Comments Add Comment

विपक्षीसँगै सत्तारुढ सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

१ चैत, जनकपुरधाम । प्रदेश २ का विपक्षीसँगै सत्तारुढ सांसदले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

शनिबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले मुख्यमन्त्री राउतलाई राजीनामा दिएर समस्या समाधानका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । सत्तारुढ राष्ट्रिय जनता पार्टी -राजपा) का सांसद मनिष सुमनले प्रदेश सरकारले उपलब्धीमूलक काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

प्रहरी ऐन ल्याउँदा पनि प्रहरी भर्ना गर्न नसकेको, गत बर्ष सम्पन्न भएका योजनाहरुको अहिलेसम्म भुक्तानी दिन नसकेको, मलेठ, सचिव कुटपिट घटनाको प्रतिवेदन हालसम्म सार्वजनिक गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला भएको खर्चका विवरण पनि सार्वजनिक गर्न नचाहेको उनको आरोप छ ।

उनले विपक्षीको पनि आलोचना गरे । सरकारबाट योजना लिएको र तैं चुप, मैचुप गर्ने गरेकाले प्रतिपक्षी भूमिका आफूहरुले निर्वाह गरिदिएको सुमनले बताए ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट (नेकपा) का सांसद रामचन्द्र मण्डलले पनि राजीनामा मागे । मुख्यमन्त्रीलाई भेट्न जाँदा मन्त्रीहरु आफ्नो वसमा नभएको र प्रदेशसभा आउँदा सचिव आफ्नो निर्देशन नमान्ने गरेको सुनाएको भन्दै उनले भने, ‘न मन्त्रीले टेर्छन्, न सचिवले । त्यसो भए तपाईं कमान्डलेस बन्नुभयो ।’

यस्तो व्यक्तिले सरकारको नेतृत्व गर्न नसक्ने भन्दै उनले राजीनामा दिन मुख्यमन्त्री राउतलाई सल्लाह दिए । ‘प्रदेशलाई राम्रो बनाउन राजीनामा दिनुस्’ उनले भने ।

उनले संघीयतालाई असफल बनाउन संघीय सरकारले कर्मचारीलाई तालिम दिएर पठाएको भन्ने मुख्यमन्त्री राउतको अभिव्यक्तिमाथि पनि प्रश्न उठाए । सांसद मण्डलले भने, ‘त्यसो भए मुख्य सचिव र सचिवलाई पनि प्रदेश सभामा बस्ने व्यवस्था गराऔं र उनीहरुको जवाफ सुन्ने व्यवस्था गरौं ।’

प्रदेश सरकारले संघीयताको आडमा भ्रष्टाचार, असमानता र सांसदबीच विभेद बढाएको उनको आरोप छ ।

नेकपाका अर्काे सांसद किशोरी साहले प्रदेश सरकारलाई नियम पालना नगरेको तर कर्मचारीमाथि दोष थुपारेको आरोप लगाए ।

गत बर्ष सम्पन्न भएका योजना सञ्चालन गर्नुअघि १८ नम्बरको फारम नभरिएको र बहुबर्षीय योजना पनि नभएकाले कर्मचारीले निकासा नदिएको तर मख्यमन्त्रीले प्रदेशसभामा आएर झुट बोलेको उनको आरोप छ । उनले मुख्यमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।

तर राजपाका प्रमुख सचेतक परमेश्वर साहले भने मुख्यमन्त्रीले राजीनामा नदिने बताए । ‘हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको पनि धेरै राजीनामा माग्नुभएको छ, तर खोई राजीनामा दिएको ?’ उनले भने, ‘यदी राजीनामा नै चाहियो भने अविश्वासको प्रस्ताव दर्ता गराऔं । उहाँलाई बहुमत पुगेन, भने हट्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment