Comments Add Comment

माथातीर्थबाट भक्तपुरमा बिजुली लैजान वैकल्पिक योजना

२ चैत, काठमाडौं । माथातीर्थबाट भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ । करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार-खोकना-चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत विजुली लैजान सम्भवन भएको छैन ।

ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारणलाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सवस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत पुर्‍याउने योजना अघि सारेको हो ।

तर, सवस्टेशन निर्माणका लागि आवश्यक जमिन नहुँदा उक्त कामसमेत अघि बढ्न सकेको थिएन । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक जमिन उपलब्ध गराउने भएपछि अब सबस्टेशन बन्ने निश्चित भएको छ ।

त्यस सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार छलफल भयो । ऊर्जा मन्त्रालयमा भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सवस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यस स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुख्खा बन्दरगाह निर्माणका लागि खरिद गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुख्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ । कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीहरुको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ ।

ऊर्जामन्त्री पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सवस्टेसन निर्माणस्थलमै गएर जमिनबारे अन्तिम टुंगो लगाउने भएका छन् ।

चोभारमा सवस्टेन नबनाउँदा नेपाल विद्युत प्राधिकरणको मातातीर्थ शवस्टेशनमा त्रिशूली र मस्र्याङदी करिडोरबाट आउने बिजुली काठमाडौं ल्याउन असम्भव प्रायः छ ।

ऊर्जा मन्त्रालयमा भएको छलफलमा मन्त्री पुन र भट्टका साथै ऊर्जा मन्त्रालयमा सचिव दिनेश घिमिरे, सह-सचिव एवं प्रवक्ता प्रवीणराज अर्याल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ थता उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, सह-सचिव एवं सुख्खा बन्दरगाह निर्माणको जिम्मेवारी पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक नवजराज ढकाललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment