Comments Add Comment
ललितपुर महानगरपालिकाको उत्पादन :

घरेलु रक्सीबाट स्यानिटाइजर, सिरकको खोलबाट मास्क

१ चैत, काठमाडौं । कोरोनाको सन्त्रास बढेपछि जब काठमाडौं उपत्यकामा स्यानिटाइजरको अभाव हुन थाल्यो, ललितपुर महानगरपालिकाका कर्मचारीचाहिँ घरेलु रक्सी खोज्दै स्थानीय नेवारका घरतिर लागे ।

महानगरपालिकाका कर्मचारी सात लिटर रक्सी बोकेर सातदोबाटोस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनीलबाबु श्रेष्ठको कार्यकक्षमा पुगे ।
उपकुलपति श्रेष्ठको निर्देशनमा नास्टका प्राविधिकहरुले घरेलु रक्सीबाट कर्मचारीकै आँखा अगाडि स्यानिटाइजर बनाएर देखाइदिए ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव राजु महर्जन शनिबार त्यही रक्सीबाट बनेको ‘नेपाली स्यानिटाइजर’ झोलामा बोकेर पाटनढोका आइपुगेका थिए ।

नास्टका प्रविधिकले बनाएको स्यानिटाइजर विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड अनुसारकै रहेको महर्जनले दाबी गरेपछि त्यहाँ रहेका डब्ल्युएचओका प्रतिनिधिले हातमा लगाएर स्यानिटाइजरको जाँच गरे ।

त्यसैगरी, ललितपुर महानगरपालिकाले २४० वटा महिला समूहका प्रतिनिधिलाई प्रत्येक वडाबाट बोलाएर मास्क बनाउने तालिमसमेत दिएको र ती महिलाले प्रत्येक वडामा सिरकको खोलको कपडा प्रयोग गरेर सस्तोमा मास्क उत्पादन गर्न थालेको महर्जनले जानकारी दिए ।

देशभरि कोरोनाको त्रास बढिरहेको र अत्यावश्यक वस्तुहरुको अभाव भइरहेका बेला स्थानीय तहले पनि केही न केही काम गर्नुपर्छ भनेर ललितपुर महानगरपालिका सक्रिय रहेको सन्देश दिँदै महर्जनले मास्क र स्यानिटाइजरको कथा यसरी सुनाए-

जब बजारमा मास्कको अभाव हुन थाल्यो र महंगोमा मास्क बेच्न थालियो भनेर महानगरपालिकामा गुनासो आयो, त्यसपछि हामीले सामाजिक सविकास समितिको बैठक बोलायौं ।

ललितपुर महानगरपालिकामा २४० वटा महिला समूहहरु छन् । सामाजिक विकास समितिले महिलाहरुलाई अचार बनाउने, सिलाइ बुनाई सिकाउने, ब्युटिसियनको तालिम इत्यादि काम गर्दै आइरहेको छ । हामीले तिनै २४० महिला समूहका अगुवाहरुलाई एउटा वडाबाट दुई/दुई जनालाई बोलाएर माक्स उत्पादन गर्न सहयोग गर्नुहोस् भन्यौं र उहाँहरुलाई एक दिनको तालिम दियौं । अब आ-आफ्नो वडामा गएर उहाँहरुले ठूलो परिणाममा मास्क बनाउँदै हुनुहुन्छ ।

यो साधारण खालको मास्क हो । यो कोरोना भाइरस छेक्ने मास्क होइन । आफूलाई रुघा लागेपछि अरुलाई नसरोस भनेर सुरक्षाको लागि मात्र हो । यो सिरक सिउने साधारण (सिरकको खोल) कपडा को मास्क हो । यो एउटा मास्कको दाम ७ रुपैयाँ मात्र पर्छ ।


मास्कजस्तै बजारमा स्यानिटाइजर पनि पाउन छाडिसक्यो । भाटभटेनी गयो, सेनिटाइजर छैन । मेडिकलमा गयो, सेनिटाइजर छैन । हामीले सातदोबाटोस्थित नास्टमा उपकुलपति सुनिलबाबु श्रेष्ठसँग सम्पर्क गर्‍यौं र स्यानिटाइजर बनाउन सहयोग गरिदिनुपर्‍यो भन्दाखेरि उहाँले ल हुन्छ, भोलि आउनोस् हामी स्याम्पल दिन्छौं भन्नुभयो ।

भोलिपल्ट जाँदा उहाँहरुले साँच्चै स्याम्पल तयार गरिसक्नुभएको रहेछ । तर, त्यो बजारमा पाइने इथानोल प्रयोग गरेर केमिकलका आधारमा बनाइएको रहेछ ।

हामीले यो इथानोल पनि बाहिरबाट कच्चा पदार्थ आउन छाड्यो भने के गर्ने त भन्दाखेरि उहाँहरुले भन्नुभयो- यहाँ काठमाडौंका घरघरमा नेवारहरुले रक्सी बनाउँछन् । त्यही रक्सी ल्याउनोस्, हामी त्यसको वाटर भ्यापराइज्ड गरेर डब्ल्यूएचओको स्टाण्डर्डमा ७५ प्रतिशतभन्दा बढी अल्कोहल हुने गरी, त्यसमा हाइट्रोजन पेरोक्साइड अलिकति हालेर बनाउन सक्छौं ।

त्यसपछि हामीले नास्टमा सात लिटर रक्सी लगिदियौं । त्यसमा ३५ प्रतिशत अल्कोहल रहेछ । त्यसैलाई उहाँहरुको मेसिनमा राखेर ७६ प्रतिशत बनाइदिनुभयो । हामीले लगेको त्यही रक्सीबाट हाम्रै आँखा अगाडि बनाएर स्याम्पल दिनुभएको छ ।

यो स्यानिटाइजर १०० एमएलको १५० रुपैयाँ भन्दा बढी नपर्ने गरी हामी बजारमा उपलब्ध गराउने तयारी गर्दैछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment