Comments Add Comment

कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं

विश्व यतिखेर कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा छ । चीनबाट सुरु भएको यो भाइरस विश्वभर फैलिने क्रममा छ । आजको मितिसम्म नेपालमा भने यसको संक्रमण देखा परेको छैन । तर, वैदेशिक रोजगारमा जाने युवाको संख्या घट्दो छ । त्रासमय वातावरणमा वैदेशिक रोजगारीमा भएकाहरुले पनि पूर्ण क्षमतामा काम गर्न नसक्दा रेमिट्यान्समा ठूलो असर परिरहेको छ । थाहा छैन यो भाइरस नेपालमा देखा पर्‍यो भने यसले कस्तो रुप लिन्छ ।

सम्भवतः यसको असर अबका दिनमा दोब्बर हुँदै जानेछ । ठमेल, न्युरोड, सपिङ मल, फिल्म हल, उद्योगहरुमा यसको असर देखिन थालिसकेको छ । त्यति मात्रै होइन, चर्को व्याजमा सहकारी तथा फाइनान्सबाट ऋण लिएर गरिएका व्यापार ठप्प हुँदाको असर थामीनसक्नु हुनेछ ।

के अब विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र धरासायी हुँदैछ भनेर बिलौना मात्रै पोख्ने कि केही उपायहरु पनि खोज्ने ?

सर्वसाधारण छर्लङ्ग छन् कि कोरोना भाइरससंग जुध्ने सामाथ्य हाम्रो सरकारसँग छैन । तर, यसो भन्दैमा चुप लागेर बस्ने हो भने दोहोरो अंकको आर्थिक वृद्धि आउँदो वर्षमा शून्यतर्फ र्झन सक्छ । सानो अर्थतन्त्र भएको मुलुकमा पर्यटक आगमन हुने कुरै भएन । सरकारले मनाउन सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० सुरुवाती चरणमै ठेस लागेर अड्किएको छ । चीनबाट सबैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य थियो । तर, चीनबाटै कोरोना भाइरस देखा परेपछि ‘उडायो सपना सबै हुरीले…’ झै भयो ।

आयातमुखी हाम्रो जस्तो अर्थतन्त्रका लागि कोरोना भाइरसलाई एउटा अवसरको रुपमा लिनुपर्छ । यसको अर्थ, खुसी हुनुपर्छ भन्ने पक्कै होइन । अर्थात शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने आशय हो मेरो । कोरोनाका कारण नेपालले दक्षिण कोरिया लगायतका देशमा वैदेशिक रोजगारीमा जान तत्काललाई स्थगित गरिसकेको छ । नेपालस्थित दक्षिण कोरियाका राजदूतले त्यसो नगर्न भनिसकेको छ । अन्य देशमा पनि नेपाली कारदार जानेक्रम निक्कै घट्दो छ ।

दैनिक पन्ध्रसयको हाराहारीमा वैदेशिक रोजगारमा जाने हामी नेपालीले महिनामा झण्डै ५० हजार जनशक्तिलाई धान्न पर्छ । रोजगार छैन्, भएपनि दक्ष कामदार छैन । रोजगार र दक्ष कामदार भए पनि विदेशमा झै पारिश्रमिक छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा अबौं बजेट स्वाहा भइरहेको छ । दुवो टिप्नमा अबौं खर्चिनुको साटो नेपालमै केही गर्ने युवा व्यावसायीलाई सहयोग गर्दा हुँदैन ?

सिंगो देश उर्भर छ । तर, हामीले मरभूमि बनाएका छौं । भएको जमिन छाडेर वैदेशिक रोजगारीमा लाइन लागेर बसेका छौं । अहिले कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल छन् । उनी अरुभन्दा पृथक छन् । भ्रष्टाचार गर्ने र नगर्ने दुवैखालका कृषिका कर्मचारीहरुमा उत्साह छ यतिखेर । ६० खर्बभन्दा धेरै अनुदान बालुवामा पानी झै भएको छ । सुन्दैछु भुसालले अनुदानभन्दा सहुलियत कर्जामा जोड गर्दैछन् रे ।

यो त एकदमै राम्रो कुरा हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र कृषिमन्त्री भुसाल लगायतलाई मेरा केही सुझाव छन्-
वैदेशिक रोजगारीमा जान लागेका जनशक्तिलाई गाउँ मै राख्न सक्यो भने उनीहरुलाई रोजगार मात्रै होइन, स्वरोजगार बनाउन सकिन्छ । आकर्षण प्याकेज बनाएर आफ्नै गाउँमा कृषि गर्न उत्प्रेरणा दिन सकियो भने हाम्रो अर्थतन्त्र आयातमूखी होइन, निर्यातमुखी बनाउन सकिन्छ । आयातमुखी व्यवसाय वा उद्योगबाट मरेर २५ प्रतिशत मुनाफा लिन सकिएला । कच्चा पदार्थ पनि विदेशकै भर पर्नु परेपछि गलैंचाजस्तो निर्यात गर्ने व्यावसाय पनि भनेजस्तो छैन । तर, कृषि उत्पादनको नाफा शतप्रतिशत नेपालमै रहन्छ ।

कृषि व्यवसाय गर्ने हो भने यसको पूर्ण खपत नेपालमै हुन्छ । यसो गर्न सके कम्तिमा आयात दर त घट्छ । आयात दर घट्नु भनेको आम्दानीको स्रोत बढ्नु हो । युवाजति विदेशमा अनि युवाले कमाएको रुपैँया पनि विदेश मै । तर, कसरी ? हरेकको घरमा हुने श्रमति, छोराछोरी वा बुवाआमाले काम गर्दैनन् (अधिकांस) । तिनीहरु बजारमा भर पर्छन् । छोराछोरीले विदेशबाट पठाएको पैसाको अधिकांस हिस्सा खानामा खर्च हुन्छ । आफ्नो बारीमा उत्पादन नभएपछि किन्नैपर्‍यो । अन्ततः ती खाद्यन्न भारत लगायतका मुलुकबाट आएपछि युवाले कमाएको रुपैँया पनि विदेशतिरै जाने भयो ।

खाद्यान्न आयात दर हेर्‍यो भने कहालीलाग्दो छ । भूमि, सिंचाई, वन र कृषि मन्त्रालय फरक फरक छन् । कम्तिमा यी चार मन्त्रालयवीच राम्रो समन्वयगरी एउटा टाक्स फोर्स बनाएर युवालाई आफ्नै गाउँमा स्वरोजगार प्याकेज दिन सकिन्छ । कृषिभित्र धेरै कुराहरु छन् । कृषि वन विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर पढेकोहरु सिधै अमेरिका र यूरोपका लागि जनशक्ति उत्पादन हुन्छन् । पूर्वाञ्चल विश्वविद्यालय लगायतका कृषि कलेजमा अध्ययन गर्नेहरु पनि थुप्रै छन् । यता सीटीईभीटीबाट कृषि प्रशिक्षण लिएकाहरु पनि थुप्रै छन् । उनीहरुका आफ्नै आंगिक कलेजहरु छन् । जनशक्ति पर्याप्त छ । यिनीहरुलाई आफ्नै देशमा उपयोग गर्न सकिन्छ ।

हामीले खाद्यन्न आयात मात्रै रोक्न सक्यौं भने विश्वभरबाट कोरोना नियन्त्रणमा आउनु अगाबै हामी आत्मनिर्भर हुन सक्छौं । अर्थतन्त्र ओरोलो होइन्, कृषिमा क्रान्ति ल्याउन सक्यौं भने बल्ल प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न सक्छौं । त्यो पनि यही संक्रमणकालमा ।

नेपालमा बाँझो जमिन थुप्रै छन् । आफ्नो हुनेले आफ्नै बारीमा र नहुनेले अर्काको बारी लिजमा लिएर पनि गर्न सक्छन् । अझ परिमार्जित भूमि नीति राम्रो बनाएर भूमिहिन किसानलाई भूमिसमेत उपलब्ध गराएर कृषिमा आकर्षित पार्न सकिन्छ । वैदेशिक रोजगारीमा जानेलाई होस् वा नेपालमै परम्परागत कृषि गर्दै आएकाहरुलाई कृषिमा प्राथामिकता दिनुपर्छ । सहुलियतमा कृषि ऋण दिन सक्ने हो भने कम्तिमा परम्परागत खेती किसानी गर्नेहरुलाई आधुनिकतातर्फ उन्मुख गर्न सकिन्छ । एकीकृत कृषि फार्ममा जोड दिन सक्नुपर्छ । खण्डीकरण रोक्नुपर्छ । चक्लाबन्दी ऐनलाई कार्यान्वयन गर्न स्थानीय तहले सहयोग गर्न सक्नुपर्छ ।

कृषिबाट देशलाई एक वर्षमै कायापलट गर्न सकिन्छ । त्यसो भए कृषि किन नगर्ने ? शहरमा कौसी खेती गर्न सकिन्छ । कम्तिमा आफ्ना लागि आवश्यक उत्पादन उब्जाउन सकियो भने कुनै देशको भर पर्नुपर्दैन नेपालीले ।

(श्रेष्ठ कृषि विषयमा कमल चलाउने पत्रकार हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment