
२ चैत, काठमाडौं । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना संक्रमणका वेला मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरीले अपरेशन चलाइरहेको छ । शनिबार यता दुईवटा गोदाममा छापा मारेर प्रहरीले अढाइ लाख मास्क बरामद गरिसकेको छ ।
बजारमा मास्कको चरम अभाव भएका बेला प्रहरीले ठूलो परिणाममा मास्क बरामद गरेपछि आम मानिसमा खुसी छाएको थियो । ती मास्क अब जनताले प्रयोग गर्न पाउने धेरै मानिसहरुले ठानेका थिए । र, बजारमा अब मास्कको अभाव नहुने सर्वसाधारणको अनुमान थियो ।
तर, बजारमा मास्कको चरम अभाव भइरहेका बेला प्रहरीले बरामद गरेको अढाइ लाख मास्क गोदाममा शिलबन्दी गरेर थन्क्याइएको छ । मास्कको यकीन गणनासमेत गरिएको छैन ।
आगामी तीन महिनासम्म मास्क गोदाममै रहने सरकारी अधिकारीहरुले जनाऊ दिएका छन् ।
काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘कानुनी प्रक्रिया पूरा नभएसम्म बरामद सामग्री हामीसँगै रहन्छ ।’
शनिबार डल्लुबाट ७८ हजार माक्ससहित पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ ।
कानूनी प्रक्रिया कहिलेसम्म सकिन्छ भन्ने प्रमुख जिल्ला अधिकारीको निर्णयमा भर पर्छ । किनकि, कालोबजारी सम्बन्धी कसूर हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीसँग छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल सामान्यतयाः तीन महिनाभित्र प्रशासनबाट मुद्दा प्रक्रियाको टुंगो लाग्ने बताउँछन् । मुद्दा टुंगो नलागेसम्म बरामद मास्क जफत नै रहने उनले बताए ।
प्रक्रिया टुंगो लागिसकेपछि जफत गरिएको वस्तुको नेपाल सरकारबाट विक्री हुन सक्ने कालोबजारी ऐनमा उल्लेख छ । यदि कृत्रिम अभाव सिर्जना गरेको पुष्टि भए एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने व्यवस्था छ ।
अनुसन्धानका लागि ७ दिन म्याद
यसैवीच जिल्ला प्रशासन कार्यालय, काठमाडौंले डल्लुमा पक्राउ परेकामाथि अनुसन्धानका लागि आइतबार ७ दिन म्याद दिएको छ । डल्लुबाट ८ जना पक्राउ परेको भए पनि एकजनाको संलग्नता नदेखिएको भन्दै छाडिएको छ ।
आइतबार कपनमा चलाइएको अपरेशनमा एक लाख ६८ हजार मास्क बरामद भएका छन् । साथै, प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
म्याद थप गरेपछि मात्रै उनीहरुको नाम सार्वजनिक गर्ने प्रहरी तयारी छ । कपनको अपरेशनबाट प्राप्त सूचना अनुसार प्रहरीले सतुंगलमा रहेको आरडीजी सप्लायर्समा पनि शिलबन्दी गरेको छ । तर, रात परिसकेकाले कति मास्क छन् भन्ने गणना भइसकेको छैन ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा माक्स विक्री गरेको गुनासो आधारमा विशेष अपरेशन चलाइएको बताउँछन् ।
प्रतिक्रिया 4