लेषण छ ।

विश्लेषक पुरञ्जन आचार्य दक्षिणपन्थी धार बोकेको राप्रपा आफैं आफ्नो एजेन्डामा इमान्दार नदेखिएको बताउँछन् । ‘पार्टी एकता हुनु राम्रो हो तर राप्रपा यतिबेला जनताको नोटिसमा छ जस्तो लाग्दैन’ आचार्यले भन्छन्, ‘स्पष्ट एजेन्डा छैन भने व्यक्तिगत एकताले राष्ट्रिय राजनीतिमा केही अर्थ राख्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment