Comments Add Comment

महामारीको श्रृङ्खला : पछिल्लो २०० वर्षमा कतिको ज्यान गयो ?

१ चैत, काठमाडौं । बुधबार विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई ‘महामारी’ को रुपमा घोषणा गर्‍यो । झण्डै ४ हजार जनाको मृत्यु भएको र १०० बढी मुलुकलाई प्रभावित गराएको संगठनको घोषणामाथि पनि आलोचना नै नभएको भने होइन । सन् २००९ को महामारी घोषणा गर्ने समयदेखि नै आलोचना गर्दै आएका केही समूहले अनावश्यक आतंक सिर्जना गराएको आरोप लगाएको छ ।

तर संगठनले महामारीको घोषणा गर्दै विश्व समुदायलाई यसमा सचेत रहन आग्रह गरेको छ ।

फेब्रुअरीको अन्तिम साता विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । र, कोरोना भाइरसको प्रकोपलाई ‘महामारी’ भन्ने शब्दले परिभाषित गर्न बारम्बार रोक्दै आएको थियो ।

तर बुधबार स्वास्थ्य संगठनले पत्रकार सम्मेलन गरेर कोरोना भाइरसलाई महामारीको रुपमा परिभाषित गर्‍यो । संगठनका महानिर्देशक डा. टेड्रोस अडानोम घबेरियससले १०० भन्दा बढी देशहरूमा फैलिएर एक लाख २० हजारभन्दा बढी मानिसमा संक्रमित भएको यो भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेका हुन् ।

महामारी के हो ?

महामारी भन्ने शब्द प्यानडेमिक ग्रीक शब्द प्यान र डेमोसबाट बनेको हो,  जसको अर्थ प्यान अर्थात् सबै र व्यक्ति गरी सबै व्यक्तिमा फैलिएको भन्ने अर्थ हुन्छ । यही शब्दबाट आएको महामारीले पनि एकै समयमा धेरै देश र महादेशमा फैलिएको रोग भन्ने अर्थलाई बोकेको हुन्छ । यो शब्द विशेषगरी रोग विशेषज्ञहरूले प्रयोग गर्ने शब्द हो । सामान्यतया रोकिन सक्ने भएसम्म यसलाई महामारीको रुपमा घोषणा नगर्ने भएकोले नै पनि लामो समयसम्म यस्ता रोगहरुलाई विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गर्न इन्कार गर्ने गरेको छ ।

तर, यो शब्दले उब्जाउने डरका बाबजुद पनि ‘महामारी’ शब्दले रोगको फैलावटलाई जनाउँछ न कि यसको रोगको सामथ्र्य वा मृत्युदरलाई । डब्ल्यूएचओको परिभाषाअनुसार महामारी ‘एक नयाँ रोगको प्रकोप हो जुन संसारभरीका व्यक्तिहरुमा सजिलैसँग फैलिन्छ ।’

यसको मतलब यो रोगको प्रकोपलाई महामारीको रूपमा लेबल गरिनेछ, जब यो धेरै व्यापक रूपमा फैलिन्छ । सामान्यतया ठूलो संख्यामा मानिसहरूलाई असर गरेपछि मात्रै यस्तो घोषणा गर्ने गरिन्छ । महामारीको रुपमा घोषणा गर्नको लागि रोग संक्रामक खालको पनि हुनुपर्ने सर्त संगठनको छ । जस्तो कि क्यान्सरले विश्वभरका धेरै मानिसहरूलाई प्रभावमा पारेको हुन्छ । तर यो महामारी बन्न सक्दैन किनकी यो संक्रामक रोग होइन ।

यस अघिसम्म कोरोनालाई स्थानीय स्तरमा मात्रै फैलिएको भन्दै संगठनले महामारीको रुपमा स्वीकारेको थिएन । चीनमा मात्रै धेरै प्रभावित भएको यसको भाइरसले पुरै विश्वलाई प्रभावित गराएपछि संगठनले यस्तो घोषणा गरेको हो ।

नेपालका जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित विश्व स्वास्थ्य संगठनको यो घोषणाले विश्वभरका सरकारलाई आफ्नो पूर्वाधार विकास र सचेतनामा जागरुक हुनको लागि झक्झक्याएको बताउँछन् । यो घोषणासँगै विज्ञटोलीहरुको परिचालन, कर्मचारीहरुको सकि्रयता जस्ता जागरुक र सचेत गराउने कामहरु धेरै हुने भएकोले कोरोनाबाट जोगिनको लागि डब्लुएचओले गरेको यो निर्णय अनिवार्य रहेको बताउँछन् । उनी भन्छन् ‘संगठनले धेरै मानिसहरुको ज्यान नगएपनि यसको सम्भावित क्षतिलाई हेरेर यस्तो फैसला गरेको देखिन्छ ।’

महामारीको श्रृङ्खला  : पछिल्लो २०० वर्षमा कतिको ज्यान गयो ?

महामारीको श्रृङ्खलालाई हेर्दा यसको सुरुवात निकै पहिलेदेखि चल्दै आएको पाइन्छ । तल उल्लेख गरिएकाहरु मध्ये केहीलाई विश्वस्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा नगरेको भएपनि त्यसमा धेरै मानिसहरुले ज्यान गुमाएका छन् । जुन ज्यान जानेको संख्यालाई हेर्दा अहिलेको कोरोनामा ज्यान गुमाउनेको भन्दा निकै धेरै मानिन्छ । पछिल्लो २०० वर्षको महामारीको श्रृङ्खलालाई हेर्दा करोडौं मानिसहरुले ज्यान गुमाएको विजिनेस इन्साइडरले जनाएको छ ।

हैजा (१८१७-१८२३)

यो महामारीको सुरुवात भारतबाट भएको थियो । जुन महामारीमा दसौं लाख मानिसहरुले ज्यान गुमाएको बताइएको छ । यो ६ वर्षमा वाषिर्क २१ हजारदेखि १ लाख ४३ हजार जनासम्मको मृत्यु भएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।

स्पेनिस फ्लू, एचवनएनवन (१९१८-१९१९)

सन् १९१८ देखि सुरुभएको र एक वर्षसम्म चलेको यो महामारीको क्रममा झण्डै ५० करोड मानिसलाई यसले प्रभावित गराएको थियो । जसमध्ये विश्वभरी ५ करोड मानिसले ज्यान गुमाएका थिए ।

हङकङ फ्लु वा एच३एन२ (१९६८-१९७०)

स्पेनिस फ्लुको संकटको ५० वर्षपछि अर्काे भाइरस हङकङ फ्लु सुरु भयो । जसबाट विश्वभरीमा झण्डै १० लाख मानिसको ज्यान गएको बताइएको छ ।

एचआईभी एड्स -१९८१(हालसम्म)

पहिलो पटक यसको बारेमा जानकारी प्राप्त भएकोमा यस रोगबाट ३ करोड २० लाख मानिसहरुले ज्यान गुमाएका छन् ।

स्वाइन फ्लु एचवान एनवान  (२००९-२०१०)

यो रोगबाट एक वर्षमा मात्रै एक लाख ५१ हजार ७ सयदेखि पाँच लाख ७५ हजार ४०० सम्मको ज्यान गएको अनुमान गरिन्छ । यद्यपि यसको स्पष्ट जानकारी आएको छैन ।

इबोला (२०१४-२०१६)

पश्चिमी अफ्रिकामा मात्रै यो रोगबाट ११ हजार ३२५  जनाको ज्यान गएको थियो ।

पछिल्लो पटक कहिले गरिएको थियो महामारीको घोषणा ?

महामारीको मापन गर्ने धेरै मापनहरु हुन्छ । यसको कुनै थ्रेस होल्ड छैन । यसमा कुनैपनि मृत्यु वा फैलावटलाई मात्रै आधार मान्ने गरिँदैन । विगतका उदाहरणहरूलाई हेर्दा एचआईभी, स्वाइन फ्लू र सन् १९१८ मा स्पेनिश फ्लू सामेल छन् । इतिहासकै सबैभन्दा घातक महामारीको रुपमा रहेको छ ब्ल्याक डेथ । युरोपमा सन् १३४८-५० सम्ममा फैलिएको सो महामारीले २० करोड मान्छे मरेका थिए ।

२० औं शताब्दीमा बिफरबाट मात्रै झण्डै ३ करोड मान्छे मरेका थिए । तर, पछिल्लो समय डब्ल्यूएचओले २००९ मा इन्फ्लूएन्जा प्रकोपको लागि महामारी घोषणा गरेको थियो । त्यस समयमा यस निर्णयलाई केही देशहरूले आलोचना समेत गरेका थिए । त्यतिबेला डब्लुएचओले अनावश्यक त्रास फैलाएको भनेर आरोप लागेको थियो ।

महामारी घोषणाको लागि प्रक्रिया के हो ?

तर २००९ को त्यो महामारीको समय पछि महामारी घोषणाको प्रकि्रयामा धेरै परिवर्तन भयो । संगठनले गत जनवरी ३० मा नै पेण्डेमिक भनेको आपतकालीन सार्वजनिक स्वास्थ्य हो भनेर घोषणा गरिसकेको थियो । महामारी भनेको अन्तराष्ट्रिय स्वास्थ्य नियमहरु अन्तर्गत् एक प्रकारको प्रकोप वर्णन गर्ने उच्च स्तरको वर्गीकरण हो ।

डब्लुएचओका प्रवक्तालाई उद्धृत गर्दै द टेलिग्राफले लेखेको छ ‘डब्ल्यूएचओले पुरानो ६ वटा चरणको पद्धतिलाई छाडिसकेको छ, जसको पहिलो चरणमा मानव संक्रमणको कारण जनावरको इन्लुएन्जासम्बन्धी कुनै रिपोर्ट छैन ।’

त्यसैले कोरोनालाई महामारी भन्नु उपयुक्त हो कि होइन भन्ने बहस अहिले पनि जारी छ । डब्ल्यूएचओका निर्देशक माइक रायनलाई उद्धृत गर्दै टेलिग्राफले नै लेखेको छ, यसको रोकथाम गर्नका लागि गरिएको आक्रामक र गहन कार्य बाहेक यो घोषणा केही पनि होइन । यसलाई धेरै गम्भीरतासाथ लिइएको छ र हामी यस शब्दको अर्थ बुझ्छौं ।’

महानिर्देशकले धेरै समय बहस गरेर यो शब्दको प्रयोग गरेको उनले बताएका छन् । यो घोषणापछि अरु केही नभएर विश्वभरी नै यसको सचेतना फैलाउनको लागि मात्रै यो शब्दले सहयोग गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment