+
+
Shares

१२ वर्ष विदेशमा दु:ख गरेका लुमबहादुर आज हात फैलाउँदै

दुवै मिर्गौला फेल भएपछि चुँडिएको सपना

विकास रोकामगर विकास रोकामगर
२०७६ फागुन ३० गते १९:१५

३० फागुन, पोखरा । निम्नवर्गीय परिवार । जनयुद्धले देश नै आक्रान्त बनाइरहेको समय । दैनिकी धान्नै मुस्किल भएपछि करिब १५ वर्षअघि मलेसिया हान्निए, तनुहँका लुमबहादुर रिलामी ।

मलेसियन मालिकको सेवामा रिलामीले जिन्दगीको सुन्दर १२ वर्ष बिताए । दुखजिलो गरेर कमाएको पैसाले परिवारको आर्थिक स्थिति बलियो हुँदै थियो । साथै, ‘अब त नेपालमा फर्केर केही गर्न सकिएला नि !’ भन्ने आत्मविश्वास बलियो हुँदै गइरहेको थियो ।

एउटा भनाइ छ, ‘१२ वर्षमा त खोला पनि फर्किन्छ ।’ मलेसिया आउँदैजाँदै गरेको पनि १२ वर्ष भइसकेको थियो । उनलाई लागेथ्यो, ‘विदेशमा गरेको यो दुखले जीवन लयमा जानेछ ।’

तर, १२ वर्षपछि उनले सोचेको भन्दा अर्कै भयो । एक दिन कारखानामा काम गर्दागर्दै ज्यान असाध्यै दुखेको महसुस गरे । सुरुमा थकाइले होला भनेर वेवास्ता गरे । तर, दुखाइ बढ्दै गएपछि अस्पताल गए ।

डाक्टरले फ्याट्ट भनिदिए, ‘तपाईंका दुवै किड्नी फेल छन् ।’

डाक्टरको जति सजिलोसित भने पनि उनको जीवन असजिलो मोडमा पुगिसकेको थियो । आफू कार्यरत कम्पनीले ४ पटक त डायलसिल गरिदियो । तर, निको नहुने छाँटकाट देखिएपछि नेपाल फर्काइदियो ।

दुखको भारी विदेश उडेका रिलामी रोग बोकेर नेपाल फर्किए, करिब ३ वर्ष अगाडि ।

०००

रिलामी नेपाल आएर पनि सुरुमा घर देख्न पाएनन् । काठमाडौं एअरपोर्ट ओर्लिने बित्तिक्कै दुखाइले धेरै च्याप्न थालेपछि सीधै लागे, टिचिङ अस्पताल । त्यहाँ करिब १ हप्ताभन्दा बढी समय बिताएपछि मात्रै घर फर्किन सक्ने भए । त्यतिञ्जेलसम्म परिवारका सदस्य पनि त्यहीँ पुगिसकेका थिए ।

टिचिङ अस्पतालले अहिले उनको सजिलोका लागि तनहुँकै दमौली अस्पतालमा डायलसिसका लागि ‘रिफर’ गरिदिएको छ । जहाँ उनले हप्तामा ३ पटक नियमित डायलसिस गर्नुपर्छ । एकपटकको डायलसिसलाई ४ हजार रुपैयाँभन्दा बढी पर्छ ।

परदेशी भूमिमा पसिना बगाएर कमाएको पैसा जम्मै रिलामीको उपचारमै सकियो । अहिले परिवारको स्थिति झनै नाजुक भएको छ ।

‘कमाइ छैन । हप्तामै ३ चोटी डायलसिस गर्नुपर्छ,’ रिलामीका आफन्त सोनिया थापामगर भन्छिन्, ‘केही गरेर पनि नभएपछि अब सहयोगका लागि हात थाप्नुबाहेक अर्को उपाय हामीसँग छैन ।’

०००

मृर्गौला पीडित रिलामीको स्वास्थ्योपचार खर्च जुटाउन नेपाल क्योकुसिन बुदो कराते साकाइ पोखरा डोजोले ‘प्रथम राष्ट्रिय जुनियर च्याम्पियनसिप’ गर्ने भएको छ । प्रतियोगिता चैत २२ गते ऋशिङ गाउँपालिका ८ पल्ट्याङ, तनहुँमा हुने छ ।

प्रतियोगितामा देशभरिका १७ जिल्लाबाट ७५ जनाभन्दा बढी खेलाडी सहभागी हुने डोजोकी मञ्जु थापाले जानकारी दिइन् ।

‘उहाँको उपचारका लागि यत्तिक्कै सहयोग माग्नुभन्दा बरु केही सिर्जनशील तरिकाले जाने कुरा भयो,’ थापाले अनलाइनखबरसँग भनिन्, ‘प्रतियोगिताका लागि जति आर्थिक स्रोत जुट्छ उहाँलाई नै हस्तान्तरण गर्ने भनेका छौं ।’ प्रतियोगितको सहआयोजक सिद्धबाबा युवा क्लब तनहुँ छ ।

प्रतियोगिता महिला र पुरुषका विभिन्न तौल समूहबीच हुनेछ । पुरुषतर्फ ३५ केजी, ४० केजी, ४५ केजी मुनिका खेलाडीबीच हुनेछ भने महिलातर्फ ४० केजी र ४५ केजी मुनिका खेलाडी समूहबीच हुने प्रतियोगिताका संयोजक सोनिया थापामगरले जानकारी दिइन् । प्रतियोगिताबाट करिब ६ लाख रुपैयाँ उठाउने आयोजकले लक्ष्य राखेको छ ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?