Comments Add Comment

सीमा समस्याबारे नेपालले गरेको दुवै वार्ता मिति भारतद्वारा अस्वीकार

३० फागुन, काठमाडौं । सीमा विवादबारे छलफल गर्न नेपाल सरकारले प्रस्ताव गरेको दोस्रो वार्ता मिति पनि भारत सरकारले अस्वीकार गरेको छ ।

परराष्ट्र मन्त्रालयले कूटनीतिक नोटमार्फत पठाएको मितिमा वार्ता गर्न भारतले असमर्थ रहेको जवाफ पठाएको हो । यद्यपि कूटनीतिक नोटको जवाफमा दुई देशबीचको सीमा विवाद समाधान गर्न आफू तयार रहेको भारतीय पक्षले उल्लेख गरेको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सचिव बैरागीले भने, ‘परराष्ट्र सचिव र राजदूत हेरफेर हुँदा हामीले प्रस्ताव गरेको मितिमा वार्ता हुन नसकेको जवाफ आएको छ । अर्को मितिका लागि कूटनीतिक पहल गरिरहेका छौं ।’

नयाँ मिति तय भए लगत्तै वार्ता अगाडि बढ्ने परराष्ट्र सचिव बैरागीको भनाइ छ ।

१६ कात्तिकमा भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका नेपाली भूभाग समेटेर आफ्नो आठौं राजनीतिक नक्सा सार्वजनिक गरेपछि सीमा विवाद चर्किएको थियो । २० कात्तिकमा परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत एकतर्फी रुपमा जारी नक्सा मान्ने नहुने उल्लेख गरेको थियो ।

मन्त्रालयले ४ मंसिरमा भारतीय नक्साको विरोध गर्दै पहिलो कूटनीतिक नोट पठाएको थियो । नेपालले परराष्ट्र मन्त्रीस्तरीय जोइन्ट कमिसनको म्यान्डेटअनुसार परराष्ट्र सचिवस्तरीय वार्ता गर्न प्रस्ताव गरेको थियो ।

सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । नेपालले सुगौली सन्धि, अन्य ऐतिहासिक प्रमाण, तथ्य तथा कागजपत्रको आधारमा सीमा समस्या समाधान गर्नुपर्ने बताउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment