Comments Add Comment

कोरोनाको डर, होली पर्वमा असर

२८ फागुन, वीरगञ्ज । वीरगञ्जमा वर्षेनी होली मिलन समारोहको आयोजना गर्दै आइरहेका कार्यक्रम कतिपय संघसंस्थाले यस वर्ष रोके । कतिपयले सामान्य ढंगले कार्यक्रम गरे ।

चीनबाट सुरु भएको कोरोना भाइरस ११९ देशमा फैलिएको र नेपालमा उच्च जोखिम रहेकोले यस वर्ष तराईमा पनि होली त्रासमै मनाइएको हो ।

राजपा नेपाल वीरगञ्ज महानगर कमिटीले होली मिलन समारोह ‘कोरोनो भाइरस’ कै कारण स्थगित गर्‍यो । महानगर कमिटी अध्यक्ष ओम प्रकास शर्राफ कोरेना भाइरसको संक्रमणबाट बच्न कै लागि होली मिलन समारोह स्थगित गरिएको बताउँछन् ।

राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणी एवं क्रियाशील युवा पत्रकार मञ्च नेपालले पनि वर्षेनी गर्ने होली मिलन समारोह यस वर्ष गरेन ।

समाजिक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले पनि कतिपय होली मिलन समारोह एवं सांस्कृतिक कार्यक्रमलाई अनुमति दिएन ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की सार्वजनिक कार्यक्रमका लागि संघसंस्थाले अनुमति नै माग्न नआएको बताउँछन् ।

‘एउटा संस्थाले ‘होली हंगामा’ भन्ने कार्यक्रम गर्न अनुमति माग्न आएका थिए, उनीहरुलाई अनुमति दिएनौं,’ उनले भने, ‘अन्य संघसंस्था कार्यक्रमका लागि अनुमति नै लिन आएनन् ।’

कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम गर्न भने जिल्ला प्रशासनले अनुमति दिएको उनी बताउँछन् ।

कोरोनाको असर व्यापारमा

कोरोना भाइरस संक्रमणको त्रासका कारण मानिसहरु घर बाहिर कमै निस्किएका छन् । कतिपयले होली साथीभाइ आफन्तजनमा सिमिति बनाएका छन् । ‘हृयाप्पी होली’ ‘बुरा नमानो होली है’ लेखिएका सेतो गञ्जीको बिक्रीसमेत कोरोनाको त्रासका कारण घटेको व्यापारीहरु बताउँछन् ।

वीरगञ्जको हंङकङ बजारमा कपडा बेच्दै आएका प्रसौनी गाउँपालिका- ३ नौतनका सुरेशप्रसाद साह कोरोनाको त्रास गाउँ गाउँमा पुगेको बताउँछन् ।

‘टिभी हेरेर कोरोना भाइरसका बारेमा सबैले सुनेका छन् । सहरबाट गाउँमा जाँदासमेत कोरोना लिएर आयो भनेर डराउँछन्,’ उनले भने, ‘होलीमा चारैतिर मानिस नै मानिस हुन्थे । यसपाली चहलपहल घटेको छ ।’

होलीका लागि २० हजारको कपडा किनेर ल्याएको तर १५ हजार जतिको मात्रै बिक्री भएको उनी बताउँछन् ।

खुद्रा बस्त्र व्यवसायी संघ हङकङ बजारका सचिव मोहम्मद इस्लामुद्दिन अन्सारी गत वर्षको तुलनामा २५ प्रतिशतको हाराहारीमा मात्रै व्यापार भएको बताउँछन् । ‘पसलको संख्या बढेको छ ग्राहक नै आईरेका छैनन्,’ उनी भन्छन् । ‘कोरोनाको डरले मानिसहरु होली खेल्न खुलेर निस्किरहेका छैनन् ।’

अर्का कपडा व्यापारी शिवजी प्रसाद पनि मंगलबार दिनभरीमा मुस्किलले ३ हजारको व्यापार गरेको बताउँछन् ।

बुधबार पनि होली मनाइदै

तराईका बारा, पर्सालगायत तराई मधेसका जिल्लामा बुधबार बिहानैदेखि होली मनाउनेको चहलपहल देखिएको छ । यस वर्ष तराईको होली मंगलबार र बुधबार दुई दिन मनाउन लागिएको हो ।

तराई मधेसमा कतिपयले मंगलबार मासांहारी भोजन नगर्ने हुँदा बुधबार नै विशेष होली मनाउने वीरगञ्जका रामहित यादव बताउँछन् ।

यही कुरालाई मध्य नजर गरेर प्रदेश २ सरकारले मंगलबार र बुधबार दुवै दिन होलीको बिदा दिएको छ । होलीको एक दिन अगाडि गरिने होलीका दहन भने मंगलबार राति नै गरिएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment