Comments Add Comment

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकाविरुद्ध अभिभावकले उजुरी नै दिएनन्

२७ फागुन, काठमाडौं । परीक्षामा कम अंक ल्याएको भन्दै ३४ जना विद्यार्थीको हात ब्लेडले चिर्न लगाएको घटना सार्वजनिक भएपछि प्रहरीले चासो देखायो ।

जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले बिहीबार कक्षा ६ र ७ का विद्यार्थीलाई सीसाकलम तिखार्ने ब्लेडले आफ्नै नाडी चिर्न लगाएकी थिइन् ।

शनिबार घटना बाहिर आएपछि महानगरीय प्रहरी वृत्त, बानेश्वरले जडीबुटीस्थित जागृति एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठ र केही अभिभावकसँगै शिक्षिका कर्माचार्यलाई बोलाएर सोधपुछ गर्‍यो ।

तर शिक्षिकाविरुद्ध कुनै उजुरी परेन ।

प्रिन्सिपल श्रेष्ठ पनि शिक्षिका कर्माचार्यलाई अवकाश दिइएको भन्दै पन्छिन खोजेका छन् ।

तर बालबालिकालाई अमानवीय दण्ड दिने शिक्षिकालाई कानूनी कारबाही गर्नुपर्ने माग उठेकाले महानगरीय प्रहरी परिसर, काठमाडौंले नै शिक्षिका कर्मचार्यलाई नियन्त्रणमा लियो र थप अनुसन्धान गरेर कारबाही अगाडि बढाउन चाल्यो ।

विद्यालय प्रशासन र अभिभावक भने प्रहरी कारबाहीको विपक्षमा उभिएका छन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरका एक अधिकृतका अनुसार अभिभावकले किटानी जाहेरीसमेत नदिँदा कर्माचार्यमाथिको कारबाही प्रक्रिया फितलो हुने खतरा छ ।

प्रिन्सिपल श्रेष्ठ पनि शिक्षिकालाई कारबाही गर्न नहुने जिकिर प्रहरीसामू गरेका छन् । ‘उहाँले हाम्रै बच्चालाई सुधार्न सांकेतिक कारबाही गर्नु भएको हो । तर्साउन मात्र खोजिएको कुरालाई कारबाहीको तहसम्म लैजानु भएन’ उनले भनेका छन् ।

अनुसन्धानका लागि म्याद थप

अभिभावकको जाहेरी नपरेपछि प्रहरीले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार कारबाही अगाडि बढाएको छ ।

ऐनअनुसार बालबालिकालाई शारीरिक वा मानसिक यातना दिनु दण्डनीय हुने भनिएको छ । र, यही कसूरमा म्याद थपका लागि प्रहरी अधिकृत कर्माचार्यलाई लिएर मंगलबार जिल्ला अदालत, काठमाडौं पुगेका थिए । अदालतले प्रहरी प्रतिवेदन अनुसार उनलाई पक्राउ मितिदेखि ७ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ । बानेश्वरका प्रहरी निरीक्षक प्रकाश थापा भन्छन्, ‘अदालतले सात दिन म्याद दिएको छ । अब विस्तृत अनुसन्धान गर्छौं ।’

यो अवधिमा अभियोग पुष्टि गर्ने थप आधार संकलन गर्ने एक अधिकृतले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment