Comments Add Comment

कपनबाट डेढ लाख मास्क बरामद, ७ जना पक्राउ

२ चैत, काठमाडौं । कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी आक्रामक बनेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।

अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार डेढ लाख वटा सर्जिकल मास्क बरामद गरेको छ ।

कपन क्षेत्रमा प्रहरीले चलाएको यो अपरेशनमा एक लाख ६८ हजार मास्क बरामद भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

यसक्रममा ७ जना पक्राउ पनि परेका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

प्रहरीले कपनबाट प्राप्त सूचनाका आधारमा सतुंगलमा रहेको आरडीजी सप्लायर्समा पनि शिलबन्दी गरेको छ । यद्यपि, रात परिसकेकाले कति मास्क छन् भन्ने गणना भएको छैन ।

शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।

उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment