Comments Add Comment

करिब २० करोड मानिस सखाप पार्ने त्यो महामारी

सोही समयमा समसुद्दीनले समेत काठमाडौंमा मच्चाएका थिए विध्वंश

सन् १३४९ अर्थात् विसं १४०६ को समयताका विश्व एउटा कठोर परिस्थितिमा गुज्रियो । एउटा महामारीका कारण एक दशकमा नै एक तिहाई मानिसको विश्वको जनसंख्यामा कमी आयो । त्यसभन्दा पहिलेदेखि नै विशेषगरी युरोपमा ठूलो महामारीको अवस्था चलिरहेकै थियो । तर, नेपाल भने त्यो बेलामा समेत आफ्नै आन्तरिक द्वन्द्वमा गुज्रिँदै थियो ।

त्यतिबेला विश्वभरको कूल जनसंख्या थियो, करिब ४५ करोड । त्यतिबेला युरोपेली मुलुकसँगै भारत र चीन लगायतका मुलुकहरु समेत यसबाट प्रभावित हुँदै थिए । तर, पश्चिमी मुलुकहरुसँगै विश्वभरी महामारीको श्रृङ्खला चलिरहँदा पनि नेपाल र भारतमा भने धार्मिक सोचलाई लिएर एकले अर्काेमाथि आक्रमण गर्ने सिलसिला चलिरहेको थियो ।

जतिबेला एक तिहाई विश्वको जनसंख्या सखाप पार्ने महामारी सुरु भएको थियो । त्यसको केही वर्षमा नै काठमाडौं उपत्यकामा भारतका सम्राट समसुद्दीनले आक्रमण गरेका थिए । यस बेला एक सप्ताहसम्म समसुद्दीनका सैनिकले उपत्यकामा ठूलो लूटपाट र विध्वंस गरेका थिए ।

हाजी समसुद्दीन इलियास शाह बङ्गालका शासक थिए र उनलाई सिमरौनगढमाथि आक्रमण गर्ने दिल्लीका सुल्तान ग्यासुद्दीन तुगलकका छोरा मुहम्मद तुगलकले तिरहुत क्षेत्रबाट कर असुल गर्न नियुक्त गरेका थिए । समसुद्दीनका सेनाहरुले पशुपति मन्दिरको सबै ढुकुटीको पैसा लुटेर लगेका थिए । त्यसैले नेपाली इतिहासमा विश्वको महामारीको बारेमा खासै उल्लेख हुने गरेको पाईँदैन ।

इतिहासमा ब्ल्याक डेथ वा कालो मृत्युको रुपमा चिनिन्छ सन् १३४८ देखि १३५०सम्म चलेको महामारी । विश्वको एक तिहाई जनसंख्याको मृत्युमा जिम्मेवार मानिएको बुबोनिक प्लेग पनि सुरुमा एशियामा सुरु भएर पश्चिम तर्फ फैलिँदै गएको इतिहासमा पाइन्छ ।

कालो मृत्यु विश्वको मानव इतिहासमा सबभन्दा विध्वंसकारी माहामारी रोगहरु मध्येको एक रोग थियो । यसको महामारीबाट विश्वमा साढे ७ देखि २० करोडसम्म मानिस मरेको अनुमान गरिएको छ । यूरोपमा यो रोगको सबभन्दा बढी प्रकोप सन् १३४८ देखि ५० मा भएको थियो । यद्यपि यसको सुरुवात १३४० को दशकको सुरुवातदेखि नै चल्दै आएको देखिन्छ ।

सो महामारीको विषयमा अध्ययन गर्नको लागि २१ औं शताब्दीको सुरुवाती समयमा गठन भएका विभिन्न अध्ययन टोलीहरुले यस विषयमा फरक फरक विचारहरुको विकास गराएका छन् । सन् २०१० र २०११ मा प्रकाशित उत्तर र दक्षिण यूरोपका मृतकहरुको डिएनए अध्ययन गरेर तयार पारिएको विवरण अनुसार यो रोग यार्सिनिया पेस्टिस नामको जिवाणुद्वारा फैलिएको थियो ।

यो महामारी मध्य एसियाको सुख्खा क्षेत्रबाट सुरु भएको अनुमान लगाइएको छ । त्यहाँबाट यो महामारी सिल्क रोड हुँदै सन् १३४६ मा क्रिमिया पुगेको थियो । त्यसपछि एक प्रकारको कालो मुसामा लाग्ने उपियाँको माध्यमबाट पुरै युरोपभरी फैलिएको अनुमान गर्ने गरिन्छ । यो भाइरस सारा युरोपभरी फैलिनको लागि ८ वर्ष लागेको बताइएको छ ।

ती उपियाँहरु सामान ढुवानी गर्ने पानी जहाजमा मार्फत् युरोप प्रवेश गरेका थिए । युरोपका विभिन्न ठाउँको मृत्युदरलाई हेर्दा सो रोगबाट ३० देखि ६० प्रतिशतसम्म मानिसहरुको ज्यान गएको अनुमान गरिन्छ ।

कालो मृत्युको महामारीले यूरोपको इतिहासमा अनेकौं गम्भीर धार्मिक, सामाजिक र आर्थिक क्षेत्रमा समेत उथलपुथल सिर्जना गरेको छ । यूरोपलाई सोही समयको जनसंख्या प्राप्त गर्नको लागि त्यतिबेला १५० वर्ष लागेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

युरोपेली ऐतिहासिक ग्रन्थहरुमा सो घटनाको विषयमा उल्लेख गर्दै भनिएको छ कि ‘महिनौंसम्म सडकमा मरेको लासलाई उठाउने कुनै मान्छे थिएनन् । महिनौंसम्म उनीहरु सडकमा नै लडिरहे ।’

इङ्ल्याण्ड र फ्रान्स जस्ता मुलुकहरु विपत्तिले यति असक्षम भए कि ती देशहरूले यही असक्षमताका कारण युद्ध गर्न सुरु गरे । जब महामारीले आर्थिक अवस्था र जनसंख्यालाई परिवर्तन गर्‍यो, यही कारणले ब्रिटिश सामन्तवादी प्रणाली ढल्यो । ग्रीनल्याण्डमा भव्य जनसंख्याको क्षति भयो । गैर आदिवासीहरुले मूल जनसंख्याको बिरूद्ध युद्ध लड्ने शक्ति गुमायो र उत्तर अमेरिकाको अन्वेषण रोकियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment